पहलमान शहीद

Share:
  
- पुरुषोत्तमशमशेर राणा
२००७ र शहीदको प्रसङ्ग आउँदा मेरो मस्तिष्कमा धर्मभक्त माथेमाको पहिलो झल्को आउँछ।

सौजन्यः पुरुषोत्तमशमशेर राणा
श्री ३ वीरशमशेरले वि.सं. १९५३ तिर भागवत माथेमालाई काजी र उनका छोरा आदिभक्तलाई सुब्बा पद दिएका थिए। १९५८ मा वीरशमशेरको मृत्यु र त्यसको चार महीनामा देवशमशेरलाई धपाएपछि चन्द्रशमशेर श्री ३ भए। उनी वीरशमशेरका विश्वासपात्रहरूप्रति निकै असहिष्णु थिए। यही कारण नेपाल छाडेका आदिभक्त कलकत्तामा पछि ठूलो महाजन हुनपुगे। उनैका सुपुत्र थिए, अमर शहीद धर्मभक्त।

धर्मभक्तलाई मेरा जिजुबुबा रुद्रशमशेर (२०१० सालमा नेपालका प्रथम फिल्ड मार्सल बनाइएका वीरशमशेरका काइँला छोरा) ले कलकत्ताबाट ल्याएर चारबुर्जा दरबार (अहिलेको निर्वाचन आयोग) छेवैको बङ्गलामा राख्नुभएको थियो। खै कसरी हो, दशरथ चन्द पनि त्यहीं बस्न थालेका थिए। मेरा बुबा ईश्वरशमशेर राजनीतिमै चाख राख्ने हुनाले धर्मभक्तसँग बढी हेलमेल हुन्थ्यो, व्यायाम–कुस्ती जस्ता ज्यान बनाउने खेलका सौखिन काकाहरू गोपाल, श्याम र धैर्यशमशेर जस्तै। वि.सं. १९८९ को कुरा हो, म आठ वर्षको थिएँ। ढल्के टोपी र छड्के टीका लगाएर ठाँटले हिंड्ने धर्मभक्तप्रति म निकै आकर्षित थिएँ। धर्मभक्त र दशरथ चन्द चारबुर्जा दरबारमा आइरहन्थे, अझ् भनौं राजनीतिक कारणहरूले उनीहरू आइरहन चाहन्थे।

धर्मभक्तलाई देख्नासाथ म उनको मसलदार पाखुरामा झुण्डिन, खेल्न गइहाल्थें। एक अपरान्ह कताबाट हो, असिन–पसिन अवस्थामा प्रकट भएका धर्मभक्तले म बालकसँग भोक लागेको बताए। म दौडेर अण्डारनी (उनलाई हामी गुनी आमा भन्थ्यौं) सामु गई धर्मभक्त पहलमानलाई भोक लाग्यो, खाजा पाउँ्क भनें। उनले हाँस्दै ठूलो टपरामा चिउरा, चिनी र त्यसमाथि दुई डाडु घिउ राखेर दिइन्। त्यो लगेर मैले धर्मभक्तलाई दिएँ, उनले कपाकप खाँदा म दंगदास भएँ। भेटेको बेला लाखामारी, गोजामारी खुवाउने हुनाले मलाई दशरथ चन्द पनि निको लाग्थे। हाम्री फुपू जुलिया (कैलो केश भएकोले कैली फुपू भन्थ्यौं) सँग चन्दको चिठी चल्दो रहेछ। उनीहरूले लाखामारी, गोजामारी खुवाई–खुवाई मेरी बहिनी मिनाक्षीलाई हुलाकी बनाएको धेरैपछि थाहा भयो।

१९९० सालमा जुद्धशमशेरले हामीलाई पाल्पा धपाएर चारबुर्जा दरबार आफ्ना छोरा बहादुरशमशेरको बनाएपछि धर्मभक्त र दशरथ चन्द, बहादुरका छोरा नरशमशेरको चाकडीमा लागे। कुनै न कुनै राणाको चाकडी नगरी टिक्न नसक्ने समय थियो, त्यो। राजनीतिक उद्देश्य बोकेर काठमाडौं आएका धर्मभक्त युवराज महेन्द्रको व्यायाम शिक्षक बन्ने बहानामा नरशमशेरकै माध्यमबाट दरबार पुगेर प्रजापरिषद् र त्रिभुवनबीचको पुल बनेका थिए।

सौजन्यः केदारभक्त माथेमा
१९९६ मा हाम्रो पाल्पा दरबारलाई एउटा बेनामे चिठीले भित्रभित्रै हल्लायो। त्यसमा 'धर्मभक्त, दशरथ चन्द, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ लगायतका व्यक्तिलाई जुद्धले समातेर झुण्ड्याउन लागे, सक्छौ भने केही गर' भन्ने बेहोरा थियो। तर, त्यो चिठी श्री ३ ले लेखाएको हुनसक्ने भएकाले जिजुबुबाले 'यस्तो चिठी आयो, तर मलाई यसबारे केही जानकारी भएन' भनेर जुद्धशमशेरलाई लेख्नुभयो। त्यसको केही महीनामै धर्मभक्त र गंगालाललाई झुण्ड्याएको अनि दशरथ चन्द र शुक्रराजलाई गोली दागेर मारेको समाचार आयो। हामी धेरै दुःखी भयौं, गर्न सकिने केही थिएन।

त्यो बेलासम्म हाम्रो पूरा परिवार हुकुमी शासन विरुद्ध लागिसकेको थियो। जिजुबुबाले भारतमा अंग्रेज रहेसम्म नेपालबाट राणा शासन जाँदैन, खुला हुन हतार नगर भनेर रोकिराख्नुभएको थियो। भित्रभित्रै मान्छे भड्काउने काम भने गरिरहेका थियौं। मोहनशमशेर श्री ३ भएपछि 'काल्दाइ, भतिजहरूले रैतीलाई पनि तपाईं भन्छन् रे, उनीहरूलाई काठमाडौं पठाइदिनुपर्‍यो, केही कुरा सम्झाउनुछ' भन्दै जिजुबुबालाई तारन्तार फोन गरेर दबाब दिन थालेका थिए।

मोहनशमशेरले २००६ पुसमा हामीलाई पाल्पा दरबारमै समात्न सेना खटाएको थाहा पाएपछि बुबाहरूले 'महाराज, आईमाई केटाकेटीका साथ दर्शनका लागि आउँदैछौं, भीमफेदीसम्म तामदान, उलिनकाठ र घोडाहरू पठाइबक्स्योस्' भनेर चिठी लेख्नुभयो अनि जिजुबुबा बाहेक हामी सबै रातारात लखनऊ पुग्यौं। त्यहाँबाट बुबाले अर्को चिठी लेख्नुभयो– “महाराज, हामी हजुरको दर्शनमा अवश्य आउँछौं, तर प्रजातन्त्र आएपछि मात्र।”

comments powered by Disqus

रमझम