२२ कात्तिक - ५ मंसीर २०७२ | 8-21 November 2015

प्रकृति पछ्याउँदै प्रकृतिलाई

Share:
  
क्यानभासमा उतार्दै आएका मेक्सिकन जर्ज पालासियस नेपालका रंगीन चराचुरुङ्गीमा थप रंग भर्न चाहन्छन्।

१२ वर्षअघि नेपाल घुम्न आएका मेक्सिकोका जर्ज पालासियस (४२) यहाँको प्राकृतिक सौन्दर्य देखेर रोमाञ्चित बने। त्यो वेला पर्यटकको भेषमा आएका उनले मनैमन बाचा गरे, अर्को पटक नेपाल आउँदा चित्रकारको रुपमा आउनेछु।

११–१५ कात्तिकसम्म काठमाडौंको ठमेलस्थित मिथिला यें आर्ट ग्यालरीमा चलेको एकल चित्रकला प्रदर्शनी उनै जर्जको प्रतिभाको प्रमाण थियो। 'कलर्स अफ मेक्सिको' नामक प्रदर्शनीमा २१ वटा चित्र थिए। चराचुरुङ्गी, फूल र वनस्पतिका चित्रहरू बनाएका उनले आफूलाई प्रकृतिको हरियो रङसँग विशेष लगाव भएको बताउँछन्। उनी भन्छन्, “प्रकृतिका चित्रले आनन्द महसूस गराउँछ।”

१७ वर्षको उमेरदेखि रङ खेलाउन थालेका जर्जले इण्डष्ट्रियल इन्जिनियरिङमा स्नातक गरेपछि मेक्सिकोको प्रख्यात इन्ष्टिच्युट अफ काबानाज र इटालीको एकेडेमी अफ आर्टमा अध्ययन गरे। सन् १९८७ देखि एकल प्रदर्शनी थालेका उनले २००६ मा 'लस्ट इन थाइल्यान्ड' शीर्षकको चित्र बनाएपछि प्रकृति र चराचुरुङ्गीलाई मुख्य विषयवस्तुका रूपमा रोजेको प्रष्ट्याउँछन्।

“त्यसपछि म थरीथरीका फूल, चरा र वनस्पतिको खोजीमा विभिन्न देश घुम्न थालें”, हालसम्म ६३ भन्दा बढी चित्रकला प्रदर्शनी गरिसकेका जर्ज भन्छन्, “पाँचै वटा महादेशमा पुगिसकेको छु।” ब्राजिलको वर्षा–वन (रेन–फरेस्ट), क्यानडाको लिली फूल, कोस्टारिकाका चरा र नेपालको चाहिं भू–बनोटले उनलाई सधैं लोभ्याउँछ। “नेपालका चराहरू रंगीन लागे, अर्को पटक आउँदा तिनलाई चित्रमा उतार्छु”, उनको अर्को योजना छ।

जर्जका चित्र तस्वीर जस्ता देखिन्छन्। “चित्र कोर्दा समग्रतामा ध्यान दिन्छु”, उनी भन्छन्, “त्यसैले मेरा चित्र स्पष्ट र सफा हुन्छन्।”

सजना बराल

comments powered by Disqus

रमझम