२२ कात्तिक - ५ मंसीर २०७२ | 8-21 November 2015

फूलको स्याहार

Share:
  
फूलको सोख गरेर मात्र हुँदैन, मौसम बदली अनुसार स्याहार गरिएन भने कोपिला नलाग्दै बिरुवा मर्न सक्छ।

देबकी बिष्ट/हिमाल आर्काइभ
फूललाई सुन्दरता, स्वच्छता र प्रेमको प्रतीकका रुपमा लिइन्छ। कोही अपवाद हुनसक्छन्, जसलाई फूल मन नपरोस्। तर, फूललाई प्रेम गर्ने सबैले चाहेर पनि फूल रोप्न सक्दैनन्। यसका लागि मन मात्र भएर हुँदैन, स्थान, सीप र लगाव पनि चाहिन्छ।

तर, फूल रोप्ने सौखिनहरुको कुरै वेग्लै हुन्छ। बगैंचा, गमला मात्र होइन, पानीको बोतलमा समेत फूल फुलाएको देखिन्छ। माली नै राखेर घरको बगैंचा स्याहार गरिएको पनि पाइन्छ। तर, फूलको स्याहार गर्न विशेष क्षमता चाहिन्छ। फूल वा बोट–बिरुवाको हेरचाह गर्दा मौसमको पनि ख्याल राख्नुपर्छ।

सामान्यतः बगैंचाको हेरचाह गर्नु भनेको बोट–बिरुवामा पानी हाल्नु, झार केलाउनु, मल हाल्नु, गोडमेल र काट–छाँट गर्नु हो। तर, राजधानीको धुम्बाराहीस्थित एस आर नर्सरीका सञ्चालक रामबहादुर तामाङ (सुनील) मुख्य डाँठलाई असर नपर्ने गरी र बगैंचाको बनोट अनुसार बिरुवाको काट–छाँट गर्नुपर्ने बताउँछन्। “साँझ–बिहान पानी हाल्ने, मल हाल्ने र झ्ाार उखेल्ने गरेमा बिरुवा सप्रन्छ”, उनी भन्छन्।

मौसम अनुसारका फूल

सोल्टीमोड, काठमाडौंकी मनिता मुखिया (३८)को घरमै रंगीचंगी बगैंचा छ। उनले फूलको स्वभाव चिनेकी छन्। तुषारोबाट बचाउन खरानी छर्किने गरेको बताउँदै उनी भन्छिन्, “जाडोमा मल धेरै हाल्नुपर्छ। परेवा वा कुखुराको सुली हालेमा पनि बिरुवा बलियो हुन्छ।”

शिशिर याममा दिन धुम्मिने र तुषारो पर्ने भएकाले कतिपय फूलका बिरुवा जाग्न सक्दैनन्। फूल ढिलो फुल्नुका साथै ठण्डीले जरा कुहिएर बिरुवा नै मासिनसक्छ। “तपाईंको नर्सरीमा त यही फूल मजाले सप्रेको छ, मेरो घरमा किन त्यस्तो भएन भन्दै आउँछन्”, १३ वर्षदेखि व्यावसायिक पुष्प खेती गर्दै आएका सुनील भन्छन्, “हेरचाह गर्न नजानेरै त्यस्तो भएको हो भन्ने बुझ्दैनन्।”

स्वयम्भू गार्डेन सर्भिस एन्ड प्लान्ट नर्सरीका रामजीप्रसाद तिमल्सिना मौसम अनुसारका फूल लगाउन सुझ्ााउँछन्। 'सिजनल' फूलको तस्वीर र नामावलीसहित पात्रो समेत तयार पारेका उनी 'अफ–सिजन' का बिरुवा लगाउँदा स्याहार गर्न गाह्रो पर्ने बताउँछन्। “गर्मीमा सयपत्री, गोदावरी, जिनिया, डालियालगायत फूल रोप्नुपर्छ”, उनी भन्छन्, “जाडोमा पेटुनिया, सिनेररिया, पेन्जी (पुतलीफूल), प्रिमुला, भर्बिना, असर्फीलगायत फूल लगाउनुपर्छ।” तिमल्सिना जाडोका फूललाई धेरै घाम नचाहिने भएकाले धुम्मिएको मौसमले समेत खासै असर गर्दैन।

गर्मीका वेला दिनको दुई पटक पानी हाले पनि जाडोमा एकैपटक पर्याप्त हुन्छ। फूल फक्रिएन वा बिरुवा जागेन भन्दै एकोहोरो पानी हालिरहे बिरुवा मर्न सक्छ। यो वेला १५/२० दिनमा एकपटक मात्र गोडमेल गरे पनि हुने एसआर नर्सरीका सुनील बताउँछन्। “गर्मीमा चाहिं माटो चाँडै सुक्खा हुने भएकाले छिटो–छिटो गोड्नुपर्छ”, उनी भन्छन्। बोट–बिरुवाले पातबाट खाना खाने भएकाले पानीले तुषारो पखालिहाल्नुपर्छ। “नत्र घाम लागे पनि तुषारोका कारण बिरुवा भोकै पर्छ र मर्छ।” सडे–गलेका पात वा हाँगा काटेर मलका रूपमा प्रयोग गर्न सकिन्छ। पाएसम्म कम्पोष्ट मलकै प्रयोगद्वारा जाडोयाममा घरभरि ढकमक्क फूल फुलाउन सकिन्छ।

सजना बराल

comments powered by Disqus

रमझम