आशलाग्दो फड्को

Share:
  
फिल्म पढेका र रंगमञ्चमा खारिएका निर्देशक/कलाकारहरुको आगमनसँगै नेपाली सिनेमाले अपेक्षित गति समातेको छ।
r1
भिसा गर्ल। 

'चार डान्स चार फाइट, लाग्दैन कसैको कपिराइट' फर्मूलाले हैरानै पार्‍यो, नेपाली चलचित्र उद्योगलाई। 'सी' ग्रेडका हिन्दी फिल्मका घिसिपिटी 'फर्मूला'मा बनिरहेका फिल्मका किताब वाचन गरेजस्तो लाग्ने सम्वाद र असाध्य कृत्रिम अभिनयले दर्शकलाई आजित बनाएको समयमा बेरोजगार युवकहरूको कथामा बनेको लूट ले नेपाली सिनेमा हेर्न छाडेकाहरूलाई समेत हलमा फर्कायो। यसरी चलचित्र बजार तरङ्गित भइरहँदा 'नेपाल बन्द'को कथामा बनेको हाइवे बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा छानियो। रु.३० लाखमा बनेको लूट ले करीब रु.५ करोडको व्यापार गर्नु र 'फाइभ डी' क्यामराले खिचेको हाइवे ले ओस्कारपछिको मञ्चमा प्रिमियर शोको अवसर पाउनु चानचुने कुरा थिएन। 

अवस्था कस्तो भने, २०६८ मा प्रदर्शनमा आएका ८६ फिल्ममध्ये लूट पछि चपली हाइट अनि त्यसपछि पल, दशगजा, मसान र अन्दाज ले केही राम्रो व्यापार गरे भने बाँकी सबैको लगानी भुस भयो। यसबाट प्रमाणित भएको छ, खुराक र नेपालीपन भएका नेपाली फिल्मका लागि दर्शकको कुनै कमी छैन, उनीहरू टाढिएका फर्मूला उत्पादनबाट मात्रै हो। 

परिवर्तनका संवाहक 
लहड र नक्कलको भरमा विना मिहिनेत फिल्म बनाउनेहरू बढारिने सम्भावना देखाएको छ, नेपाली चलचित्र क्षेत्रमा नयाँ पानाका फिल्मकर्मीको आगमनले। लहडीहरूले यो सिर्जनशील समूहसँग सिने बजारमा टिक्न अब कि मिहिनेत गर्नुपर्छ कि पलायन हुनुपर्छ। विधागत सोचका साथ नेपाली सिनेमा बनाउने कामको थालनी नवीन सुब्बा (नुमाफुङ), छिरिङ रितार (मकुण्डो) लगायतबाट भएको हो, जुन धारले अहिले आएर परिणाममुखी गति लिएको छ। 

नयाँ लहरमा दीपक रौनियार जस्ता पुरस्कृत वृत्तचित्र निर्देशक र अनुप बराल, दयाहाङ राई, सौगात मल्ल, कर्मा, राजन खतिवडा, सरिता गिरी जस्ता रङ्गकर्मीहरू फिल्ममा जम्न थालेका छन्। डा. समिरमणि दीक्षित, लोनिम दीक्षित जस्ता अन्य क्षेत्रका व्यक्ति र चौधरी ग्रुप जस्तो औद्योगिक घराना पनि फिल्मका लगानीकर्ता भएका छन्। प्रचण्डमान श्रेष्ठ निर्देशित भिसा गर्ल मा ६० प्रतिशत लगानी गरेको चौधरी ग्रुपको सीजी इन्टरटेन्मेन्टका कार्यकारी निर्देशक राजेन्द्र शलभ कर्पोरेट हाउसहरू आउँदा नेपाली फिल्ममा लगानीको खाँचो नहुने बताउँछन्। “तर, कर्पोरेट लगानीका लागि फिल्म चल्नुपर्‍यो”, सलभ भन्छन्, “फिल्म चल्न त्यो राम्रो हुनुपर्‍यो।” 

r2
गुडबाई काठमाण्डू। 

पछिल्लो समयमा नेपाली फिल्मले लिएको 'ट्रेण्ड' हेर्दा सलभले भने जस्तो वातावरण बनेको भन्न सकिन्छ। यो क्षेत्रमा केही अर्थपूर्ण काम गरौं भन्ने भावनाका एकसेएक युवा फिल्मकर्मीहरू आएका मात्र छैनन्, प्रविधिको उपयोगसँगै दर्शकमा पनि नयाँ 'टेष्ट'को विकास भएको छ। वरिष्ठ चलचित्रकर्मी नीर शाह पछिल्लो समयमा प्रदर्शनमा आएका र बन्दै गरेका चलचित्रहरूले नेपाली सिने उद्योग अग्रगमनतिर लागेको दह्रो संकेतहरू दिएको बताउँछन्। उनको विचारमा, चलचित्रको कथा भन्ने शैली र प्रस्तुतिमा पृथक् प्रयोग भइरहेको छ। निर्देशक नवीन सुब्बाको बुझ्ाइमा, यो बेला दर्शकको रुचि परिवर्तनले सबभन्दा महत्वपूर्ण काम गरिरहेको छ। “हरेक १० वर्षमा समाजका सबै क्षेत्रमा नयाँ पुस्ता आउने नियम फिल्म क्षेत्रमा गजबले लागू भएको देखिन्छ”, सुब्बा भन्छन्। 

अहिले आचार्य, हाइवे, गुडबाई काठमाण्डू, छड्के, सुनगाभा, कथा, बधशाला, अपवाद लगायत नेपाली समाजको यथार्थसँग तादात्म्य राख्ने चलचित्रहरू धमाधम बनिरहेका छन्। हाइवे र गुडबाई काठमाण्डू ले पनि लूट ले जस्तै व्यावसायिक सफलता पायो भने नेपाली दर्शकको 'टेष्ट' परिवर्तन भएको पक्का हुन्छ। दर्शकको 'टेष्ट' परिवर्तनले नेपाली फिल्म उद्योगमा कायापलटलाई सुनिश्चित बनाउँछ। हाइवे ले दर्शकलाई बन्द–चक्काजामको आफ्नै भोगाइ देखाउँछ भने गुडबाई काठमाण्डू ले बढ्दो राजनीतिक संक्रमणकाल र दिशाहीनताले शहरी युवामा पारेको असरलाई खुबीका साथ उतारेको छ। चलचित्र समीक्षक तथा निर्देशक मनोज पण्डित अलग धारका निर्देशकहरूले कमसल खालका मसालेदारको साटो मनोवैज्ञानिक, सामाजिक र राजनीतिक विषयका चलचित्रमा जोड दिएकोले फिल्महरूमा नेपाली समाज झ्ल्कन थालेको बताउँछन्। 
नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई फरक धारका नयाँ चलचित्रकर्मीहरूले सुतेको चलचित्र क्षेत्रलाई ब्यूँझ्ाएको ठान्छन्। खासमा, नेपाली फिल्म बजारलाई नराम्रा चलचित्रले नै सुकाएको हो। यस हिसाबले रौनियार, सिमोश सुनुवार, निश्चल बस्नेत, दीपेन्द्र खनाल, सुदर्शन थापा, सुवर्ण थापा, निगम श्रेष्ठ, आलोक नेम्वाङ, प्रशन्न पौडेल, प्रचण्डमान श्रेष्ठ, मनोज पण्डित लगायतका कल्पनाशील निर्देशकहरूको समर्पणले नेपाली फिल्म उद्योगको उद्धार हुने आशा गर्न सकिन्छ। यो किन पनि भने, यी निर्देशकहरू नेपाली समाजभित्रको विभिन्न पाटा र यथार्थहरूलाई आ–आफ्नै शैलीबाट देखाउन समर्पित छन्, जो अरूको भन्दा भिन्न र विशिष्ट होस्। 

r3
हाइवे। 

यस्तो सोचका साथ बनेका मैना, अल्पविराम, मुकुण्डो, कर्मा, बोक्सी, मुनामदन, सानो संसार, कागवेनी जस्ता फिल्महरू व्यावसायिक रूपमा धेरै सफल नभए पनि प्रवृत्ति परिवर्तनको सम्वाहक बने। घरखेत डुब्ने जोखिम मोलेर यस्ता चलचित्र बनाउनेहरूले पैसा त कमाउन सकेनन्, तर सिनेमा बुझ्ेकाहरूबाट स्याबासी पाए, दर्शकको 'टेस्ट' परिवर्तनमा सहायक बने। बोक्सी का निर्देशक गोपालचन्द्र लामिछाने भन्छन्, “अब चाहिं लगानी उठाउने मात्र हैन, राम्रै कमाइहुने अवस्था सिर्जना भएको छ।” 

तोड्दै परम्परा 
नायक–नायिकाको प्रेममा परिवारको अवरोध, खलनायकको प्रवेश, हिरोको उडन्ते बहादुरी अनि नायक–नायिकाको मिलन वा विछोड। त्यस बीचमा चार गीत र चार लडाईं मूलधारका नेपाली चलचित्रको इतिवृत्ति हो। हिन्दी चलचित्रका कथा हुबहु उतारिएका यस्ता फिल्ममध्ये कतिपयले त नाम समेत चोर्न भ्याएका हुन्छन्। नेपाली चलचित्रमा जरा गाडेको यो निर्लज्ज प्रवृत्तिलाई नयाँ फिल्ममेकरहरूको प्रवेशले लगभग बढारिदिएको छ। निर्देशक सुब्बा पुरानो ढाँचामा काम गरिरहेकाहरू पनि 'मेकिङ' पक्षमा सोच्न बाध्य भएको बताउँछन्। 

यसरी फिल्मको प्रस्तुति परम्परामा मात्र तोडिएको छैन, पछिल्लो समयमा बजारको सीमा पनि विस्तार भएको छ। मूलधारका घिसिपिटी या छाडा फिल्महरूले स्वदेशका हल देख्न पाउन छाडेकामा पछिल्ला चलचित्रहरू अन्तर्राष्ट्रिय प्रेक्षागृहसम्म विस्तार भएका छन्। लूट करीब डेढ दर्जन देशमा नेपालमा जति नै चल्यो। वरिष्ठ चलचित्रकर्मी नीर शाहको भनाइमा, पछिल्लो समयमा आएका 'पोर्नोग्राफी' शैलीलाई बिर्सने हो भने नेपाली चलचित्र फड्को मार्ने तयारीमा छ। 

'पोर्नोग्राफी'को समस्या खास गरेर 'रियल कुरालाई रियल ढंगले देखाएर' रातारात चर्चित र मालामाल हुन चाहने निर्देशकहरूमा छ। “ती निर्देशकहरू अझै 'ग्ल्यामर' र 'भल्गर' बीचको अन्तर छुट्याउन नसक्ने अवस्थामा छन्” सीजी इन्टरटेन्मेन्टका शलभ भन्छन्। यसको अर्थ, नेपाली फिल्मको एउटा पाटोमा नग्नता र हिंसा देखाउने होडवाजी पनि चल्ने नै छ। यसलाई वर्गीकरणको माध्यमबाट पनि निराकरण गर्न सकिन्छ, जसबाट समग्र नेपाली चलचित्र क्षेत्रलाई अलग पारेर अगाडि बढाउन सकियोस्। 

बिक्न छाड्यो अनुहार 

r5
लूट। 

नेपाली फिल्म बजारमा लामो समय विषयवस्तु र अभिनय भन्दा हिरो–हिरोइनको अनुहार चलाइयो, अनुहारको दाम नै तोकियो। नेपालमा फिल्म चलाउन राजेश हमाल र विराज भट्टको फाइट या रेखा थापाको 'ग्ल्यामर' नभई हुन्न भनियो। कतिसम्म भने, वितरकहरू फलानो हिरो वा हिरोइन नराखे फिल्म नलिने भनेर निर्माता/निर्देशकहरूलाई दबाब दिन्थे। यो कुरा स्वीकार्ने सुनिल मानन्धर अहिले भने फिल्मको 'कन्टेन्ट' हेर्न थालिएको बताउँछन्। उपत्यकाका सबभन्दा ठूलो चलचित्र वितरकमा पर्ने मानन्धर भन्छन्, “नेपाली दर्शकलाई अब स्टार हैन, राम्रो फिल्म चाहिने भएको छ।” 

नभन्दै, अहिले राजेश हमाल वा विराज भट्ट हैन, सौगात मल्ल, दयाहाङ राई वा कर्माहरू चर्चित छन्। फरक के भने, हमाल र भट्टहरू स्टार हिरो कहलाउँथे पछिल्लाहरू अभिनयमा अब्बल कलाकार। मायाज बार मा कसैले नचिनेका तर, राम्रो अभिनय क्षमता भएका गजित विष्टलाई हिरो बनाएका दिनेश डिसी अब नेपाली सिनेमामा निर्देशकको व्यावसायिक कुशलता र कलाकारको अभिनयले स्टार जन्माउने समय आएको बताउँछन्।

comments powered by Disqus

रमझम