इतिहास लेखनमा पुरातात्विक अध्ययनको ठूलो महत्व हुने भएकोले काठमाडौं उपत्यकाको उत्खनन् अत्यावश्यक छ। काठमाडौंको इतिहास खोतल्दा हामी मुश्किलले दुई हजार वर्षसम्म पछाडि जान सक्छौं। त्यस अवधिका पनि कतिपय कुराहरू पुरातात्विक अध्ययनको अभावमा अपुष्ट छन्। घना बसोबास क्षेत्रमा पुरातात्विक अध्ययन कठिन र खर्चिलो हुन्छ। १२ वैशाखको महाभूकम्पले तहसनहस बनाएका स्थानहरूको पुनःनिर्माण अगाडि पुरातात्विक अध्ययन गरेर इतिहासका अस्पष्ट पाटा खुलाउने राम्रो अवसर दिएको थियो, तर त्यो अपेक्षा अधुरै रहने देखिएको छ।
भुईंचालोले काठमाडौं उपत्यकाका थुप्रै मन्दिरलाई भग्नावशेष बनाइदिएको छ। तिनको पुरातात्विक अध्ययन गर्न सक्दा इतिहासका अनेकौं आयाम खुल्ने मात्र नभई, भोलिको निर्माण–पुनःनिर्माणमा पनि सघाउ पुग्नेथियो। यद्यपि, भुईंचालोको वेला उद्धार गर्ने र मृतकको शव झिक्ने क्रममा पुरातत्व सम्बद्ध विशेषज्ञहरूको उपस्थिति नहुँदा धेरै कुरा नोक्सान भएका छन्। शव खोज्न बुल्डोजर प्रयोग गरेर काष्ठमण्डपको जगसमेत भत्काइयो।
पुरातत्व विभाग र डर्ह्याम विश्वविद्यालयको संयुक्त विशेषज्ञ टोलीले काठमाडौं, पाटन र भक्तपुरका प्राचीन दरबार क्षेत्रमा उत्खनन् गरेर उपत्यकाको सांस्कृतिक विकास क्रम (स्टाट्राग्राफी) अध्ययन गर्ने क्रममा भएको काष्ठमण्डपको अध्ययनले कतिपय भ्रमहरू हटाएको छ। काष्ठमण्डपको जगभित्रको संरचनाले कुनै वेला त्यहाँ बौद्ध विहार र पोखरी थियो भन्ने भनाइलाई पुष्टि गरेन। त्यहाँ पाइएको भित्री र बाहिरी दुई वेग्लावेग्लै जगका गाराहरूले जग हालेर वास्तु संरचना निर्माण गरिसकेपछि पनि समय–समयमा थप गतिविधि भएको बुझाएको छ।
काष्ठमण्डपको जगभित्र प्रयोग भएका मध्यकालीन ईंटाहरूमुनि मानवीय गतिविधि नभएको माटो (भर्जिन स्वाइल) पाइएकाले त्यहाँ थप उत्खनन्को आवश्यक पनि रहेन। अन्तिम निष्कर्षमा पुग्नलाई चाहिं त्यहाँबाट संकलित माटो, बालुवा र अन्य सामग्रीहरूको प्रयोगशाला परीक्षण प्रतिवेदन पर्खनुपर्नेछ। उता, पाटन दरबार क्षेत्रको अध्ययनबाट उल्लेख्य कुरा प्रकाशमा नआए पनि भक्तपुरमा महत्वपूर्ण उपलब्धि हात लागेको छ। भक्तपुर दरबार परिसरको वत्सलादेवी मन्दिर अगाडिको उत्खनन्मा पाइएका पुरातात्विक वस्तुहरूले कुनै वेला त्यहाँ भवन वा मन्दिरहरू थिए भन्ने जनाउ दिएका छन्। ती संरचना फरक–फरक समयका भएको अनुमान छ। अहिले खुल्ला रहेको त्यस क्षेत्रको जमीनमुनि त्यस्तो संरचना भेटिनु आफैंमा जिज्ञासापूर्ण र इतिहासका दृष्टिले उपलब्धिमूलक कुरा हो।
काठमाडौं उपत्यकाको विकास कसरी भयो? यहाँको मौलिकता के हो? कहाँको प्रभाव कसरी पर्यो? अन्यत्रका प्रभावलाई उपत्यकाले कसरी आफ्नो मौलिकतामा ढालेर विकास गर्यो? भन्ने जस्ता प्रश्नहरूको जवाफ विस्तृत पुरातात्विक अध्ययनबाट मात्र संभव हुन्छ। त्यस्तो अध्ययनले उपत्यकाको मात्र नभई भारत, चीन र पश्चिम क्षेत्रका इतिहासलाई पनि उद्घाटित गर्नेछ।
पुरातात्विक उत्खनन्मा प्राप्त हुने अवशेषसँग सरोकार राख्ने जनसमुदाय प्रायः इतिहासको गर्तमा विलय भइसकेको पाइन्छ, तर काठमाडौं उपत्यका भने यसमा अपवादको रूपमा रहेको छ। इतिहासको जुनसुकै कालखण्डको गतिविधि किन नहोस्, त्यो समयको जनसमुदाय कुनै न कुनै रूपमा यहाँको नेवार समाजभित्र समाहित भएर आएको छ। तिनीहरूमाथिको अध्ययनले रोचक इतिहासलाई प्रकाशमा ल्याउनेमा शंका छैन। यस अर्थमा, काठमाडौं उपत्यका दक्षिणएशियाकै सभ्यताको केन्द्र मानिने प्रबल संभावना छ।
यद्यपि, हाम्रो जाँगर र आँट त्यो संभावना सुहाउँदो छैन। जस्तो, हनुमानढोका दरबार क्षेत्रको माजुदेवल अगाडि उत्खनन् गर्ने योजनालाई 'व्यावहारिक कठिनाइ' भन्दै स्थगन गरियो, जबकि त्यस क्षेत्रको आवतजावत व्यवस्थापन गर्न नसकिने कुरा थिएन। त्यसरी सानो आकारको उत्खनन् पनि स्थगन हुनुले विस्तृत उत्खनन्हरूलाई प्रोत्साहित गर्दैन। अध्ययन नै हुन नसकेपछि पुनःनिर्माण गर्न हुने र नहुने पुरातात्विक क्षेत्रहरूको निर्क्योल पनि भएन। भूकम्पले दिएको पुरातात्विक अध्ययनको अवसर त्यसै खेर जाने देखिएको छ।