६-१२ मंसीर २०७२ | 22-28 November 2015

हल्का बेशर्मी चल्ता है!

Share:
  
- महेश थापा
उपबुज्रुकहरूले कोकोहोलो मच्चाए भन्दैमा उपप्रमज्यूहरू लज्जावती झार बनेको देख्नु नपरोस्, दैव! मुलुकलाई कुश्त लाभ हुने शर्तमा हल्का बेशर्मी मजाले चल्ता है!

भानु भट्टराई
रात छिप्पिंदै गर्दा सिंहदरबार प्राङ्गणमा खैलाबैला सुनियो, “गेट खोल्दिनु पर्‍यो, अर्जेन्ट छ।”

“अझै हूल बाँधेर देउसी खेल्न हिंड्दैछौ बज्रस्वाँठ हो!” डिउटी कसेका सुरक्षाकर्मी कर्कश कराए।

“हामी उप–प्रधानमन्त्रीहरू हौं, छिटो गेट खोल!”

“अझ् जिस्कन्छौ बेसोमतिहरू, उप–प्रधानमन्त्री पनि कहीं पैदल हिंड्छन्?” सुरक्षाकर्मी कड्किए।

“इन्धन अभावमा जनता भोकभोकै बसेको वेला हाम्रो आत्माले गाडी गुडाउन देला!”

फटाफट गेट खोलेर भटाभट परिचयपत्र हेरेपछि सुरक्षाकर्मीहरू पहेंलिए।

“माफ पाऊँ हजुर!” बराहरू बर्बराए, “बरु मन्त्री चिनिएला, होलसेलका उप–प्रधानमन्त्री ठम्याउनै गाह्रो भो हजुर!”

आधा रात नजिकिएको वेला सिंहदरबारमा आकस्मिक बैठक डाकिएको देख्दा कजाकिस्तानबाट ग्याँस खसान् भएको आशंकाले हौसिंदै म पनि लुसुक्क मान्यवर मण्डलीको पछिपछि लस्किएँ।

“कुकुर तिहारको तेस्रो दिन पगितो मसला मर्काइयो कि क्या हो?” प्रधानमन्त्रीज्यूबाट सोधनी भयो, “उप–प्रधानमन्त्रीहरूको पित्त एकमुष्ट किन पोलेछ। अपर्झट बैठक बोलाइमाग्नुको कारण के होला?”

“नसक्ने भइयो, लास्टै हिनामी गरायो! घर, टोल, गाउँ, शहर, बजार जाँ पुग्दा'नि तिमीहरूको कारण देशै गन्हायो भन्दै छ्याकन हान्छन्”, एक उपप्रमले विलौना गरे।

“मलाई त अचेल कसैले समूहवाचक नाम उच्चारण गरेको सुन्यो कि भाउन्न भएर आउँछ”, दोस्रा बैरागिए, “यो भ्रूणहत्तेबाट निजात पाऊँ, प्रभू!”

“अनि, जेठाकाजीको चाहिं भनाइ के छ त?” प्रमले सोध्नुभो।

“भकुन्डे भूत लागेर कान्छा काजीले विरादरीको नाक काटिगो। यो दुर्गन्ध पखालिनँ भने बन्धुहरूले मलाई कुलपूजामै ढिम्किन नदिने भएकाले मुक्ति खोजें हजुर!”

सुनेर म शीताङ्ग भएँ। नयाँ सरकारमा उप–प्रधानमन्त्रीरूपी बाला लहलह झुलेर नेपालप्रतिको अन्तर्राष्ट्रिय जिज्ञासा ह्वात्तै बढेर विदेशी मित्रहरू 'आधादर्जन उप–प्रधानमन्त्री भएपछि सार्वजनिक सेवा त जनताको कोठाचोटामै पुग्दो हो' भन्छन्। त्यसमाथि, एकै झ्मटमा उपप्रम कारखाना खोल्न सक्ने नेपाललाई झवाँक चलेर औद्योगिक क्रान्ति गरी उत्पादनको खत्यौल लगाइदियो भने आफ्नो बजार कसरी जोगाउने भन्ने गोप्य अजेण्डाले 'ब्रिक्स' र जी–२० मा प्रवेश पाएको हल्ला छ।

छ्यासमिसे निर्वाचन प्रणालीको उपहार टालाटुली बटुली सरकारलाई अपजसेहरूले भाङ्ग्राको टोपी ठान्छन् भने पनि चट्टसँग त्यसमा सिउरिएका उपप्रधानमन्त्रीहरू गुँहेलीको फूलको गुच्छा जस्तो देखिन्छन्। मन्त्रीले नपुगेर उपप्रम खोज्दै घिटघिटिनुको अर्थ देश र जनताको लागि केही गरिछाड्ने हुटहुटी हो। केरुङमा हिउँ परेर व्यवधान आए उपप्रमहरूको बटालियनले नाम्लो लगाएरै भए'नि तेलको गर्जो टारिदिन के बेर!

“राष्ट्रवादीको बोली र हात्तीको दाँतलाई उस्तै–उस्तै ठानम्” प्रमज्यूको गोली जस्तो बोलीले मेरो तर्कनालाई तोडिदियो।

“ती बाहिरिएपछि फेरि मुखतिर फर्कंदैनन्”, उहाँले भन्नुभो।

“मन्त्री दिए चूपचाप सहन्छु, उपप्रधानमन्त्री चाहिं चाहिएन, बाबा!” एक उपप्रम भक्कानिन खोजे।

भत्कोसे जिरह सुनेर हिरिक्क गइएला जस्तो भए'सि म बैठक कक्षबाट बाहिरिएँ। अलिकति पनि नवीनता नभए नेपाल कसरी नयाँ हुन्छ? नयाँ संविधान कार्यान्वयन भएको ढोल पिट्न पनि 'समथिङ न्यू' चाहियो नै। उपप्रमको बाली फस्टाउँदा नेपालमा संविधानको रेल पटरीमा चढेको दुनियाँले चाल पायो। फेरि, संसदीय व्यवस्थामा जस्तो जम्बो मन्त्रिमण्डल मात्र बनाए 'सुधारिएको' फुर्कोको इज्जतै रहन्न। तसर्थ, सुधारिएको संसदीय व्यवस्थामा संविधानको जिलो जोगाउन सरकाराँ उपप्रमहरू मात्र राख्ने थिति बसालौं। बरु, मन्त्रिमण्डललाई 'उपप्रमण्डल' भन्नु परे'नि खुट्टो कमाउने कुरो छैन।

मोबाइलको घण्टी बज्दा म झ्स्किंदै ब्युँतिएँ। भीडसँग पौंठेजोरी खेल्दै दाउरा प्राप्ति फारममा तीनपुस्ते विवरण भरिरहेको वेला एउटा यमानको गिंडुल्को देख्दा भनन्न रिंगटा छुट्यो। बहुरिंदा बिक्री केन्द्र सुनसान थियो। लोदरे सपनामा देखेझैं कतै दुई/चार थानले 'उपप्रधानमन्त्री चाहिएन' भन्दै फ्याट्ट सामूहिक अर्जी हाल्देमा सरकार चुच्चो काटिएको चरो माफिक बुच्चो देखिने सुर्ताले गर्लम्म छोप्यो। नबेसाउनु बेसाइ सकेपछि घिनाउनु हुन्न, बरु उपप्रमगणको क्षमताको अधिकतम दोहन एवं परिचालन गर्न एउटा सह–प्रधानमन्त्री व्यवस्था गर्न सके जुलूमै असल हुन्थ्यो भन्छु।

comments powered by Disqus

रमझम