२२ कात्तिक - ५ मंसीर २०७२ | 8-21 November 2015

नेपालमा बेकह्याम

Share:
  

तस्वीरहरुः गोपेन राई

इङ्गल्याण्ड राष्ट्रिय फूटबल टीमका पूर्व कप्तान डेबिड बेकह्यामले २० कात्तिकमा श्रीपद्म उच्च मावि, भक्तपुरका विद्यार्थीसँग भक्तपुर दरबारस्क्वायरमा करीब १० मिनेट फूटबल खेले।

उनले एशियाको नेपालसँगै ६ महादेशका पपुवान्यूगिनी, जिबोटी, अर्जेन्टिना, अमेरिका, अन्टार्टिका र बेलायतमा समेत फूटबल खेल्नेछन्।

बीबीसीको संयोजनमा युनिसेफका दूत बेकह्याम च्यारिटीका लागि नेपाल आएका हुन्। उनको टीमले भूकम्पपीडित भक्तपुरको सो विद्यालय छानेको हो।


शहरभरि फोटो

यो वेला ललितपुरको पाटन पुग्नुभयो भने तस्वीरहरुले तपाईंको स्वागत गर्नेछन्। १७–२३ कात्तिकमा फोटो सर्कल आयोजित 'फोटो काठमाडौं' उत्सवले पाटन तस्वीरमय बनेको छ। सम्पदाको यो शहरमा साताव्यापी तस्वीर उत्सवले चोक, गल्ली, क्याफे, रेस्टुरेन्ट, मन्दिरहरुको रौनक बढाएको छ।

पाटनढोकाबाट शुरु तस्वीर प्रदर्शनी पिमबहाल, द्यौगल, धाख्वा हाउस, नागबहाल, स्वथ, मंगाहिटी, आदर्शकन्या निकेतन स्कूल, ट्वीलाको टोल, केशवनारायण चोक, पाटन दरबारस्क्वायरहुँदै दक्षिणमा चकबहाल र सुन्धारा अनि उत्तरमा च्यासल पुगेर टुंगिन्छ। फोटोको स्लाइड शो र फोटोग्राफी सम्बन्धीको कार्यशाला समेत समेटिएको उत्सवमा नेपालका लागि नौलो सुरुआत मानिएको छ।

शिक्षा फाउन्डेशन नेपालसँगको सहकार्यमा आयोजित उत्सव सहभागी र प्रोत्साहनका दृष्टिले ऐतिहासिक भएको फोटो सर्कलकी नयनतारा गुरुङ कक्षपतिले बताइन्।


ज्याज गुञ्जन

१८–२४ कात्तिकमा राजधानीमा 'सूर्य नेपाल काठमाडौं ज्याज महोत्सव (ज्याजमान्डू)' हुँदैछ। विभिन्न देशका ज्याज विधाका संगीतकर्मीले सहभागिता जनाउने यो महोत्सवमा ज्याज प्रस्तुतिसँगै गायन प्रतियोगिता, कार्यशाला र निःशुल्क स्वास्थ्य शिविर पनि आयोजना गरिने छन्।

महोत्सवमा यो वर्ष इजरायलको 'काटामोन चेरी', ग्रीसको 'बान्डा माग्दा', अमेरिकाको 'लेनी स्टेम', क्युबाको 'उते रामोस उर्फ ला डेम ब्लान्च', नेपालको 'कडेन्जा कलेक्टिभ', 'रविनलाल श्रेष्ठ डुओ' र 'गन्धर्व' सहित १० वटा सांगीतिक समूहले भाग लिएका छन्। महोत्सव ललितपुर झम्सिखेलस्थित काठमाडौं ज्याज कन्जरभेटरी, लाजिम्पाटको ग्रुभिन एट अपस्टेयर्स क्याफे, ठमेलको हाउस अफ म्युजिक र दरबारमार्गको होटल याक एन्ड यतीमा हुनेछन्।

'एकता, शान्ति र सद्भाव/संवेदना' नारा सहित अपस्टेयर्स आइडियाले सन् २००२ देखि ज्याजमाण्डू आयोजना गर्न थालेको हो। कार्यक्रम अन्तर्गत 'ज्याज फर नेक्स जेनेरेशन म्युजिक कम्पिटिसन', 'कन्सर्ट फर स्कूल चिल्डे्रन', 'ज्याजमान्डू भोकल एन्ड रिदम वर्कसप', 'भ्याली ज्याम' कार्यक्रम पनि समावेश छ।

comments powered by Disqus

रमझम