वीपीलाई कोदाको रोटी

Share:
  
- सुरेन्द्र सिटौला
नेता जित्ने र जनता हार्ने स्थिति रहेसम्म देशले काँचुली फेर्न सक्दैन।

२०३४ सालमा कीर्तिपुरमा एमएस्सी पढ्दा राष्ट्रिय विकास सेवा (राविसे) कार्यक्रम अन्तर्गत एक वर्षका लागि हुम्लाको गोठी गाविसको सर्केघाटमा गएर बस्ने मौका मिल्यो। सदरमुकाम सिमकोटबाट दुई दिन टाढाको त्यो ठाउँको हिमचक्र माध्यमिक विद्यालयमा त्यसबेला १ देखि १० कक्षासम्म करीब ९० विद्यार्थी थिए। त्यहाँ पढाउन थालेको तीन महीनापछि साया गाउँका जङ्गबहादुर शाही (जंगे शाही) ले बेलुकीको खाना खाने निम्तो गरे। करीब ३५ मिनेट उकालो हिंडेर हामी उनको घर पुग्यौं। हिउँदको समय, खानापछि भित्रपट्टिको अलि न्यानो कोठामा बसेर काठमाडौंको रहन–सहन, राजनीति लगायतका विषयमा कुराकानी हुँदा जङ्गेले भने, “राविसे साहेब, एउटा कुरा सोध्छु नढाँटिकन भन्नुहुन्छ?”

“तपाईंलाई म किन ढाँटौंला त?” “रिसानी माफ होला, हाम्रो मष्ट देउता (खस जातिका कुल देवता) छोएर भन्नुपर्छ।”

“तपाईं जे भन्नुहुन्छ, गर्न तयार छौं।”
त्यसपछि उनले देवताको थानबाट तामाको कप जस्तो भाँडो ल्याएर दाहिने हातले छुन लगाए।

“हामीबीचको कुरा अरूको कानमा नपरोस्।”
“तपाईं–हाम्रो बीचमा मात्र रहनेछ।”

“कोइराला थरको एउटा मान्ठ (मान्छे) छ रे, त्यसले राजालाई भउती (धेरै) दुःख दिन्छ रे”, लगभग साउतीको स्वरमा जंगेले सोधे, “कुरो के हो?”
“तपाईंलाई यो कुरा कसले भन्यो?”

“माननीय, सिडिओ, हवल्दार साहेब सबैले यसै भन्छन्। कोइराला त अत (अराष्ट्रिय तत्व) नै भएको हाम्रा प्रधान साहेब (प्रधानपञ्च) ले अस्ति पुस १ गतेको सभामै भने।”

“तपाईं आफैंलाई चाहिं कोइराला कस्तो हो जस्तो लाग्छ?”

“धेरै पहिले कोइराला नेपालमा आउँदा निकै हल्लीखल्ली भएको थियो। चुनाव पनि भयो। ठूला–ठालु नरम भएका थिए। पछि कोइराला कता हराए, साहू महाजनले फेरि पहिले जस्तै दुःख दिन थाले। मेरो भित्री मनले चाहिं उनलाई नराम्रो मान्दैन।”

त्यसपछि मैले जंगेले सुनेका 'अत' अर्थात् वीपी कोइरालाले राणा शासन विरुद्ध २००७ सालमा गरेको क्रान्ति, २०१५ को आम निर्वाचनमा वीपीले नेतृत्व गरेको कांग्रेसको विजय, त्यसपछि उनको प्रधानमन्त्रीत्वकालका सुधारमूलक कार्यक्रम, २०१७ मा राजा महेन्द्रले गरेको जननिर्वाचित सरकारको तख्तापलट र निर्दलीय पञ्चायती व्यवस्थाको सिलसिलेवार कथा सुनाएँ।

त्यसपछि जंगेले भनेका थिए, “जे भए पनि राजाले पत्याइकन पठाएका राविसेका मान्ठहरू साँचो बोल्दा रहेछन्।”

सेवा सकेर २०३५ असार २ गते बिहान हामी (देवेन्द्र देवकोटा र म) काठमाडौं फर्कन तयार हुँदै गर्दा जंगे टुप्लुक्क आइपुगे। उनको हातमा भोजपत्रले बेरिएको एउटा सानो पोको थियो।

“त्यो कोइराला साँचो मान्ठ हो, म गरीब अर्थोक केही दिन सक्दिनँ। कोदाका यी दुइटा रोटी नै मेरो सौगात हुन्। उनको हातैमा दिनुहोला।”

यौटा गरीबले आफ्नो नेतालाई पठाउन सक्नेमध्येको त्यो अनुपम उपहार झोलामा राखेर हामी सिमकोटतिर हिंड्यौं, जहाजबाट काठमाडौं फर्कन। तर, ११ दिन पर्खंदा पनि खराब मौसमका कारण जहाज नआएपछि ६ दिन पैदल हिंडेर रारा हुँदै जुम्ला पुग्दा उपहार गन्हाउन थाल्यो। मैले त्यसलाई बडो अपसोचका साथ तिला नदीमा बगाइदिएँ, भोजपत्र चाहिं धोइपखाली काठमाडौं ल्याएँ। कात्तिकको एक बिहान ९ बजे जयवागेश्वरीस्थित वीपी निवास पुगेर आफ्नो परिचय दिएपछि जंगेले पठाएको उपहारको बेलिबिस्तारसहित भोजपत्र उहाँको हातैमा राखिदिएँ।

केहीबेर भोजपत्र नियालेपछि उहाँले भन्नुभयो, “मेरो जीवनको कमाइ नै यही हो। नेपाली कांग्रेस जनताको आत्मामा सधैं मसाल बनेर बलिरहनेछ।”

जनताको आस्था जित्नु भनेको राजनीतिमा सफल हुनु हो। दुर्गम गाउँको एउटा गरीब जंगेले कहिल्यै नभेटेको र नदेखेको नेतालाई पठाएको जस्तो आस्थाको उपहारबाट पाइने आनन्द र प्रतिष्ठा बन्दूकको सहाराबाट प्राप्त सत्ताको कुर्सीले दिन सक्दैन। झुट र बन्दूकबाट संचालित सत्ताबाट देशले काँचुली फेर्ने पनि होइन। आज नेपालमा बन्दूके नेताहरूले जितेर जनता हारेको स्थिति हुनु चाहिं बिडम्बनाको विषय भएको छ।

comments powered by Disqus

रमझम