यौटा परम्परा थालियोस्

Share:
  
- क.दी.
म सम्पदा–विशेषज्ञ होइन, तर हिमाल को मेरो स्तम्भ 'सम्पदा' र 'दृश्य सम्पदा' हुँदै 'पुस्तक सम्पदा' सम्म आइपुगेको छ।

'मजलिस' पुग्यो अब– भन्लान् पाठकले पनि। क.दी. ले अरू क्यै देखेकै छैन कि क्या हो नेपालमा? पनि भन्न सक्छन्, दुई वर्षदेखि म त्यही मजलिसकै वरिपरि घुमिरहेको देख्दा। वास्तवमा कुरो के भने म आफैंसँग लेख्ने कुरा क्यै हुँदैनन् अनि सम्पादकज्यूहरूले जे जे आडर गर्छन् म त्यै त्यै पस्कने कोशिश गर्छु। तर यस पटक सम्पादकज्यूको क्यै खास आग्रह छैन, “नयाँ कुरो जे हुन्छ कोरिदिनोस् न” भन्नुभो उहाँले। त्यो 'जे हुन्छ' मेरा लागि पहाड फोरेको भन्दा पनि गाह्रो भयो! 'जे हुन्छ' मा के के हुन सक्छ कसैले विचार गरेको छ? त्यो 'जे' मा त विश्व ब्रह्माण्डै अटाउन सक्छ! म कुन विश्व खोज्न जाऊँ?

हिमाल मा प्रारम्भ भएको मेरो स्तम्भ 'सम्पदा' पछि 'दृश्य सम्पदा' बाट समाप्त भयो। त्यसै हुँदा सम्पदाको त्यो लहरो अझ् अरू अलिकता ताने कसो होला भन्ने लाग्यो मलाई। तर सम्पदाको ताँदो कतिसम्म तन्काउन सकिन्छ मलाई थाहा भएन। भौतिक संरचना र प्राकृतिक वस्तुहरू बाहेक जात, जाति र मानव संसाधनहरू सम्पदाको घेराभित्र पर्छन्

होला? संस्कृति नि? हाम्रा पुराना रीतिरिवाज र हराइसके जस्ता आचार–विचार पनि हाम्रा सम्पदा हुन् कि होइनन्– कसैले भनिदिए हुन्थ्यो। बर्खा सकिने ताका नेपाली महिलाहरूले मनाउने 'तीज' जस्तो चलन संसारमा अरू कतै छैन। त्यो हाम्रो सम्पदा हो कि होइन? त्यस बाहेक समाजमा चलेका तर अचेल 'नराम्रा' मानिने चालचलन पनि हाम्रा सम्पदा नै हुन् कि? अझ्, हालैसम्म पनि नहटिसकेको छुवाछूत र जातपात प्रथालाई के भन्ने? कुरो नराम्रो, अग्राह्य र अमानवीय नै हो। मान्नुपर्छ तर त्यो सबै अवास्तविक र अनैतिहासिक त होइनन् नि! भर्त्सना गर्नकै लागि भए पनि, तिनलाई सम्झ्े कसो होला? तिनको चर्चा गर्न त मिल्छ होला नि? हिमाल को आचारसंहिताले दिन्छ कि दिन्न? पाइने हो भने, पछि कुनै वेला म त्यस्तै कुराको एउटा स्तम्भ चलाउँला भन्नेमा छु।

त्यो नहुञ्जेल अर्को सोच आइरहेछ जेहेनमा। नेपाली भाषामा प्रकाशित किताबको संख्या मुश्किलले ५० हजार जति पुगे होलान्। ती पनि सबै एकाठाउँमा जम्मा भएका छैनन्। नेपाली किताबहरू सबभन्दा धेरै संकलित भएको भनेको मदन पुरस्कार पुस्तकालयमा हो। तर त्यहाँ पनि ऐलेसम्म ३६ हजार मात्र पुगेका छन्। त्यति नै हुन् भन्ने मानूँ ऐलेलाई। अब ती ३६ हजारमा (हामीले पढ्नै पर्ने नभने पनि) बिर्सनै नहुने दश या बीस ओटा कुन कुन होलान्? छान्न सकिन्छ? हुन त संस्कृतमा 'मुण्डे मुण्डे मतिर्भिन्ना' भन्छन्। अर्थात् जति टाउका उति नै किसिमका विचार हुन्छन् रे! भन्नाले एकमत कसैको हुन्न। एकै घरका दुई जनालाई सय–सय ओटा किताब छान्न दियो भने एकअर्काले छानेका १०० मा समेत एउटै पनि नमिल्न सक्छ भने दशौटामा एकमत कसरी होला? यो भड्खालो छ। भए पनि एक फेरा कोशिश गरिहेरूँ न भन्ने विचार आयो मनमा र मैले 'अभियान पुस्तक सम्पदा' भनी नयाँ जमर्को गर्ने विचार गरें। पैले मैले मनैमन यस प्रकारको एउटा छनोट–संहिता बनाएँ–

१. पुरानो हुँदैमा हुँदैन। २. त्यस पुस्तकले नेपाली समाजमा कुनै गहिरो छाप छाडेकै हुनुपर्छ। ३. त्यसले नेपाली भाषाको गरिमालाई कुनै न कुनै किसिमले बढाएको हुनुपर्छ। ४. त्यो किताब साहित्यिक नै हुनु जरूरी छैन र, ५. त्यो पुस्तक कसैले हेर्न या पढ्न खोज्यो भने अझ्ै पनि उपलब्ध हुनुपर्छ। बनाउन त बनाइयो यस्तो संहिता तर म आफैंलाई धुकचुक भैरहेछ मनमा– त्यस्तो खरीमा उत्रने दश बाह्र ओटा पुस्तक 'उधिन्न' कसरी सकिएला मपुपु–को 'थुप्रो' मा।

मेरो मनमा कुनै विचार फुर्न समेत नपाउँदै कविशिरोमणिले प्रयोग गरेका ती दुई अमर शब्दहरू कसरी भित्रिए मेरो यो लेखोटमा? म जिल्ल परेको छु। के यसले 'तेरो यो छनोटमा लेखनाथ पौड्यालको एउटासम्म ग्रन्थ त पर्नैपर्छ' भनेर सङ्केत गरेको त होइन? थाहा छैन। म साँच्चै अन्योलमा छु। त्यसै हुँदा म हाम्रो नेपाली जनअदालतमा अपील गर्दैछु यसै लेखद्वारा– मलाई मार्गदर्शन गराउनुहोस्। हामीले बिर्सनै नहुने बीस या पच्चीस नेपाली पुस्तक कुन कुन हुन्? लेखेर पठाउनोस्। कारण दिनु पर्दैन, केवल नाम तोकेर पठाइदिए पुग्छ। हिमाल कै इ–मेलमा आउन् ती सिफारिश। धेरै नाम आए भने हामी नै छोट्याउँला तिनलाई। एउटा जनमत संग्रह नै होला 'पुस्तक–छनोट'। यौटा नयाँ परम्परा थालियोस् न!

comments powered by Disqus

रमझम