कृषिबाट समृद्धि

Share:
  
प्राथमिकताका साथ पर्याप्त लगानी गर्ने हो भने कुल गार्हस्थ उत्पादनमा एकतिहाइ योगदान रहेको कृषि क्षेत्र आगामी दश वर्षमा आर्थिक समृद्धिको प्रमुख आधार बन्नेछ।

सरकारले तयार पारेको कृषि विकास रणनीति (एडिएस) ले आगामी दश वर्षमा कृषि निर्यातलाई रु.२४ अर्बबाट रु.५३ अर्ब (६०० मिलियन डलर) पुर्‍याउन सकिने आकलन गरेको छ। यस्तै, रु.३१ अर्बको कृषि व्यापार घाटालाई शून्यमा झ्ार्ने, प्रतिहेक्टर कृषि उत्पादकत्वलाई रु.१ लाख ५९ हजारबाट रु.२ लाख ५९ हजार बनाउने, कृषि मजदूरको वार्षिक आय रु.७० हजारलाई रु.१ लाख ६ हजार बनाउने र सिंचाइ पुगेको भूमि १८ प्रतिशतबाट ६० प्रतिशत पुर्‍याउन सकिने एडिएसको निष्कर्ष छ।

खेतीयोग्य जमिनमा सिंचाइ सुविधा, उन्नत बीउबिजन, रासायनिक मल, कीटनाशक औषधि, खेतीको उन्नत विधि, प्रविधि तथा ज्ञानमा कृषकहरूको पहुँच, सहज कृषि कर्जा जस्ता कुरामा ध्यान दिनसके माथिका लक्ष्यहरू सजिलै हासिल हुने जानकारहरू बताउँछन्।

खेतबारीसम्म सानै भए पनि पिच सडक, आवश्यक बजारस्थल र नियमित विद्युत् आपूर्तिलाई कृषि क्षेत्रको अहिलेका चुनौती ठान्ने पूर्व अर्थ सचिव रामेश्वर खनाल आउँदो दश वर्षमा कृषि विदेशी मुद्रा आर्जनको महत्वपूर्ण खम्बा हुने बताउँछन्।
खनाल राजनीतिक अस्थिरताबाट कृषि तुलनात्मक रूपमा कम प्रभावित हुने, उच्च आर्थिक वृद्धिदर भएका दुई मुलुक छिमेकमा हुनु, विदेशबाट सीप, कुशल व्यवस्थापन/अनुशासन र पूँजी लिएर आउने नेपालीको संख्या बढ्दै जानुलाई कृषि विकासको पूर्वाधार भन्न रुचाउँछन्। छिमेकी चीनमा बंगुरको मासु निर्यात गरेर मात्रै पनि नेपालले ठुलै लाभ लिनसक्ने बताउँदै खनाल भन्छन्, “चीनमा बंगुर खान मन पराउने तर पाल्न नरुचाउने १३५ करोड मानिस छन्।”

यसका लागि मासु प्रशोधनशाला र चीनसम्म निर्यात गर्ने नियमित माध्यम चाहिन्छ। यो हुँदा नेपाललाई बंगुर, विफ र राँगाको मासु उत्पादन केन्द्र बनाउन सकिन्छ। तर, गत वर्ष नेपालले २ लाख ८८ हजार मेटि्रक टन मात्र मासु उत्पादन गरेको आर्थिक सर्वेक्षण २०६८ को तथ्याङ्कले देखाउँछ। नेपालबाट मुला, टमाटर, काउली आदिका बीउबिजन भने विभिन्न देशमा निर्यात भइरहेको छ। गएको वर्ष ३०५२ मेटि्रक टन बीउबिजन उत्पादन भएको थियो। यस्ता बीउबिजन प्रतिकिलो रु.१० हजारमा बिक्री हुने गरेको कृषि विभागका उपनिर्देशक ईश्वरप्रसाद रिजाल बताउँछन्। ग्रेडिङ, लेबलिङ र ब्राण्डिङमा पर्याप्त ध्यान पुर्‍याउन सके बीउबिजन अर्थोपार्जनको बलियो माध्यम हुने रिजालको भनाइ छ।

बाली उत्पादन स्थिति उत्पादन:टनमा
बाली/उत्पादन  २०६८ २०८०
खाद्य ९४,५७,००० १,२१,५१,०००
नगदे ५७,४८,००० ७४,७६,०००
मासु २,८८,००० ४,०६,०००
बीउ बिजन ३,०५२ ३,५०९
दूध १६,२३,००० २२,०२,०००
स्रोतः आर्थिक सर्वेक्षण २०६० र २०६८ 
नेपालको भौगोलिक तथा जैविक विविधता कृषि विकासको महत्वपूर्ण पक्ष हो। हिमाल, पहाड र तराईको फरक–फरक हावापानी सबै किसिमका बालीनालीका लागि उपयुक्त छ। उपनिर्देशक रिजालका अनुसार हिमाली क्षेत्रमा फलेको भन्दै युरोपेली मुलुकमा नेपाली काजु बदाम, कागजी बदाम, स्ट्रबेरी आदिको माग बढेको छ। दूध, स्ट्रबेरी, बदाम आदि प्रशोधन गरेर बेच्दा बढी नाफा हुने कृषि उपज हुन्। कृषिविद् डा. हरि दाहाल उखु, तेलहन, आलु, जुट, चिया, कफी जस्ता नगदे बालीलाई आधुनिकीकरण गर्न सके आर्थिक कायापलट हुन समय नलाग्ने बताउँछन्।

यसका लागि कृषिमा लगानी वृद्धि आवश्यक छ। तर, ६५.६ प्रतिशत जनता आश्रित कृषिका सम्भावनाहरू धेरै भए पनि सरकारको लगानी अहिलेसम्म तीन प्रतिशतभन्दा कम छ। विकसित मुलुकहरूले झै १० प्रतिशतसम्म लगानी गर्ने हो आउँदो दश वर्षमा नेपाली कृषिक्षेत्र विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत बन्ने पूर्व अर्थसचिव खनाल बताउँछन्। डा. दाहाल पनि अन्तर्राष्ट्रिय चलन अनुसारको लगानी गर्ने हो भने कृषि क्षेत्र मुलुकको आर्थिक मेरुदण्ड बन्ने विश्वास व्यक्त गर्छन्।

सन्त गाहा मगर

comments powered by Disqus

रमझम