बुटवलका शालिकराम पौडेल गुल्मीस्थित घर जान पेट्रोल खोज्दै भैरहवासम्म पुगे। बल्लतल्ल प्रतिलीटर रु.३०० का दरले तेल किने। तर, फर्किएर बुटवल नपुग्दै बाटैमा मोटरसाइकल चल्न छाड्यो। वर्कशपमा मिस्त्रीले तेल झिकेर देखाउँदा पो उनी छक्क परे। पेट्रोल भनिएकोमा आधा त जीवनजलको झोल रहेछ।
भारतको नाकाबन्दीका कारण इन्धन हाहाकारले थुप्रैले यस्तो नियति भोगिरहेका छन्। तर, रूपन्देही, कपिलवस्तु, नवलपरासीलगायत जिल्लाका सीमावर्ती गाउँहरूमा इन्धनको तस्करी छ्यापछ्याप्ती छ। चियापसलदेखि रेस्टुरेन्टसम्म मिनरल वाटर, पेय पदार्थका बोतल र जर्किनहरूमा खुलेआम इन्धन बेच्न राखिएको देखिन्छ।
नेपाल अटो मेकानिक्स युनियन, रूपन्देहीका अध्यक्ष राकेश गुरुङका अनुसार यतिवेला वर्कशपमा आउने करीब ८० प्रतिशत मोटरसाइकलको समस्या नै मिसावट तेल हो। जसले इञ्जिन थला पर्छ।
मिसावट गरिएको पेट्रोल हाल्न बाध्य श्रृंगा, गुल्मीका गणेश कँडेलसँग दुःख मनाउनु बाहेक अर्को उपाय छैन। “खराब पेट्रोलकै कारण रु.२ लाखको बाइक खत्तम भयो”, उनी भन्छन्। बुटवलस्थित रामकृष्ण मोटरसाइकल वर्कशपका मेकानिक्स ओमबहादुर घर्ती मिसावट तेलका कारण मोटरसाइकलको आयु ६० प्रतिशतसम्म घट्ने बताउँछन्।
पेट्रोल र डिजलमा जीवनजलको झोल, तारपिन, तर्पेन्टाइन तेल, मट्टीतेल, पानीलगायत मिसाउने गरिन्छ। तेल मिसावटको असर डिजलबाट चल्ने गाडीमा पनि उत्तिकै छ। पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेल मिसावट तेलका कारण थुप्रै बसका इञ्जिनमा समस्या देखिएको बताउँछन्। “क्षतिको पूरै विवरण संकलन गर्न बाँकी छ” खरेल भन्छन्, “अहिलेसम्म संघका चार वटा बसका पम्प सिज भइसकेका छन्।”
सीमाका नेपाली र भारतीय युवा यसखाले इन्धनको कालोबजारीमा सक्रिय छन्। कपिलवस्तुका स्थानीय राधेश्याम मौर्य जर्किन र बोतलमा भारतबाट आउने तेलमा उतै मिसावट हुने गरेको बताउँछन्। “यता आएपछि नेपालीले थप मिसावट गर्छन्”, उनी भन्छन्। यस्तो इन्धन महँगोमा गुल्मी, अर्घाखाँची, स्याङ्जा, पाल्पालगायतका पहाडी जिल्लाहरूसम्म पुग्दछ।
अचम्म चाहिं, मिसावट तेलको अनधिकृत व्यापारको पत्तो पाएर पनि स्थानीय प्रशासन आँखा चिम्लिरहेको छ। रूपन्देहीको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष नर्बू लामा संकटका वेला मिसावट तेल बेच्नेहरूलाई कडा कारबाही गर्नुपर्ने बताउँछन्।
दीपक ज्ञवाली, बुटवल