हामीमध्ये अधिकांश आफ्नो शरीरलाई मोबाइल र मोटरसाइकल जति पनि महत्व दिंदैनौं। रोग लागिसकेपछि पैसा खर्च गर्नुपर्दाको आफ्नो र अरूको अनुभवबाट पनि हामी सिकिरहेका छैनौं। सुगन्ध र गहनाले बाहिरबाट आकर्षक शरीरका पार्टपुर्जा कस्ता छन्? हाडजोर्नीमा 'मोबिल' छ कि छैन? फोक्सोमा प्राण अर्थात् वायु पुगेको छ कि छैन? घर, जग्गा, पैसा छ भनेर सुरक्षित महसूस गर्ने हामी शरीरबारे भने वास्ता गर्दैनौं।
मान्छेको यो स्वभाव विचित्रको छ। सर्वसाधारण मात्र होइन, शिक्षित शिक्षक र स्वास्थ्यकर्मीले समेत शरीरबारे ध्यान नदिएका कैयन् उदाहरण छन्। 'तिमी मेरो मोटोपनलाई नहेर। म जे भन्छु त्यो गर। मैले जे गर्छु, त्यो होइन', कतिपय मुटु रोग विशेषज्ञले यसो भन्ने गरेको पनि सुनिएको छ।
टेबुलमा बसेर काम गर्नेहरूमा ढाड दुख्ने समस्या आम बनेको छ। बुद्धिको काम गर्नेहरू बलको काम गर्नेभन्दा अस्वस्थ किन छन्? समस्याको चुरो नै यही हो। जबसम्म शरीरले 'ऐ174या' भन्दैन, हामी शरीरलाई बोझ्ा थपिरहेकै हुन्छौं। तिहारमा अनेक थरीका मिठाईको खपत हुन्छ। तर, हामी ती मिठाईमा प्रयोग गरिएको तेल, रंगमा विचार पुर्याउँदैनौं। मिठाईले पेटभित्र कति बिगार गर्छ भनी सोच्दै सोच्दैनौं। मोबाइल किन्दा उच्चस्तरको खोज्ने अनि पर्वका खानेकुरा चाहिं जस्तो भए पनि हुने?
औषधिको क्रममा हुने आर्थिक क्षति त छँदैछ, आफूलाई पर्ने दुःख र परिवारका सदस्यलाई हुने तनावलाई पैसामा तुलना गर्न सकिन्न। एकछिनको जिब्रोको स्वाद रोक्न नसक्दा पछिसम्म शरीरमा पर्ने समस्या हेर्दा पर्वमा मासुको मोह कम गर्दै लैजानुपर्ने देखिन्छ।
शरीर प्रकृतिको अमूल्य उपहार हो। तर, व्यवहार भने हामी जीवनप्रति माया नै नभएजस्तो गर्छौ। शरीरप्रतिको प्रेम नै पूजा हो। तर, यो संस्कारमा मात्र होइन, व्यवहारका रूपमा लागू गर्न सके म्हःपूजाको गरिमा बढ्नेथियो।