६-१२ मंसीर २०७२ | 22-28 November 2015

बहुलवाद उन्नतिको पूर्वाधार

Share:
  
- सरला गौतम
अमर्त्य सेनले आफ्नो पछिल्लो पुस्तक 'दी कन्ट्री अफ फर्स्ट ब्वाइज' मा बहुलवादी समाजको सौन्दर्य र एकलवादको कुरुपता प्रस्तुत गरेका छन्।

बिक्रम राइ
गत वर्ष माघीको अवसरमा काठमाडौं, टुँडिखेलमा सांस्कृतिक झाँकी प्रस्तुत गर्दै थारू युवती।
नोबेल पुरस्कार विजेता अर्थशास्त्री अमर्त्य सेनको मूलतः सांस्कृतिक निबन्धहरूको सँगालो 'दी कन्ट्री अफ फर्स्ट ब्वाइज' मा बहुलवादी समाजको विशेषताहरूको व्याख्या छ। बहुलताले समाजलाई कसरी उन्नतितिर लैजान्छ भनी बताउने यो पुस्तक अधिकारको नाममा एकल सोच हावी हँुदै गएको नेपाली र भारतीय समाजको लागि निकै सान्दर्भिक छ। भारतीय जनता पार्टी (भाजपा) को सरकारले भारतमा गैर–हिन्दूहरूमाथि थालेको ज्यादती होस् या नेपालमा देखिन थालेको अरूको हक–अधिकारप्रतिको असहिष्णुता; सेनका तर्कहरू धेरै महत्वपूर्ण छन्।

सेन लेख्छन्– 'हरेक मानिसले बहुआयामिक परिचय बोकेको हुन्छ, तर ऐतिहासिक रूपमै देखिएको फितलोपन के भने उसलाई कुनै एउटा धार्मिक–सांस्कृतिक समूहको नजरले हेरिन्छ। यो गल्तीबाट राजनीतिक बर्बादी र नैतिक महाभूल हुन पुग्छ। जात, धर्म, वर्ण, राष्ट्रियता आदि नामको एकांकी परिचय नै अहिलेको संसारमा हिंसाको कारक बनेको छ।' जस्तो, संसारको ठूलो प्रजातन्त्रको रूपमा चिनिने धर्मनिरपेक्ष राष्ट्र भारतमा पछिल्लो समय हिन्दू बाहेकका सम्प्रदायमाथि विविध खाले हिंसा बढेको छ। छुवाछूतको विरोध गर्ने दलित युवकको अपहरण होस् वा गाईको मासु खाएको भन्ने हल्लाको भरमा गरिएको मुसलमान युवाको हत्या, हिन्दुत्वको एकल विचारले प्रश्रय पाउँदा भारतभरका गैर–हिन्दूहरूले असुरक्षित महसूस गरिरहेका छन्।

३ नोभेम्बरमा भारतीय अंग्रेजी दैनिक 'दी हिन्दू' मा विख्यात वैज्ञानिक पुष्प एम. भार्गवले पनि 'सांस्कृतिक दमनको नीति लिएको भाजपा सरकारले के खाने, के लाउने, के पढ्ने, कसरी प्रेम गर्ने जस्ता वैयक्तिक कुरामा पनि हस्तक्षेप गरेको' लेखेका थिए। यी प्रबुद्ध रसायनशास्त्रीले सरकारले असहिष्णु भाव प्रोत्साहन गरेको भन्दै गत महीना पद्मभूषण सम्मान नै फिर्ता गरेका थिए। भारतमा भाजपाको उदयको असर नेपालमा पनि परेको छ। नरेन्द्र मोदी सरकारको नाकाबन्दी त नेपालको दुःख र अवनतिको कारक नै बनेको छ। संकीर्ण नेतृत्व छिमेकीको लागि पनि प्रत्युत्पादक हुन्छ भन्ने यसले देखाएको छ। धार्मिक संकीर्णताबारे अर्थशास्त्री सेन लेख्छन्– 'परिचय गहन कुरा हो, तर वर्गीकरण सस्तो। आफ्नो समुदायको परिचयमा गर्व गर्नु जायज भए पनि त्यसको आधारमा अरूप्रति घृणा गर्नु निकै सस्तो तरीका हो।”

नेपाल र भारतको बहुलवाद

२०६४ को मधेश आन्दोलनताका साम्प्रदायिकताले प्रश्रय पाउँदा जनकपुरबाट पहाडीहरू पलायन भए। त्यसको सीधा असर जनकपुरे समाजको सांस्कृतिक सद्भाव र सुन्दरतामा मात्र होइन, अर्थतन्त्रमा पनि पर्‍यो। मधेशी राजनीतिक नेतृत्वले आफ्नो थातथलोबाट दुःखी हुँदै पलायन भएका पहाडी समुदायको पीडालाई सम्बोधन गर्न सकेन। परिणाम, एउटा समूहको भागमा पीडा र अर्कोकोमा ग्लानि पर्‍यो, भाइचारा कमजोर भयो।

पहिचानको हतियार विग्रह फैलाउन जति सजिलो छ, उति नै घातक पनि। तर, संसारका जुनसुकै समाजमा घृणाका वक्ताहरू हुन्छन्, जो विग्रह फैलाइरहन्छन्। उनीहरूले पहिचानको मुद्दालाई हतियार बनाएका हुन्छन्। केही महीनाअघि कैलालीको टीकापुरमा पहिचानको मुद्दाले मानिसहरूलाई जिउँदै जलायो, नाबालकलाई समेत छाडेन। यसले अधिकारको लागि लडिरहेको समुदायको भने नूर गिरायो। पीडितहरू झ्न् पीडित–कलंकित बने। पहिचानको लडार्इं यति खतरनाक छ कि जसमा फाइदा तिनले मात्र उठाउँछन्, जो फुटाउन, लडाउन र आधिपत्य जमाउन लागिपरेका हुन्छन्।

सेनले सामाजिक–राजनीति मुद्दाहरू एकल परिचयको सेरोफेरोमा घुम्दा प्रगतिको बाधक बन्न पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार, आफ्नो समुदाय र संस्कृतिप्रतिको लगाव प्राकृतिक कुरा भए पनि त्यसकै आधारमा अर्को समुदायप्रति घृणा फैलाउनु निन्दनीय हुन्छ। नेपालमै पनि मधेश आन्दोलनताका राजनीतिक नेतृत्वले समाजको बहुलवादी विशेषता बिर्संदा आएको परिणामले पाठ पढाएको छ। सामाजिक चरित्र–विशेषता विपरीतका आजका आन्दोलनहरूमा जारी क्रियाकलापहरू पनि अवनतिकै कारक बन्नेछन्।

परिचयको राजनीतिमध्ये सबभन्दा डरलाग्दो धार्मिक आस्थाको लडार्इं भारतले बेहोर्‍यो र थेग्न नसकेर विभाजित भयो। भारत जस्तै विविधता भएको नेपालले पनि एकल परिचयको लडाईं थेग्न सक्ने छैन। यो कारण पनि एकअर्काको अस्तित्व, सोच र तर्कलाई स्वीकार गर्ने सहिष्णुता जरूरी छ। एउटै नेपालीले कर्णालीवासी, महिला, दलित, इसाइ, मानवअधिकारकर्मी, मधेश आन्दोलन समर्थक आदि अनेकौं परिचय बोकेको हुन सक्छ। यीमध्ये कुनै एक परिचयको आधारमा विभाजन निम्त्याउनु विल्कुलै निरर्थक हुन्छ। सेनले त्यही भनेका छन्।

उनले दुई वर्षअघिको भारत देखाएका छन्, जुन वेला शिख प्रधानमन्त्री, इसाइ मुलुकमा जन्मे/हुर्केकी नेतृ प्रमुख सत्ताधारी पार्टीको अध्यक्ष र मुसलमान राष्ट्रपति थिए। अहिलेको भारतमा त्यो चित्र मेटिएको छ र हिन्दुत्वको हुकारले अरू महत्वपूर्ण मुद्दाहरूलाई 'खोलाको गीत' बनाइदिएको छ। सेनका अनुसार, हिन्दू अतिवाद बढ्दा भारतका सामाजिक, आर्थिक, शैक्षिक मुद्दाहरू कमजोर भएका छन्। उनी लेख्छन्– 'संसार देशहरूको मात्र नभई मानिसको पनि सँगालो हो। मानिसबीचको सीमाविहीन सम्बन्धलाई देशको नीति–कानूनले संकुचित पारिराख्नुपर्छ भन्ने छैन।'

नेपाली र भारतीयबीचको सम्बन्धबारे गहन अध्ययन भएको छैन। जे–जति चर्चा हुन्छ, त्यो देशभन्दा माथि मानवताको आधारमा भएको देखिन्छ। मोदी सरकारले नेपालमाथि लगाएको नाकाबन्दीको भारतीय कूटनीतिक, बौद्धिक र राजनीतिक वृत्तमा जे–जति विरोध भए, ती बहुलवाद पक्षधरहरूबाटै भएको छ। समाजको उन्नतिको लागि बहुलवाद अपरिहार्य भएको निष्कर्ष निकालेका सेनका अनुसार, मानव परिचयलाई 'सोलिटारिस्ट अप्रोच' बाट हेर्नु अहिलेको संसारको मूल समस्या हो।

भारत र दक्षिणएशिया

भार्गवले 'दी हिन्दू' मा मोदी सरकारले सबै कुरा आफ्नो इच्छाअनुसार चलाउन खोजेर लोकतन्त्रको मर्ममै प्रहार गरेको लेखेका थिए। तर, भारतको बहुआयामिक समाजको विशेषता हरेक वर्ष घर–घरका भित्तामा टाँसिने नयाँ क्यालेन्डरले नै देखाइरहेको सेनको विश्लेषण छ। नेपालमा पनि हुबहु मिल्ने सन्दर्भ हो, यो।

सेनका अनुसार, सभ्यताको क्रममा सबैथरी धर्म–संस्कृतिले समाजमा योगदान नै गरेका हुन्छन्। बहुलताप्रतिको यो विश्वास उनले पटक–पटक दोहोर्‍याएका छन्। 'द पर्सनल एण्ड सोसल' शीर्षकको निबन्धबाट शुरू हुने किताबले संस्कृत–गणित अन्तरसम्बन्धदेखि लोकतन्त्र, नीति, न्याय, शिक्षासम्मका विषयलाई मसिनो गरी केलाएको छ। विधिको शासन र प्रणालीले मात्र लोकतन्त्र पूर्ण नहुने बताउने सेन न्यायमा जोड दिन्छन्। उनका अनुसार, न्याय समग्र हो भने नीति त्यसको अंश मात्र। समाजका हरेक व्यक्तिले जीवनको आधारभूत आवश्यकता पुगेको तथा स्वतन्त्र, सुरक्षित र सम्मानित भएको महसूस गरेको न्यायको अवस्था हो। नीतिले संस्थागत कुरामा जोड दिन्छ भने न्यायले व्यक्तिको समग्र अवस्थामा।

लोकतन्त्रमा बहुमतको शासन हुन्छ, तर समाजमा अल्पमतका मानिसहरू बढी समस्यामा हुन्छन्। अल्पमतको पहिचान रक्षा र उन्नतिको सुनिश्चितता लोकतन्त्रको दायित्व हुन्छ। लोकतान्त्रिक सरकारहरू अल्पसंख्यकको समस्यामा कसैले आफ्नो स्वार्थ भजाउन नपाओस् भनेर चनाखो रहनुपर्छ भन्नेमा सेनको जोड छ। एउटा मान्छेले अक्षर चिन्न नपाउनु, गन्ती गर्न नसक्नु र संवादका लागि सक्षम नहुनुलाई अन्याय मान्ने उनले शिक्षा र अर्थतन्त्रबीच सीधा सम्बन्ध देखाएका छन्।

समाजलाई न्यायपूर्ण बनाउने उपायहरू सुझाएको यो पुस्तकले दक्षिणएशियाकै यथार्थ बुझाउँछ। उनको विश्लेषणमा, भारतको केरला राज्यमा गतिलो शिक्षा प्रणाली भएकै कारण प्रतिव्यक्ति आय राम्रो छ। शीर्ष निबन्ध 'दी कन्ट्री अफ फर्स्ट ब्वाइज' मा उनले देशलाई सबै सुविधा पाएर पहिलो भएका केटाहरूको नजरबाट मात्र नभई सबै अवसरबाट वञ्चित केटीहरूको आँखाले पनि हेरिनुपर्छ भनेका छन्।

comments powered by Disqus

रमझम