६-१२ मंसीर २०७२ | 22-28 November 2015

मिसन हाराहाङ

Share:
  
लिम्बूवानको नाममा लूटपाट मच्चाउँदै आएको हाराहाङ समूह विरुद्ध प्रहरीले विशेष अभियान थालेको छ।

लक्ष्मी गौतम
ताप्लेजुङबाट पक्राउ परेका हाराहाङ समूहका कार्यकर्ता, तिनको साथबाट बरामद हतियार र सामग्री।
१७ कात्तिक साँझ् ताप्लेजुङको विकट सान्थाक्रा–६ मा गस्तीमा हिंडेका प्रहरीमाथि एक्कासी फायरिङ भयो। जोखिम अनुमान गरेको प्रहरीले तत्काल जवाफी कारबाही गर्‍यो। भिडन्तमा खेजेनिम–३ का समिर लिम्बू (२५) मारिए। दुई जना प्रहरी घाइते भए।

प्रहरीमाथि नै आक्रमणको दुस्साहस गर्ने अरू कोही नभएर स्वतन्त्र लिम्बूवानको राजनीतिक मागको आवरणमा आतंक मच्चाइरहेको हाराहाङ समूह थियो। देउमान लिम्बू (हाराहाङ) नेतृत्वको यो समूहले पूर्वका ताप्लेजुङ, पाँचथर, इलाम र झापा जिल्लामा राजनीतिको आवरणमा आतंक मच्चाउँदै आएको छ।

पुस २०७१ मा गठित यो समूहले सदरमुकाम फुङलिङबाट दुई दिनको पैदलयात्रामा पुगिने ताप्लेजुङका हिमाली गाउँलाई आधार क्षेत्र बनाई व्यापारी, निर्माण व्यवसायी, सर्वसाधारण र सरकारी कर्मचारीलाई आतंकित पार्दै लूटपाटमा संलग्न छ।

प्रहरीले हाराहाङ समूहलाई सर्वाधिक खोजी गरिएको (मोस्ट वान्टेड) सूचीमा राखेको छ। यो समूहले किराँत लिम्बूवान राष्ट्रिय परिषद्, लिम्बूवान क्रान्तिकारी पार्टी, लिम्बूवान भूमि मुक्ति राष्ट्रिय पार्टी नेपाल जस्ता विभिन्न नाममा विध्वंसमा सक्रिय भएको प्रहरीको दाबी छ।

“अलैंची खेती गर्नेहरूसँग जबर्जस्ती रु.१ लाखदेखि रु.२५ लाखसम्म उठाउने र वर्षभरि आपराधिक गतिविधि सञ्चालन गरिरहेको प्रमाण फेला पारेका छौं”, ताप्लेजुङका डीएसपी शान्तिराज कोइराला भन्छन्।

सान्थाक्रा भिडन्तको पाँच दिनपछि प्रहरीले सुनसरीको इटहरीबाट पार्टीका उपाध्यक्ष शिव रानामगर (३०) लाई पक्राउ गर्‍यो। पूर्व माओवादी लडाकू समेत रहेका उनी सान्थाक्रा भिडन्तमा पनि सहभागी थिए। इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी ओमप्रकाश अधिकारीका अनुसार उनी विस्फोटक पदार्थ, बम तथा हातहतियार र खरखजाना मुद्दाका फरार अभियुक्तको सूचीमा थिए।

२९ असोजमा जिल्लाकै इखावु–४ स्थित गोठमा छापा मार्दा प्रहरीले समूहकी सदस्य मनकुमारी चोङवाङ (२३) लाई पक्राउ गर्‍यो। उनको साथबाट चार वटा भरुवा बन्दूक, दुई वटा पेस्तोल, पाइप बम, पार्टीको परिचयपत्र, दस्तावेज र झ्ण्डा बरामद गरेको थियो। प्रहरी आएको थाहा पाएपछि अन्य ६ जना भने फायरिङ गर्दै भागेका थिए।

डीएसपी कोइराला हाराहाङ समूहको आतंक समाप्त पार्न प्रहरीले विशेष अभियान नै थालेको बताउँछन्। जिल्लामा ५० युवा यो समूहमा सहभागी भएको पाइएको र अधिकांशको पहिचान खुलिसकेको उनी बताउँछन्। “अभियानमा प्रभावित सबै जिल्लाका प्रहरीको समूह बनाई गाउँगाउँ खटाइएको छ”, पाँचथरका डीएसपी कृष्णकुमार कोइराला भन्छन्।

हाराहाङ समूहका नाइके देउमान लिम्बू।

यी हुन् हाराहाङ

लिम्बू भाषामा हाराको अर्थ छिटो र हाङको अर्थ राजा हो। इखाबु, ताप्लेजुङका देउमान लिम्बूले यही अर्थबाट प्रेरित भई आफ्नो उपनाम हाराहाङ राखेका हुन्। प्रहरीका अनुसार २०६५ सालसम्म उनी नेपाली कांग्रेस समर्थक थिए। त्यसपछि भने उनी सञ्जुहाङ पालुङ्वा नेतृत्वको लिम्बूवान राज्य परिषद्को जिल्ला सदस्य चुनिए। पार्टी नीति विपरीत हतियार देखाई चन्दा असुल्ने काममा सक्रिय उनी मिसेकहाङ थाम्सुहाङ नेतृत्वको लिम्बूवान क्रान्तिकारी पार्टीमा प्रवेश गरे। तर, त्यहाँ पनि उनको मन अडिएन। उनी जिल्लाकै मनिष हेल्लोक अध्यक्ष रहेको बहुल समाजवादी राष्ट्रिय पार्टीको जिल्ला उपाध्यक्ष बने। गत वर्षको भदौमा रु.३ करोड फिरौती माग्दै पाँचथरस्थित काबेली करिडोरका तीन कर्मचारीलाई अपहरणको आरोपमा हेल्लोक पक्राउ परेपछि पुसमा लिम्बूले 'हाराहाङ' नामको छुट्टै समूह गठन गरेका थिए।

उनी विरुद्ध जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको प्रवेशद्वार नजिकै बम विस्फोट, इलाका प्रहरी कार्यालय, दमक अगाडि प्रेसर कुकर बम राख्नेसँगै ज्यान मार्ने उद्योग, किर्ते नागरिकता, चोरी–डकैतीका ११ वटा मुद्दा चलिरहेका छन्। प्रहरीका अनुसार, १० कक्षासम्म पढेका उनले विश्वम्भर लिम्बूका नाममा पनि नागरिकता बनाएका छन्। उनले आफूलाई किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको अनुयायी समेत बताउने गरेका छन्।

लक्ष्मी गौतम, पाँचथर

comments powered by Disqus

रमझम