भारतीय स्कूललाई नेपाली सहयोग

Share:
  
- दीपक अर्याल
गोरखपुरको महाराणा प्रताप क्षत्रीय स्कूलका लागि तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरसँग सहयोग मागिएको भेटिएको छ।

'भारतीय संस्कृतिमा आधारित शिक्षा पद्धति विकास गर्न' सन् १९१६ (वि.सं. १९७३) मा काशी हिन्दू विश्वविद्यालय स्थापना भयो। यसै वैचारिक धारसँग जोडिएर दिग्विजयनाथको नेतृत्वमा सन् १९३२ तिर गोरखपुरमा महाराणा प्रताप शिक्षा परिषद् स्थापना गरियो। यही परिषद् अन्तर्गत महाराणा प्रताप क्षत्रीय स्कूल प्रारम्भ भयो जुन आज गोरखपुरको प्रतिष्ठित शिक्षालय भएको छ। कुनै पनि संस्था तुरून्तै खडा हुन सक्दैैनन्, त्यसले यथासक्य धेरै सहयोगी हातहरूको अपेक्षा गरेको हुन्छ। यो स्कूलको स्थापनामा सहयोग माग्ने काम पनि भारतीय भूमि र व्यक्तिहरूमा मात्र सीमित रहेन, नेपालका तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेर (वि.सं. १९३२–२००९) सम्म पनि अनुरोध आइपुग्यो।

मदन पुरस्कार पुस्तकालयमा राणा प्रधानमन्त्रीहरूले गरेका काम तथा तिनका विषयमा लेखिएका प्रशस्तै प्रशंसापत्रहरू भेटिन्छन्। माघ, १९९० सालको भूकम्पपछिको उद्धारलाई लिएर (जुद्धशमशेरको) होस् वा रोपवे र बिजुलीका चर्चा गर्दै चन्द्रशमशेरका गुणगान गाइएका कवितात्मक प्रशस्ति, यस्ता प्रशंसाहरू अनेक छन्। कतिपय प्रशस्तिपत्रहरू खास काम वा उद्देश्यका लागि सहयोग माग्न वा सरकारबाट सहयोग पाएपछि त्यसको लागि धन्यवाद दिन र चाकरीका लागि मात्र लेखिएको पाइन्छ। महाराणा प्रताप क्षत्रीय स्कूलका लागि सन् १९३३ मा गोरखपुरको गीता प्रेसबाट हिन्दी भाषामा प्रकाशित अपीलले चाहिं जुद्धशमशेरलाई यस क्षेत्रको एकमात्र स्वतन्त्र राष्ट्र नेपालको कर्णधारका रूपमा बखान गरेको छ, सहयोगको अपेक्षासहित।

यो पर्चा गोरखपुर 'क्षत्रीय बन्धु' तथा 'राणा प्रताप क्षत्रीय स्कूल'का सञ्चालकले जुद्धशमशेरसँग सहयोग माग्दै उनको स्वागतमा गरिएको अभिनन्दनपत्रको रूप हो। यसमा नेपालको तराईमा शाक्य वंशमा जन्मेका 'गौतम' जस्ता 'क्षत्रीय' प्रति हिन्दू जाति र सम्पूर्ण भारतभूमिलाई गर्व छ भनिएको छ। पर्चामा 'हिन्दू–कुल–शिरोभूषण महाराणा प्रताप'को नाम लिंदा नै 'हिन्दू–जातिको नशा–नशामा स्वतन्त्रताको बिजुली दौडने' भाव व्यक्त गर्दै त्यस्ता व्यक्तित्वको वर्तमान वंशका रूपमा जुद्धशमशेरको स्मरण गरिएको छ। अपील गर्नेहरूले आफूहरूसँग महाराणा प्रतापको जस्तो सौर्य बाँकी नरहे पनि उनको स्मृतिमा यस क्षत्रीय स्कूल स्थापना गरिएकोले आफ्नो वंशको कीर्ति अक्षुण्ण राख्न यस संस्थालाई अपनाउन जुद्धशमशेरसँग अनुनय गरेका छन्।

आयोजकहरूले जुद्धशमशेरलाई महाराणा प्रतापको राणावंशको 'वर्तमान स्तम्भ' र राणावंशलाई हिन्दू जातिको 'कर्णधार' भनेका छन्। 'देव', 'दानवीर', 'धर्मवीर' जस्ता विशेषणसहित सम्बोधन पनि गरेका छन्। जङ्गबहादुर राणाको मृत्युपछि उनका एक कामदार रामलालबाट तयार भएको 'नेपालस्थ सूर्यवंशी सिसोदिया राणाकी वंशावली' (सन् १८७९) नामक हिन्दी पुस्तक र नारायणबहादुर मानन्धरको नेपाली अनुवाद 'राणाजीको वंशावली' मार्फत नेपालका राणा वंशलाई महाराणा प्रतापको वंशसँग जोड्ने गरिन्छ।

जुद्धशमशेर कतै घुम्न गएका बेला साना–साना सहयोगहरू गरेका उदाहरणहरू प्रशस्त छन्। १९३३ डिसेम्बर (वि.सं. १९९० मंसीर) तिर गोरखपुरको बाटो हुँदै सुदूरपश्चिम तराईतिर शिकार खेल्न हिंडेका बेला यो अपील गरिएको र जुद्धशमशेरले केही सहयोग गरेको हुनसक्ने अनुमान राणाकालीन इतिहासका ज्ञाता तथा लेखक कमल दीक्षितको छ। दीक्षितका अनुसार, जुद्धशमशेर वि.सं. २००२ (सन् १९४५) मा ७१ वर्षको उमेरमा प्रधानमन्त्री पदत्याग गरी कालीगण्डकी नदी किनारामा रहेको तीर्थस्थल रिडी नजिक पर्ने अर्गेलीस्थित दरबारमा बस्न थालेका थिए। केही समय त्यहाँ बसेर बनारस जाँदा उनले बनारस विश्व विद्यालयलाई रु.१ लाख प्रदान गरेका थिए।

ऊबेलाका यस्ता प्रशस्तिपत्र वा जुद्धशमशेरको सहयोग/असहयोगले अहिले धेरै अर्थ नराख्ला तर यो पर्चालाई परम्परागत रूपमा वर्षौंदेखि नेपाल–भारतबीच चल्दै आएको आपसी सहयोग र सद्भावको सानो नमूनाका रूपमा लिन भने पक्कै सकिएला। यसले नेपाल–भारतबीचको बहुआयामिक सम्बन्ध र सहयोगको परम्परा तथा दुई देशका जनता/शासकमाझ् रहेको सामाजिक, सांस्कृतिक वा धार्मिक सम्बन्ध बुझन र त्यसको समाजशास्त्रीय विवेचना गर्न भने सघाउनेछ।

comments powered by Disqus

रमझम