६-१२ मंसीर २०७२ | 22-28 November 2015

पेरिस आक्रमणको बाछिटा

Share:
  
- शेखर खरेल
न्यूयोर्कदेखि पेरिससम्मका घटनाले सिकाएको पाठ भनेको आफ्नो स्वार्थसिद्धिका लागि अर्को मुलुकका आतंककारी क्रियाकलापलाई प्रश्रय दिनुहुन्न भन्ने हो।

पात्रोको ९/११ ले न्यूयोर्कको जुम्ल्याहा भवन माथिको अलकायदाको हवाईजहाज हमला, २६/११ ले लस्कर–ए–तोएवालगायतको मुम्बई आक्रमण बुझाए जस्तै १३/११ ले पेरिसमा इस्लामिक स्टेटको आतङ्ककारी हमला इङ्गित गर्नेछ। चरम अमानवीय यो आक्रमणबाट भव्य शहरमा सप्ताहान्तको आनन्द लिंदै गरेका १२९ निर्दोष सर्वसाधारणले ज्यान गुमाए। गत जनवरीमा इस्लामिक जिहादीले यसैगरी पेरिसमै शार्ली हेब्दो व्यंग्य पत्रिकाको कार्यालयमाथि सांघातिक धावा बोलेका थिए।

सन् २००८ को मुम्बई हमला झैं १३ नोभेम्बर रातिको इस्लामिक स्टेट अफ इराक एन्ड सिरिया (आईएसआईएस) आक्रमणमा मारिने सबै सर्वसाधारण छन्। आतङ्ककारीले सामरिक वा प्रशासनिक केन्द्र नभई सर्वसाधारणको रमाइलो तथा बसिबियाँलो स्थल कन्सर्ट हल, रेस्टुराँ, क्याफे र खेलमैदानलाई तारो बनाए। साधारण नरनारी आतङ्कित तुल्याएर राज्य विशेषको 'नूर गिराउने' वा नसिहत दिने यसखाले आततायी हमलामा कुनै पनि कुना, धर्म र जातिका मानिस पर्न सक्छन्। यसर्थ आईएसआईएसको आक्रमण फ्रान्सेली नागरिकउपर मात्र नभएर विश्व बन्धुत्वमाथिको हो।

अर्को अर्थमा यो मानव सभ्यता र पश्चिमा संस्कृति माथिको धावा पनि हो। पेरिस विश्वकै कला केन्द्र र विविध विचारको उर्वर थलो हो। उदार र ऊर्जाशील चरित्रकै कारण गैर फ्रान्सेली सर्जक ओस्कर वाइल्डदेखि अर्नेष्ट हेमिङ्ग्वे र पाब्लो पिकासोदेखि नेपालका लैनसिं बाङ्देलसम्मले पेरिसलाई नै कर्मथलो बनाएका थिए। कला र संस्कृतिको दोभानकै कारण सन् २०१४ मा करीब साढे आठ करोड पर्यटकले फ्रान्सको भ्रमण गरेका थिए, जुन संख्या देशको कुल जनसंख्या साढे ६ करोड भन्दा माथि थियो। दोस्रो विश्वयुद्धताका जर्मनका नाजीहरूले पेरिसका कलाकृतिमाथि नै हमला बोलेपछि ती सम्पदा जोगाउनै पनि फ्रान्सले नाजीको अधीनस्थ स्वीकार गरेको तर्क पनि गरिन्छ। अहिले पनि कतिपय फ्रान्सेलीहरू तत्कालीन जनरल शार्ल दे गालको यो निर्णयलाई एउटा राजनेताको दूरदृष्टि ठान्छन्। तर, जिहादीहरूको आततायी विरुद्ध यतिवेला फ्रान्स घाइते बाघ झैं उत्तरी सिरियाका आईएसआईएस अखडाहरूमा बम वर्षा गरिरहेको छ। तर, मुस्लिम समुदायको उल्लेख्य जनसंख्या (करीब १० प्रतिशत), आप्रवासीको ओइरो र बढ्दो उग्रपन्थी गतिविधिका कारण फ्रान्सका लागि आउँदा दिन थप चुनौतीपूर्ण हुने निश्चित छ।

भस्मासुरलाई आशीर्वाद!

दक्षिण एशियाली मुलुकमध्ये सौभाग्यवशः नेपाल चाहिं यस्ता धार्मिक आतङ्ककारीको तारोमा छैन। तथापि, नेपालको भूमि प्रयोग गर्दै आतङ्कवादका अनेकौं रणनीति बनेका रहस्यमयी खबरले वेलावेला चर्चा पाउँछ। २४ डिसेम्बर १९९९ मा काठमाडौंबाट नयाँदिल्लीका लागि उडेको इन्डियन एअरलाइन्स (आईसी ८१४) लाई इस्लामिक उग्रपन्थी हर्कत–उल–मुजाहिद्दिनले अपहरण गरेर अफगानिस्तानको कान्दाहारमा अवतरण गराएका थिए। सन् १९९३ को श्रृंखलाबद्ध मुम्बई बम विस्फोटन घटनाको एउटा धागो नेपालसम्म जोडिएको अनुसन्धानले देखाएका छन्। नेपाल–भारत बीचको खुला सीमा र राजनीतिक संक्रमणका कारण नेपालमा समेत इस्लामिक उग्रपन्थीको चलखेल हुने गरेको सुरक्षाविद्हरूको तर्क छ। यसलाई भारतले पनि महत्वपूर्ण सुरक्षा चासोका रूपमा लिएको छ।

प्रारम्भिक अनुसन्धानले पेरिस आक्रमणको योजना बेल्जियममा बुनिएको खुलेको छ। एक देशमाथि हमलाको योजना अर्को देशमा बुनिन्छ र कुनै तेस्रो देशका नागरिक मारिन सक्छन्। त्यसैले आतङ्कवादसँग जुध्न विश्वकै सामूहिक प्रयास जरूरी छ। पछिल्ला आतंककारी घटनाले सिकाएको पाठ चाहिं, एक मुलुकले अर्को मुलुकमा वैमनस्य साध्न त्यहाँको आतङ्ककारी क्रियाकलापलाई प्रश्रय दिनुहुँदैन भन्ने हो। भस्मासुरका दृष्टान्त हाम्रा पौराणिक शास्त्रका कथा मात्र होइनन्। आधुनिक विश्वमा विन लादेन र सद्दाम हुसेन जस्ता भस्मासुर जन्माउने अमेरिका स्वयंले कालान्तरमा कति पीडा सहनु परिरहेको छ? यसको हेक्का सबैलाई हुनुपर्छ।

पाकिस्तानी घुसपैठियाका कारण भारतमा आतङ्कवाद बढेको डंका पिट्ने भारतले नाकाबन्दी कस्न नेपालका आन्दोलनकारीलाई भरथेग गरेको मात्र होइन, भारतीय भूमिबाटै सुरक्षाकर्मीमाथि पेट्रोल बम र गुलेली हान्न प्रश्रय दिएका खबर सुनिएका छन्। यी आरोप सत्य हुन् भने उसलाई थाहा हुनुपर्छ, सुरक्षामा दोहोरो मापदण्ड अपनाउनु भनेको नयाँ–नयाँ भस्मासुरलाई जन्म दिनु हो।

comments powered by Disqus

रमझम