१६-३० कात्तिक २०६० | 2-16 November 2003

साम्यवादी आन्दोलनको विवेचना

Share:
  

किताबः नेपालमा कम्युनिष्ट आन्दोलनको इतिहास (भाग–२)

लेखकः डा. सुरेन्द्र केसी

प्रकाशकः विद्यार्थी पुस्तक भण्डार काठमाडौँ, २०६०

पृष्ठः ४२१, मूल्यः रु.२००

नेपालको कम्युनिष्ट आन्दोलनको पहिलो चरण (२००६–२०१९) माथि विद्यावारिधि गरेका डा. सुरेन्द्र के.सीले त्यही आन्दोलनको अर्को चरण (२०२०–२०४९) को विवरणात्मक इतिहास प्रस्तुत पुस्तकमार्फत् सार्वजनिक गरेका छन् । नाम र समयावधिले नै बताउँछ, पुस्तक करीब तीन दशकको नेपाली वामपन्थी राजनीतिको विवेचना र चिरफारमा केन्द्रित छ । तत्कालीन अवस्थामा आकार लिन खोजिरहेको नेपाली कम्युनिष्ट आन्दोलनले सैद्धान्तिक ध्रुवीकरणका के कस्ता श्रृङ्खला पार ग¥यो, के कस्ता उचारचढावको सामना ग¥यो, भ्रम र द्विविधामा अल्झ्ँिदै कसरी तड्पियो ? यस्ता धेरै प्रश्नहरूको चरणबद्ध जवाफ छ पुस्तकमा ।

आफ्ना माक्र्सवादी आँखाबाट देखिएका आग्रहप्रेरित दृश्यलाई पनि अनुसन्धानको परिधानमा सजाउने प्रयास गरेका छन् लेखकले । लेखक स्वयंले ‘मुक्त आकाशमुनिको ऐतिहासिक विचरण’ भनेको पुस्तकभित्र ‘सीपीको अवसान र मदन भण्डारीको उदयको चपेटामा झ्लनाथ खनाल’ जस्ता अप्ठ्यारा शीर्षकसँगै ‘पार्टी स्वतन्त्रता बनाम राजनीतिक स्वतन्त्रता’ जस्ता भाषिक रूपले बिझउने शब्दावलीहरू पनि प्रशस्त छन् । नेपालको कम्युनिष्ट आन्दोलनसँग सम्बद्ध विभिन्न समयका दुर्लभ दस्तावेज र तिथि–मिति सहितका विवरणले पुस्तकको आकार, महŒव र उपयोगिता बढाएका छन् । यो विषयका नयाँ अन्वेषकहरूका लागि उपयोगी हुनसक्छ डा. के.सी. को यो प्रयास ।

सङ्गीत, कलाको सन्दर्भग्रन्थ

किताबः रामशरण दर्नाल प्रकाशकः भृकुटी ऐकेडेमिक पब्लिकेशन्स काठमाडौँ, २०६० पृष्ठः ११०, मूल्यः रु.९५

नेपाली बागीना (बाजा, गीत र नाच) तथा सङ्गीतसँग सम्बद्ध चित्र, मूर्ति, शिला तथा काष्ठकलामाथि केन्द्रित २१ आलेखहरूको सङ्ग्रह हो प्रस्तुत पुस्तक । कला र सङ्गीतको पारस्परिक सम्बन्ध देखाउने खोजपूर्ण सामग्रीहरूमार्फत् लेखकले नेपाली लोक तथा शास्त्रीय सङ्गीतमा विद्यमान मूलभूत विशेषताहरू केलाउने जमर्को गरेका छन् । दुई खण्डमा विभाजित पुस्तकको अर्को विशेषता लोकसङ्गीतदेखि वैदिक सङ्गीतसम्मका विविध पक्षको विशद् विश्लेषण हो ।

कुनै बेला नारायण गोपाल, गोपाल योञ्जन र नगेन्द्र थापाले आफ्नो साङ्गीतिक पत्रिकाका निम्ति जुराएको ‘बगीना’ शब्दलाई प्रस्तुत पुस्तकले पुनःस्थापित गरेको छ, वाद्य, गीत र नृत्यको सामीप्य देखाएर । नेपाली सङ्गीत अनुसन्धाताका रूपमा अलग्गै चिनारी बनाइसकेका लेखकले यो पुस्तकका निम्ति पनि सन्दर्भसामग्रीहरू जुटाउन निकै मेहनत गरेको स्पष्ट देखिन्छ । सानो पुस्तकमा खाँदखुँद गरिएका धेरै विषयहरूले पढ्दापढ्दै पाठकहरूलाई अल्मल्याउने तथ्यतर्फ लेखक सचेत भइदिएको भए पुस्तक अझ् सुरुचिपूर्ण हुनसक्थ्यो । तथापि, सङ्गीत र कलासम्बन्धी जिज्ञासुहरूका निम्ति संक्षिप्त सन्दर्भग्रन्थका रूपमा पुस्तकले स्वागत पाउन सक्छ । पेशल

हिमाली साहित्यमा नवीन प्रयोग

किताबः चुली (उपन्यास) लेखकः सरुभक्त प्रकाशकः पोखरेली युवा सांस्कृतिक परिवार पोखरा, २०६० पृष्ठः ५२, मूल्यः रु.५५

पालगबस्ती, तरुनी खेती, समय त्रासदी जस्ता चर्चित उपन्यासका स्रष्टा सरुभक्तको नयाँ प्रयोग हो चुली । एक्लै सगरमाथा चढ्न तम्सिएको अनाम पात्रको आरोहण–वृत्तान्तका रूपमा प्रस्तुत लघुन्यास (लघु उपन्यास) को मूल विशेषता हो, हिमाल र जीवनको प्रतीकात्मक वर्णन । यसलाई पर्वतारोहणसँग जोडिएका कष्टसाध्य कथाहरूको लघु दस्तावेज पनि मान्न सकिन्छ । आरोहणको चुनौती स्वीकार्ने साहस र आरोहीहरूका रोमाञ्चक अनुभवसँगै सगरमाथा आधार शिविरबाट आरम्भ भएको कथा एक्लो आरोही, उसले भोगेको अनपेक्षित सङ्कट, सफल आरोहणका घटनावर्णनहरूपछि एउटा दुर्घटनामा टुङ्गिन्छ । ‘जीवन भनेकै जोखिमहरूको एउटा सुन्दर कविता हो’ भन्ने सन्देश छ उपन्यासमा । हिमाल आरोहणका प्राविधिक पक्षहरूबारे पर्याप्त जानकारी दिन नसके पनि सरुभक्तका मीठा वाक्य र कथाबस्तुको सहज प्रस्तुतिका कारण उपन्यास पठनीय छ । हिमाली देशमै हिमाल र आरोहणसम्बन्धी पर्याप्त साहित्य नभएको पृष्ठभूमिमा औपन्यासिक प्रस्तुतिमार्फत् जिज्ञासुलाई नयाँ स्वाद दिन सक्षम छ ‘चुली’ ।

दुर्गाप्रसाद हुमागाइँ


‘इन्टरप्रिटेशन अफ ट्रिटिज’ (अन्तर्राष्ट्रिय सन्धि सम्झैताको विश्लेषण)

लेखकः रवि शर्मा अर्याल

प्रकाशकः दीप एण्ड दीप पब्लिकेशन्स, नयाँदिल्ली, २००३

पृष्ठः १८३, मूल्यः रु.२८०


ब्रह्मचर्य विज्ञान (वैज्ञानिक विचार सङ्ग्रह)

लेखकः रवीन्द्रप्रसाद प्रधान

प्रकाशकः माध्वी श्रेष्ठ, सञ्जय प्रधान, अजय प्रधान, काठमाडौँ, २०५९

पृष्ठः २३१, मूल्यः रु.१९०


मेरो दृष्टिको सुन्दर संसार (कविता सङ्ग्रह)

कवयित्री/प्रकाशकः लोरिना स्थापित, काठमाडौँ,२०५९ पृष्ठः ७०


होला (स्पेनिस भाषा सिकाउने पुस्तक)

लेखकः रमेश श्रेष्ठ, मिगेल खिमेनो, विजय रौनियार

प्रकाशकः रत्न पुस्तक भण्डार, काठमाडौँ, २००३

पृष्ठः ३०७


हजार आँखा यी आँखामा (गीत/कविता सङ्ग्रह)

गीतकार/कविः सुमन पोखरेल

प्रकाशकः वाणी प्रकाशन,

विराटनगर, २०५९

पृष्ठः ६२, मूल्यः रु.७५


हिमश्रृङ्खलाको यात्रा (सगरमाथा आरोहीहरूको परिचय)

लेखकः दोर्जी जाङ्बु लामा शेर्पा

प्रकाशकः लेखक स्वयं, २०५९

पृष्ठः २९४, मूल्यः रु.२५०

comments powered by Disqus

रमझम