६-१२ मंसीर २०७२ | 22-28 November 2015

बिजुलीको बचत

Share:
  
अहिलेभन्दा खराब दिन भोग्नु नपरोस् भन्ने हो भने विद्युत्को किफायती प्रयोग गर्नुको विकल्प छैन।

जाडोसँगै विद्युतीय हीटर, कित्ली, पानी तताउने रडलगायत बिजुली खपत हुने सामग्रीको प्रयोग शुरु भएको छ। शरीरमा न्यानोपनका लागि यी सामग्री नभई नहुने भइसकेका छन्। एकैसाथ बेहोर्नु परेको नाकाबन्दी र जाडोले विद्युत्को प्रयोग ह्वात्तै बढाएको छ। इन्धन र खाना पकाउने ग्याँसको अभावमा खाना पकाउन समेत बिजुली नै प्रयोग गर्नेहरू बढेका छन्।

लोडसेडिङले हैरान नेपालीले घरका अन्य काममा पनि बिजुलीको भर पर्नु पर्दा विद्युतीय भार बढ्ने नेपाल विद्युत् प्राधिकरण, भारप्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्री बताउँछन्। “संकटका वेला सबैले किफायती तरीकाले विद्युत्को प्रयोग गर्नुपर्छ”, उनी भन्छन्, “हाम्रो सानो प्रयासले ठूलो खड्गो पार लाग्न सक्छ।”

सानो प्रयास, ठूलो लाभ

ग्याँस र इन्धन नपाएपछि खाना पकाउनका लागि दाउरा बाल्नेदेखि हीटर, ब्रिकेट, इन्डक्सन चूलो, हट प्यान आदिको विकल्प अपनाउन थालिएको छ। भारप्रेषण केन्द्रका केसी माटो र फलामका प्लेट भएका हीटरभन्दा महँगै भए पनि इन्डक्सन चूलो प्रयोग गर्ने सल्लाह दिन्छन्। “विद्युत् खपतका हिसाबले इन्डक्सन चूलो राम्रो हुन्छ”, उनी भन्छन्।

विद्युतीय चाप बढी हुने बिहान र बेलुका आइरन लगाउने, पानी तान्न मोटर नचलाउने गर्दा पनि ऊर्जा बचतमा सहयोग पुग्छ। प्रयोग नगरिएका वेला टीभी, रेडियो, डीभीडी जस्ता मनोरञ्जनका साधनको स्वीच अफ गर्नुपर्छ। कतिपयले 'स्ट्यान्ड बाई' मोडमा ओपन राख्ने गरेका छन्। तर, यसले पनि बिजुली खेर जान्छ। मोबाइल, ल्यापटप आदिका चार्जरलाई चार्ज गरिसकेपछि प्लगबाट निकाल्न भुल्नुहुँदैन। तारहरू चुँडिएर विद्युत् चुहावट भएको हुन सक्छ। वेला–वेलामा जाँचिरहनुपर्छ।

जाडोबाट राहत पाउन हीटर बालेर बस्नुभन्दा न्यानो/तातो कपडा लगाउनुपर्छ। खाना तताएपछि ओभन केहीबेर खुल्लै राख्दा पनि भान्सा न्यानो हुन्छ। ओभनमा सकेसम्म एकैचोटि विभिन्न परिकार तताउँदा बिजुलीको बचत हुन्छ। कतिपयले 'ड्रायर' ले कपाल मात्र होइन, लुगा, भाँडाकुँडा पनि सुकाउने गरेको देखिन्छ। विद्युत् संकटका वेला यसो गर्नु आफ्नो मात्रै हित सोच्नु जस्तै हो।

प्राधिकरणका प्रबन्ध निर्देशक मुकेशराज काफ्लेका अनुसार काठमाडौं उपत्यकामा मात्र कुल उपलब्ध विद्युत्को ४० प्रतिशत विद्युतीय ऊर्जा खपत हुने गरेको छ। त्यसैले राजधानीमा मात्रै पनि विद्युत् खपतमा सचेत हुने हो भने धेरै ऊर्जा बचत हुन्छ। “यसका लागि अत्यावश्यक सामग्री मात्रै प्रयोग गर्ने बानी बसाल्नुपर्छ”, काफ्ले भन्छन्, “फिलामेन्टको सट्टा सीएफएल, एलईडी बल्ब लगाउने, काम सकिएपछि स्वीच अफ गर्ने जस्ता सामान्य कुरामा ध्यान दिएमा उल्लेख्य खपत घटाउन सकिन्छ।”

सजना बराल

comments powered by Disqus

रमझम