१-१५ साउन २०६० | 17-31 July 2003

पौभामा मग्न

Share:
  

किरण पाण्डे

विभिन्न थरिका रङ ‘इजल’ मा होस्, ब्रश होस् र होस् एउटा क्यानभास– समुन्द्रमान सिंह श्रेष्ठलाई यति भए पुग्छ । अनि शुरु हुन्छ उनका सोचहरू यात्रा, जुन टुङ्गिन्छ क्यानभासमा एउटा आकृति सिर्जना भएपछि । कलाप्रति निकै रुचि भएका समुन्द्रले २०४९ सालदेखि परम्परागत शैलीका चित्र बनाउन थालेका हुन् । उनले पौभा बनाउन सिकेको आठ कक्षा पढ्दाताका हो । भन्छन्, “परम्परागत चित्रकला बनाउँदा आफ्नो संस्कृति जोगिन्छ जस्तो मेरो विश्वास छ ।” परम्परागत कला तयार गर्ने समय, मेहनत र मूल्य पनि निकै महँगो हुने बताउँछन् उनी । ११ वर्ष लामो आफ्नो साधनामा उनको एकपटक पनि एकल प्रदर्शनी भएको छैन । भन्छन्, “विभिन्न मुलुकबाट माग भइरहने हुनाले चित्र तयार हुनेबित्तिकै बिक्री भइहाल्छ । म जस्ता परम्परागत चित्र लेख्ने कलाकार धेरैजसो सामूहिक कला प्रदर्शनीमा मात्र देखिने गरेको कारण पनि यही हो ।” रु.१५ सयमा चित्र बेच्न शुरु गरेका समुन्द्रले आफ्नो कृति नब्बे हजारसम्मका बेचेका छन् । उनका धेरै जसो चित्र बीस हजारदेखि चालीस हजार पर्दछन् ।

पौभा चित्र अनुशासन र नियममा बाँधिएर बनाउनुपर्ने हुन्छ भन्छन् उनी । अहिले अन्तर्राष्ट्रिय ख्याति पाएको तिब्बती थाङ्काको उद्गम पनि पौभा नै हो । भनिन्छ, उहिले व्यापारको सिलसिलामा ल्हासा गएका नेवार व्यापारीहरूले पौभा कला तिब्बत पु¥याएका हुन् । उनी भन्छन्, “विघ्नबाधाबाट बच्न घरमा पौभा राख्नुपर्छ भन्ने मान्यता थियो उहिले नेवारहरूमा । तर, बिस्तारै यो चलन हराएर गयो ।” परम्परागत कलाबाट नेपाललाई चिनाउन सकिन्छ भन्ने धारणा राख्ने समुन्द्र परम्परागत कलाबारे यसरी प्रस्ट्याउँछन्, “पौभा चित्रकारिता नेपालकै मौलिक कला हो, यो कुनै विदेशी कलाबाट प्रभावित भएर सिर्जिएको कला होइन । त्यसकारण पनि मलाई पौभा चित्रकारिता गर्दा एक प्रकारको आनन्द र आफ्नोपन महसूस हुन्छ ।”

प्रेममान चित्रकारलाई आफ्नो गुरुका रूपमा मान्ने समुन्द्र स्व. अमर चित्रकार, प्रेममान चित्रकार, मानिकमान चित्रकार, उदयचरण श्रेष्ठ, सिर्जना राजभण्डारी, दिलबहादुर चित्रकार, शशी शाहका कृति भनेपछि हुरुक्क हुन्छन् । २०५४ सालमा राष्ट्रिय कला प्रदर्शनीमा सान्त्वना पुरस्कार, २०५७ र २०५८ सालमा भने लगातार दोस्रो पुरस्कार पाइसकेका उनी आफूलाई सिकारु भन्न रुचाउँछन् । पौभा बाहेक उनलाई मूर्तिकलामा पनि रुचि छ र फुर्सद हुँदा बनाउँछन् पनि । कसैले कसैलाई चिन्नु, हेर्नु पनि मनमा चित्र बनाउनु हो भन्ने तर्क राख्दै समुन्द्र चित्र बिनाको संसार असम्भव हुने बताउँछन् । सम्भवतः हो पनि ।

सिर्जना दुवाल


नामीहरूको भेला

मनसुनले राजधानीमा प्रवेश गरिसकेको छ र त्यसको ‘मुड’ कस्तो हुन्छ भन्ने कुशल शिल्पीहरूको अभिव्यक्ति हेर्ने हो भने जानु पर्छ बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा, जहाँ छ जना सिद्धहस्त कलाकारहरूको कृति २६ असारदेखि प्रदर्शनका लागि राखिएको छ । त्यहाँ मनसुन मुड को शीर्षकमा उत्तम नेपाली, शशी शाह, वत्सगोपाल वैद्य, शशीकला तिवारी, किरण मानन्धर र रागिनी उपाध्याय–ग्रेलाका अनुपम कृतिहरू ।

comments powered by Disqus

रमझम