विन्ती! स्वार्थबाट जोगाऊँ

Share:
  
- डा. तीर्थबहादुर श्रेष्ठ
नेपाली पूँजी, श्रम र शक्तिबाट बनेको गोदावरी राष्ट्रिय वनस्पति उद्यानलाई स्वार्थको चपेटामा पर्न नदिउँ ।

तस्विर: मीनरत्न बज्राचार्य
दक्षिण एशियाली राष्ट्रहरूमा सबैभन्दा जेठो नेपालको राष्ट्रियता आज जस्तो कमजोर र फितलो कहिल्यै थिएन। राष्ट्रिय राजनीतिलाई अन्योल र गतिहीनतामा पारेर नेपालको राष्ट्रिय पहिचान र धरोहरलाई धरासायी बनाउने षडयन्त्र अरू तीव्र हुँदैछ। यसको पछिल्लो कडी बनेको छ, गोदावरीमा रहेको राष्ट्रिय वनस्पति उद्यानलाई लिलामीमा चढाउनु।

उद्यानलाई सरकारले निजी क्षेत्रलाई ठेक्कामा दिन लागेको सुनिएको छ। र, यो राष्ट्रिय विसंगतिसँग प्रधानमन्त्री बाबुराम भट्टराई पत्नीको नाम जोडिएको छ। वनस्पति उद्यानको स्थल छनोट र उद्यान उद्घाटनदेखि झ्ण्डै ४० वर्ष वनस्पति विभागसँग सम्बद्ध रहेकाले मलाई अझ्ै विश्वास गर्न गाह्रो पर्दैछ, हाम्रा विद्वान प्रम र विदुषी नेतृ यसमा बिटुलिए भनेर। त्यसैले मेरा मनका भावहरू एक लोकप्रिय गीतका गेडाहरूसँग मुखरित हुन खोज्दैछन् “मेरो बिटुलो विश्वास तिमीलाई चोखो ठान्छ, तिमी ढाँटिदेऊ खाली पवित्र हुँ भनेर।'

आउनुहोस्, एकपटक पार्क वा उद्यान तथा वनस्पति उद्यान र राष्ट्रिय वनस्पति उद्यानबीचका भिन्नताबारे चर्चा गरौं। आशा छ, सबैले यसलाई बुझिदेलान् र राष्ट्रिय वनस्पति उद्यानलाई धरोहरको रूपमा सकारिदेलान्।

पुनःजागृत हुने थलो

शहरी जीवनको व्यस्त दैनिकीले शान्त वातावरण र प्राकृतिक हरियाली खोज्छ। त्यहाँ केही क्षण मनोरञ्जन र आरामको खुराक लिंदा जीवनको सार्थकता र सक्रियतालाई पुनः जागृत गर्न सकिने भएकाले सार्वजनिक पार्क एवं उद्यान निर्माण गरिन्छ। यस्ता स्थलहरू नै हुन्, जहाँ मानिसहरू खुला रूपमा भेट्न वा भेला हुनसक्छन्। सामाजिक, सांस्कृतिक एवं शैक्षिक गतिविधि गर्न पनि पार्क र उद्यानमै सहज हुन्छ। बालबच्चासहित परिवारजन घुमफिर गर्ने थलो पनि यस्तै पार्क र उद्यान नै हुन्।

प्रेमी–प्रेमिकाहरू भेट्ने र एकान्त गर्ने थलोको रूपमा पनि यिनलाई लिइन्छ।

त्यसैले पार्क उद्यानहरूमा विभिन्न प्रकारका बाग, बगैंचा र पुष्पवाटिका शोभायमान हुन्छन्। हरिया चउर, लताकुञ्ज, बाँसघारी र वृक्षपुञ्जले सजाइएका हुन्छन्, यी मनोरञ्जन स्थल। पानीका पोखरी, तलाउ र फोहोराले तिनमा अरू आकर्षण थप्छन्। पीङ, रोटेपीङ, रोलर कोस्टर, घुम्ती रेलगाडी जस्ता मनोरञ्जनका साधनले उद्यानलाई थप मनोरम बनाउँछन्। वनभोज तथा फोटोग्राफी र चलचित्र निर्माणलाई पनि यस्ता स्थल नै उपयुक्त हुन्छन्। समग्रमा भन्नुपर्दा पार्क र सार्वजनिक उद्यानहरू मनोरञ्जन र आमोदप्रमोदका लागि निर्मित हुन्छन्। र, व्यवस्थापन पनि सोही अनुरूपको हुन्छ।

राष्ट्रिय वनस्पति उद्यान

सामान्य उद्यान वा पार्क तथा वनस्पति उद्यानबीचको भिन्नता बोटबिरुवामा टाँगिएका बिल्ला अर्थात् ट्यागले छुट्याउन सकिन्छ। वनस्पति उद्यानका बिरुवाहरूमा तिनको वैज्ञानिक पहिचान खुल्ने गरी बिल्ला टाँगिएको हुन्छ। जस्तैः गुलाब, गोदावरी, गुनकेशरी, लिली, सयपत्री, प्यान्जी, कार्नेशनका वैज्ञानिक, व्यापारिक र स्थानीय नाम तथा ती बिरुवाका परिवार र कुन मुलुकबाट ल्याइएको हो भन्ने खुलाइन्छ। यस्ता उद्यानमा विभिन्न प्रकारका पुष्प बाटिकाहरूको पहिचान खुल्ने सूचनापाटी पनि व्यवस्था गरिन्छ। जस्तै पाषाण बगैंचा (रक गार्डेन), जापानी बगंैचा, उन्यू बाटिका (फेर्न गार्डेन), सुनाखरी संग्रह (अर्किड हाउस), गुलाब वाग (रोज गार्डेन), जलबाटिका (वाटर गार्डेन), लिली बाटिका (लिली गार्डेन)। विभिन्न प्रकारका बोटबिरुवाहरूको पाटी (लेबल) लाई देखिने गरी सजाइएको हुन्छ, वनस्पति उद्यानमा। जस्तै लताकुञ्ज, बाँसघारी, गुराँसघारी, वृक्षपुञ्ज आदि। उद्यानभित्रका सबै भवन र निर्माणस्थलहरू जस्तै प्रयोगशाला, ग्रीन हाउस, क्याक्टस हाउस, ट्रपिकल हाउस तथा वनस्पति संग्रहालय एवं अन्य विषयबारे सूचना केन्द्रबाट सहजै जानकारी उपलब्ध हुन्छ।

यसरी हेर्दा बोटबिरुवा र वनस्पतिको ज्ञान मण्डली, विज्ञान प्रयोगशाला र प्रविधि विकास केन्द्रको समष्टि नै वनस्पति उद्यान हो। वनस्पति उद्यानले वनस्पतिको ज्ञान/विज्ञानको प्रवर्द्धन गर्दै वनस्पति सम्पदाको संरक्षण र सम्वर्द्धन एवं विकासमा सहयोग पुर्‍याउँछ। यो वनस्पति जगतको संग्रहालय बराबर हुन्छ। अहिलेका लागि मात्र होइन, भावी सन्ततिका लागि पनि वनस्पति उद्यान वनस्पति बीजभण्डार हो। वनस्पति उद्यानले आफ्नो उद्देश्य र कार्यक्रमलाई तीन तहमा कार्यान्वयन गरिरहेको हुन्छ। पहिलो तहमा पार्कको परिवेश हुन्छ, जहाँ चित्त शान्ति, मनोरञ्जन, आराम र आमोदप्रमोदलाई प्राथमिकता दिइन्छ। दोस्रो तहले जनचेतना, प्रकृति शिक्षा र जन कौतुहललाई सम्बोधन गर्छ। तेस्रो तथा भित्री तहले ज्ञान–विज्ञानका सूक्ष्म आयामहरूको खोजी, विज्ञान–प्रविधिको अध्ययन र अनुसन्धान तथा विज्ञान चेतनाको सञ्चारलाई प्राथमिकतामा राखेको हुन्छ।

यिनै उद्देश्य राखेर राष्ट्रिय वनस्पति उद्यान २०१९ सालदेखि क्रियाशील छ। करीब ८२ हेक्टर जमिनमा फैलिएको यो उद्यान पनि पूर्णरूपमा मानव निर्मित हैन, संसारका अरू वनस्पति उद्यान जस्तै। यसको विशेषता भनेको प्राकृतिक स्वरुपमा मानवीय क्रियाकलापले थपेको कलात्मक आयाम र वैज्ञानिकता नै हो। यो उद्यानमा २९० प्रजातिका चराचुरुङ्गी, २५० प्रजातिका पुतली र ५७५ प्रजातिका पुष्पहरू छन्। गोदावरी परिसर र २७१५ मिटर माथिको फुल्चोकीसम्ममा करीब ७०० प्रजातिका वनस्पति रहेको अभिलेख छ। यो नेपालमा रहेको सम्पूर्ण वनस्पतिको १० प्रतिशत हो। यसरी; पुष्प, पुतली र पन्छीको अनुपम मिश्रण बनेको छ, यो राष्ट्रिय वनस्पति उद्यान।

राष्ट्रिय वनस्पति उद्यानले सन्् २००३ मा प्रकाशित गरेको एक पुस्तिका अनुसार, यस उद्यानमा १२५ प्रजातिका वृक्ष, १४ प्रजातिका लता र ४७ प्रजातिका साना कदका झ्ाडी छन्। उन्यू प्रजातिकै ४२ वटा र धूपी एवं सल्ला परिवारका २२ प्रजाति यहाँ पाइन्छन्। नेपाल बाहिरबाट संकलन भएका हजारौं क्याक्टहरू पनि यहाँ छन्, ५३ प्रजातिका। नेपालकै ६१ प्रजातिका सुनाखरी अर्थात् अर्किडहरू यो उद्यानमा फुल्छन्भने ६८ प्रजातिका खाद्य वनस्पति पाइन्छन्। औषधि र जडीबुटीका १२५ प्रजाति यहाँ सुरक्षित छन्।

यो उद्यानको ऐतिहासिक पक्ष पनि छ, मित्रराष्ट्रका राष्ट्राध्यक्ष, प्रधानमन्त्री एवं अरू विशिष्ट व्यक्तित्वहरूले आफ्नो नेपाल भ्रमणलाई जीवन्त राख्न यस उद्यानमा वृक्षरोपण गरेका थिए। सन् १९७४ को फेब्रुअरी ४ मा युगोस्लाभियाका राष्ट्रपति मार्शल टिटो तथा पत्नीले नेपालको राष्ट्रिय फूल लालीगुराँसका बिरुवा रोपेपछि यो परम्परा शुरू भएको थियो। जुन, सन् १९९६ नोभेम्बर २७ मा जर्मन गणतन्त्रका राष्ट्रपति प्रा.डा. रोमन हर्जोग र पत्नी क्रिष्टिनको भ्रमणसम्म चल्यो। त्यसबीचमा दर्जनौं विदेशी मित्रहरूले यहाँ बिरुवा रोपेका थिए।

राष्ट्रिय वनस्पति उद्यान र सोसँग सम्बन्धित अनुसन्धानशालाहरूबाट गरिएको खोज र नतिजा अनेकौं राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रकाशनमा पाइन्छन्। बेलायत, जापान र नेपालले संयुक्त रूपमा प्रकाशन गर्न थालेको 'फ्लोरा अफ नेपाल' यसको पछिल्लो उदाहरण हो। वनस्पति अनुसन्धानका क्षेत्रमा टिस्यू कल्चर नेपाल भित्र्याउने श्रेय पनि यही उद्यानलाई जान्छ। साइटोलजी, एनाटोमी, माइकोलजी, फिजियोलजी आदि विभिन्न प्रयोगशालाहरू र जडीबुटी प्रशोधन तथा उत्पादन प्रयोगशाला पनि यसैसँग आवद्ध छन्। नेपालको राष्ट्रिय वनस्पति संग्रहालय यही उद्यानको अभिन्न अंग हो। यहाँ नेपालभरिका एक लाख पचास हजार बिरुवाका नमूना सुरक्षित छन् र टेक्सोनोमी अध्ययन एवं अनुसन्धानका लागि त यो अतुलनीय नै छ।

अन्त्यमा

राष्ट्रिय वनस्पति उद्यान नेपालको राष्ट्रिय प्रतीक र वैज्ञानिक अनुसन्धानका लागि महत्वपूर्ण पूर्वाधार हो। यसको स्थापनामा नेपाली पूँजी, श्रम र शक्तिको मात्र लगानी छ। त्यसैले यो नेपालको गौरव हो। यसको संरचना बिग्रियो वा भत्कियो भने पुनः निर्माण गर्न कम्तीमा ५० वर्ष लाग्छ। तसर्थ यसलाई मनोरञ्जनको थलोको रूपमा नहेर्न र राष्ट्रको शिरबिन्दु ठान्न विनम्र आग्रह छ। बिन्ती छ, केही व्यापारिक आकर्षण, थोरै आर्थिक लाभ वा कुनै राजनीतिक लोभमा राष्ट्रिय वनस्पति उद्यानलाई नलपेटौं।

comments powered by Disqus

रमझम