हराएको सगरमाथा बिलाएको पाताले छाँगो

Share:
  
- डा. तीर्थबहादुर श्रेष्ठ
“नयाँ तोरण गाड्दा जतिसुकै कष्ट परोस् नेपाली हौसला हटेन नक्कली मयूरको प्वाँख उखेल्न कोही पछि परेन” – मोहन कोइराला

सगरमाथा चुचुरोमा तेञ्जिङ ।

सगरमाथाको चुचुरोमा चन्द्र–सूर्य अङ्कित तोरण गाड्दाखेरि प्रस्फुटन भएको तेञ्जिङको हौसलालाई सर एडमण्ड हिलारीको क्यामेराले विश्वभर फहराइदिएको कथा, त्यसभित्र लुकेका व्यथा र कष्टहरूलाई सगरमाथा स्वर्ण जयन्तीले पुनः जागृत गराइदियो । यसै सिलसिलामा तेञ्जिङको जन्मभूमि, उनको कर्मभूमि, राष्ट्रियता र नागरिकताका बारेमा पनि केही चर्चाहरू भए । जे भनिए पनि, जे लेखिए पनि तेञ्जिङ हिमालकै छोरा हुन्, सगरमाथाकै पुत्र हुन् र झेमोलुङ्माकै “भू” हुन् भन्ने कुरो चाहिँ जगजाहेर यथार्थ हो । यसैगरी सगरमाथा सिङ्गै अटाउने विशाल हृदय भएका मानार्थ नेपाली नागरिक सर एडमण्ड हिलारी नै हुन् भन्ने कुरामा पनि विवाद छैन । तर, विश्वको सर्वोच्च शिखरको स्थान–नाम जनाउने एउटै संज्ञावाचक शब्द नहुनु चाहिँ केही खल्लो लाग्दो विषय भएको छ । बाल्यावस्थामा ‘एम ए एन म्यान माने मान्छे र सि ए टी क्याट माने बिरालो’ भनेर घोकेझैँ ‘एभरेष्ट’ माने सगरमाथा भनिएको हो कि भन्ने अनुभूति आजको पुस्तालाई हुन थालेको भान हुन्छ । त्यसैगरी भोटे शेर्पा भाषामा पनि ‘एभरेष्ट’ माने झेमोलुङ्मा हुनपुग्दछ । सगरमाथामा मानव पुगेको पचासौँ वर्ष मनाउने क्रममा दि काठमाडौँ पोष्ट (२९ मे सन् २००३) मा प्रकाशित जोन क्रकौरको लेखमा झेमोलुङ्मा र सगरमाथा विश्व मानचित्रमा कसरी हराए भन्ने उल्लेख छ, तर अन्य कुनै पनि लेखमा सगरमाथाको उल्लेखसम्म भएन । दीपक थापा, आङ छिरिङ शेर्पा र रम्यता लिम्बूका लेखमा पनि सगरमाथा हराएको हरायै भयो । यसरी अङ्ग्रेजी छापा र दिमागबाट हराउन थालेको सगरमाथा नेपालीकै मन, मस्तिष्क र कलमबाट नहराओस् भनेर कामना गर्नुपर्ने भएको छ ।

स्थानीय नामको महŒवलाई पुनर्जागरण गर्दै जाने क्रममा सयौँ वर्षदेखि स्थापित नामहरू पनि “नक्कली मयूरका प्वाँख” उखलिएझैँ मानचित्रबाट हट्दैछन् । स्थानीय भाषा, कला, साहित्य, संस्कृति र इतिहासबाट प्रमाणित नामहरू मानचित्रमा पुनः अङ्कित हुँदैछन् । छरछिमेकमा सिलोन श्रीलङ्का बन्यो, बर्मा म्यानमार र रङगुन याङगुन बन्यो । कलकत्ता कोलकातामा परिणत भयो भने बम्बई मुम्बईमा र मद्रास चेन्नईमा । आफ्नै देशभित्र भने कथा बेग्लै छ । हाम्रो माछापुछ्रे हिमाल फिसटेल (Fishtail) को नाउँमा चिनिन थालेको छ; च्छोभा भामारे हिम शिखर थम्बस् अप (Thumb's up peak) बनेको छ र स्वयम्भूनाथको मन्दिरलाई पनि ‘मङ्की टेम्पल’ (बाँदरे मन्दिर) को नामले प्रख्यात पार्न खोजिँदैछ । लहरै टम्म मिलेका घरले सजिएको टोल झेछेँ फ्रिक स्ट्रिट (Freak street) को नामले प्रसिद्ध हुन थाल्यो । शाब्दिक अर्थ खोज्दा फ्रिक स्ट्रिटले विकलाङ्ग, बीभत्स वा कुनै सुरताल नमिलेको तरङ्गी सडक भन्ने जनाउँछ । तैपनि हाम्रा रेस्टुराँ, लज र होटललाई यो नाम अति प्यारो छ । यस्तै पाराले धरान–धनकुटाको बाटोमा पर्ने अति रमणीय भेँडेटारलाई चाल्र्स प्वाइन्ट (Charles point) भन्न पाउँदा अझ् रमाउने र गर्व गर्ने हाम्रो बानी छ । ओखलढुङ्गादेखि भेडा चराउँदै आई पूर्वी यात्राको चरन सीमा जनाउने भेडेटार भन्ने स्थान नाम विस्थापित भई बेलायतका युवराजको नाममा स्थापित भयो । भेडा चराउने परम्परालाई आइन्दा स्मरण गर्न नपर्ने भयो । त्यहाँ न भेडेटार छ न भेडा गोठाला छन् । हिमालको उँचाइबाट बग्दाबग्दै पोखरा फेवाताल पुगेर त्यहाँबाट पाताल छिचोल्ने ‘पाताले छाँगो’ त्यत्तिकै बिलाएर डेभिड फल (David's fall) मा परिणत भएको छ । यस्तै स्मृति स्थल बन्दैछ सगरमाथाको द्वारमा रहेको लुक्ला हवाई मैदान पनि । लुक्लालाई तेञ्जिङ–हिलारी विमानस्थल नामाकरण गरिसकेपछि लुक्ला चुलिएर तेञ्जिङ–हिलारी बन्ने हो कि तेञ्जिङ–हिलारीको कद सगरमाथाबाट ख्याउटिएर लुक्ला बन्ने हो भविष्यले बताउला । हामीले दरबार स्कूललाई भानुभक्तको उँचाइमा पु¥यायौँ कि भानुभक्तको उँचाइलाई रानीपोखरीको कुनामा कोच्यौँ अझ्ै स्पष्ट भएको छैन ।

पोखराको पाताले छाँगो अर्थात् डेभिड फल ।

स्थाननाम कोश नामक पुस्तक २०४४ सालमा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित भयो । “स्थान नामहरू जनजीवनसँग सम्बन्धित हुन्छन् र तिनले जनताको इतिहास वक्तछन्” लेखक कृष्णप्रकाश श्रेष्ठ जोड दिन्छन् । त्यसैले ठाउँको नामसँग खेलवाड गर्नु भनेको आफ्नै स्वत्वसँग खेलवाड गर्नु हो । कृष्णप्रकाश श्रेष्ठको प्रयासलाई बृहद् रूपमा विस्तार गरेर स्थान–नामको एउटा राष्ट्रिय अभिलेख तयार गर्दै जानु हामी सबैको कर्तव्य हुन आउँछ । श्री ५ को सरकारले पनि स्थान नामबारे स्पष्ट नीति तयार गरिदिनुपर्ने हुन्छ । आफ्नो भाषा, कला, साहित्य, प्राकृतिक सम्पदा वा जैविक विविधतालाई अङ्कित गर्ने नामहरूको संरक्षण र सम्बद्र्धन हामी नेपालीहरूले नै गर्नुपर्ने हो । जथाभावी छोडिदियो भने खोङमा–ला जस्तो उपयुक्त नाम शिप्टन–ला (Shipton la) मा परिणत हुन्छ । हिम कुखुरो (Snow cock) को स्थानीय नाम खोङ्मामा आधारित उक्त हिमाली भञ्ज्याङ्गलाई मकालु पर्वतारोहीहरूले खोङ्मा–ला भन्न छोडिसकेका छन् ।

नेपालका वन, वनस्पति, वन्यजन्तु, चराचुरुङ्गी र बालीनाली समेतलाई जनाउने हजारौँ स्थान नामलाई विधिवत् संरक्षण दिन सकेमा मात्र नेपालको पहिचान संरक्षण हुन्छ । यो कार्य गाउँ विकास समितिदेखि नै शुरु गर्न सकिन्छ । संखुवासभा जिल्लाको एउटै गाविस खराङभित्र पनि सिमले, आमबोटे, पिपले, फलाँटे, सल्लेरी, साल विसौनी, आरुबोटे, गहते, अलैँचे, जौवारी, हाथिसुँडे जस्ता थुप्रै स्थान नाम छन् । पूर्व–पश्चिम महेन्द्र राजमार्गको प्रसिद्ध ढल्केबर ढलिसक्दा पनि स्थान नाम नढलोस् भन्ने हाम्रो प्रयास हुनु आवश्यक छ । स्थान–नामले भूगोलको इतिहासलाई मात्र हैन इतिहासको भूगोललाई पनि सार्थक बनाउँदछ । हाम्रा स्थान–नामहरू; जस्तै जौबारी, तोरीखर्क, निबुवाटार, झ्म्सीखेल, चाक्सीबारी, आरुघाट, आँपचउर इत्यादि नामहरूले हाम्रो कृषि बाली र फलफूलको इतिहास मात्र बोकेका छैनन्, ती स्थानका प्राकृतिक परिवेश र वातावरणलाई पनि उजागर गरिरहेका हुन्छन् । यसैगरी वन र वृक्षलाई अङ्कित गर्ने ओख्रेनी वा ओखर पौवा, सल्लेरी, बाँसघारी, निगाले, गुराँसे, गोगने, घ्याम्पेसाल, जोर साल बजार, ठोटेसाल, सतबाँझ्, सिमल चउर, बाङ्गे सिमल, लब्सीफेदी, चाँगु, काभ्रे, भोर्लेटार, बरगाछी, बरबोटे, तीनपिपले, चुत्रेबेँसी आदि नामहरूले वन सम्पदाको बोध गराइरहेका हुन्छन् । एवं प्रकारले घाँसे मैदान, चउर र पाटनलाई नेपालीहरू स्थान नामका रूपमा विशेष प्रयोग गर्दछन् ।

स्याङ्जाको सिरुवारी र मुस्ताङको ल्होमान्थाङ (भोटे भाषामा ल्होले हरियो दुबो र मान्थाङले चउर भन्ने जनाउँछ); काठमाडौँको टुँडिखेल, ललितपुरको लगनखेल वा जावलाखेल (नेवार भाषाको “ख्यः” अर्थात् चउर) ले आ–आफ्नै संस्कृति प्रस्तुत गरिरहेका हुन्छन् । स्थान–नाम वास्तवमा अपभ्रंसको खानी पनि हो । दहीको व्यापार हुने चउर “धौख्यः” आज धुलिखेल बनेको छ । उच्चारण भेद, लिपिभेद र भाषान्तरले गर्दा अर्थपूर्ण नाम पनि अर्थरहित बनेर व्यर्थै प्रयोग भइरहन्छ । स्थान नामको राष्ट्रिय अभिलेख निर्माण गर्ने क्रममा विभिन्न भाषा–भाषीहरूको अर्थ केलाएर निर्णयमा पुग्नु आवश्यक हुन्छ । नक्कली नामहरूलाई उखेल्दै जानुपर्ने हुन्छ । वन, वृक्ष वा वनस्पतिका अतिरिक्त वन्यजन्तु, चराचुरुङ्गी लगायत पाल्तु वस्तुका नामबाट पनि थुप्रै स्थान नामहरूको निर्माण भएको हुन्छ । ती नामलाई नेपालको जैविक विविधताको द्योतकको रूपमा पनि बुझनुपर्ने हुन्छ । लुम्बिनीको गैडहवा दहले गैँडाको बासस्थानको इतिहास बोल्न सक्छ । हुम्ला र जुम्लाको बीचमा पर्ने मार्खोर लेकले कहीँ मार्खोर भेडा नेपालसम्म पनि फैलिएको थियो भन्ने सङ्केत त दिइरहेको छैन ? आजभोलि यो भेडा पाकिस्तान र काश्मिरसम्म मात्र सीमित छ । कर्णाली क्षेत्रकै कुरा गर्दा च्याखुरे लेक, कागमारा लेक, डाँफे लेक आदि नामले ती सुन्दर चराहरूको बाहुल्यताका बारेमा प्रस्ट्याइरहेको हुन्छ । यसैगरी चितवनको बकुल्ला टाँडी, धादिङको परेवाभीर र पोखराको चमेरो ओडारले पनि आ–आफ्नो स्थानको विशेषतालाई पकडेका हुन्छन् । यसै क्रममा पाल्तु जनावर विशेषका नाममा चौरीखर्क, गाईघाट, भैँसालोटन आदिले प्रसिद्धि कमाएका छन् । वन्यजन्तुमा आधारित नामहरू जस्तै गोहीटार, जरायोटार र अन्य स्थान नामहरू नेपालको भूगोलमा सुरक्षित रहनु पर्दछ ।

कुनै पनि ठाउँको नाउँ विनाकारण सिर्जना हुँदैन । त्यहाँ इतिहास लुकेको हुन्छ, धर्म, संस्कृति र परम्पराले जग हालेको हुन्छ, भाषा, कला र साहित्यले मौलाउने ठाउँ पाएको हुन्छ, किंवदन्ती र अनुश्रुतिका लहराले मानव कल्पनालाई टाढाटाढासम्म पु¥याइदिएको हुन्छ, भौगोलिक विशेषता र प्राकृतिक विशिष्टतालाई छर्लङ्ग्याइदिएको हुन्छ । हामीसँग थुप्रै उदाहरणहरू छन् । सिमरोनगढ भनौँ वा कीर्तिपुर, लुम्बिनी भनौँ वा किचक बध, स्वर्गद्वारी भनौँ वा पाताले छाँगो, व्यास गर्खा भनौँ वा खेम्पालुङ, म्याग्दी भनौँ वा बाग्मती, कञ्चनपुर भनाँैँ वा कञ्चनजंघा, महेन्द्रनगर भनौँ वा विराटनगर या नारायणगोपाल चोक नै किन नभनौँ सबैका आ–आफ्नै गाथा छन् । तिनलाई यथार्थमा बुझ्ेर स्थायित्व दिनसक्नु हाम्रो कर्तव्य हो । हामीले विकृतिको शिकार नबनी नक्कली मयूरका प्वाँखलाई नक्साबाट उखेल्न पछि पर्नुहुँदैन ।


सिलोन श्रीलङ्का, बर्मा म्यानमार र रंगुन याङगुन बन्यो । कलकत्ता कोलकातामा परिणत भयो भने बम्बई मुम्बईमा र मद्रास चेन्नईमा । आफ्नै देशभित्र भने कथा बेग्लै छ । हाम्रो माछापुच्छ«े हिमाल ‘फिसटेल’ को नाउँमा चिनिन थालेको छ; च्छोभा भामारे हिम शिखर ‘थम्बस् अप पिक’ बनेको छ र स्वयम्भूनाथको मन्दिरलाई पनि ‘मङ्की टेम्पल’ को नामले प्रख्यात पार्न खोजिँदैछ ।


comments powered by Disqus

रमझम