६-१२ मंसीर २०७२ | 22-28 November 2015

मूल–प्रवाहको चालामाला

Share:
  
- बुलु मुकारुङ
समकालीन नेपाली नाटकसँग संगीतको मूल–प्रवाह भनिने जमात अञ्जान देखिन्छ।

सान्दाजुको महाभारत।
हिजो पश्चिमा संसारले नाटकमा संगीतको भव्य प्रयोग गर्दा दर्शकमा नाटकको प्रभावसँगै संगीतकारको पेशा–आजीविका समेत बढ्यो। नाटक र संगीतको समानान्तर विकासका क्रममा साहित्य ओझेलमा परेको देखियो। नारीले रंगमञ्च वा गिर्जाघरमा कोरल–कोयार गाउन वर्जित त्यो समयमा पुरुषकै गला शल्यक्रिया गरेर नारी स्वरमा गाउने प्रचलन थियो।

विश्वले खनेको बाटो नेपाली नाट्य–संगीतले पनि पछ्याइरहेको छ। समकालीन नेपाली नाटक र संगीतका लागि सरकारी, अर्धसरकारी निकाय र प्रतिष्ठान आदिको भन्दा निजी क्षेत्रको क्रियाशीलता राम्रो छ। नेपाली नाटक र संगीतको जुइना भेट्टाउन सर्वनाम, मण्डला, शिल्पी, थिएटर भिलेज, थिएटर मल, सुम्निमा थिएटर आदिको सक्रियताभित्र नियाल्नुपर्छ। अनि मात्र संगीत र नाटकको सिकञ्जा कहाँ कसिएको छ भन्ने जोखाना खुट्टिन्छ।

गीतिनाटकमा क्रमभंग

गीतिनाटक नभए पनि अनि देउराली रुन्छ (लेखक/निर्देशकः मनबहादुर मुखिया) लाई कर्म योञ्जनको संगीतले प्रभावशाली तुल्याएको थियो। त्यस्तै, प्रताप सुब्बा निर्देशित क्रसमा टाँगिएको जिन्दगी र रातको प्रथम प्रहर ले पृथक् छाप छोड्नुमा कथानक आवृत्ति मात्र कारक थिएन, दिव्य खालिङको संगीतको सबल–सघन प्रयोगको प्रभाव पनि थियो। त्यसपछि दार्जीलिङबाट त्यसप्रकारका नाटक काठमाडौं आएनन्। उतै रुमल्लिए।

२०३६ सालपछि काठमाडौंमा प्रदर्शित मुना–मदन (रचना/संगीतः लक्ष्मीप्रसाद देवकोटा/चन्द्रराज शर्मा), शकुन्तला (रचना/संगीतः माधवप्रसाद घिमिरे/चन्द्रराज शर्मा), सिम्मा (रचना/संगीतः रायन) र मालती–मंगले (रचना/संगीतः माधव घिमिरे/अम्बर गुरुङ) आदि गीतिनाटक संगीत प्रयोगका हिसाबले विशेष रहे। यी गीतिनाटकले नेपाली संगीत विकसित बनाए। तर, कुञ्जिनी र देवकी पछि नेपाली गीतिनाटकमा क्रमभंग जस्तै भएको छ।

युद्ध उही ग्याँस च्याम्बरमा (लेखक सरुभक्त) यमपुरीमा ज्यूँदो मान्छे (लेखकः केशव पिंडाली) के सक्कली के नक्कली (लेखक गणेश रसिक) बन्दिनुस् न त (अनुवाद/निर्देशकः मुकुन्द श्रेष्ठ, यामा (लेखकः मोहनराज शर्मा) भीडमा हराएको मान्छे (निर्देशकः बद्री अधिकारी) आदि नाटकले दर्शकमा गहिरो प्रभाव छोडेको थियो, संगीतको न्यून प्रयोग भए पनि। त्यो वेला दशैं–तिहार लागेपछि प्रदर्शन गरिने धार्मिक–परम्परागत नाटकले विशेष स्थान पाउँथ्यो। अहिले त्यसप्रकारका नाटक प्रदर्शन हुन्थ्यो भन्ने सम्झना हुन पनि छाडिसक्यो।

अहिले काठमाडौंमा मञ्चन भइरहेका नाटक र तिनका पार्श्व–भूमिमा संगीतको भूमिका कस्तो छ? विषय, सन्दर्भ र छनोटका हिसाबले नाटकमा प्रयुक्त संगीत कुन रूप–स्वरूपमा अगाडि बढ्दैछ? वा केवल ध्वनिको रुपमा मात्र आएका छन्? अभिनय र सिन–सिक्वेन्समा प्रयुक्त संगीतले दर्शकमा कस्तो असर पारेको छ? सुइना कर्णालीका, शकुनि पासाहरू, सुम्निमा, डिग्री माइला, थ्याङ्क्यू मिस्टर ग्लाड, सान्दाजुको महाभारत लगायतका समकालीन नाटकहरू हेरेपछि मेरो मनमा प्रश्नहरू पलाए।

समकालीन नेपाली संगीतमा एक से एक संगीतकर्मी भए पनि अहिले मञ्चन भइरहेका नाटकप्रति उनीहरूले उस्तो सरोकार देखाएका छैनन्। यो उदासीनतामा नाटकको पार्श्व–संगीत सिर्जनालाई लाभहीन ठानेर हो कि भनेर शंका गर्न सकिन्छ। अर्थात् नाटककर्मी र संगीतकर्मीबीच सम्बन्ध–साइनो स्थापना भएको छैन। समकालीन नेपाली नाटक र नेपाली संगीतको मूल–मेसोको विच्छेदन यहाँ देखिन्छ।

यथापि, सुइना कर्णालीका, डिग्री माइला, सुम्निमा, सिरुमा रानी, वैतरणी क्याफे, छिद्र क्यानभास र सान्दाजुको महाभारत आदि नाटकमा प्रयोग गरिएका पार्श्व तथा प्रत्यक्ष संगीत–संवादले समकालीन नेपाली नाटक र संगीतको पोया बाटिएको छ। सुइना कर्णालीका मा १३ वर्षीय इरानी किशोरी भामले हुम्ला–जुम्लाकै बाजा–भाका प्रत्यक्ष प्रस्तुत गरिन्। उनको प्रभावशाली गायनले नाटकलाई जाग्दो–जीवन्त बनाएको देखियो। डिग्री माइला, सिरुमा रानी र वैतरणी क्याफे मा 'आधा सुर' ब्यान्डले आफ्नो प्रत्यक्ष हुनर देखाएको थियो। ब्यान्ड आफैं प्रत्येक प्ले र सिनमा रहनु धृष्टता पनि हो, तर उसले प्रत्यक्ष सांगीतिक पौंठेजोरीको हिम्मत देखायो।

त्यस्तै, प्रवीण पुमाद्वारा निर्देशित सुम्निमा को पार्श्वमा किरात लोकबाजा बिनायो, मुर्चुङ्गा, ढोल, यलम्बर आदि प्रयुक्त थिए, जसले नाटकको कथानकलाई अझ मिथकीय बनायो। प्रज्ज्वल श्रेष्ठद्वारा अनुवादित अनि विजय विस्फोटद्वारा निर्देशित अनिल बर्बेको थ्याङ्क्यू मिस्टर ग्लाड लाई स्टक संगीतले मोहक बनायो। काठमाडौंको यौन पेशालाई उद्धृत–उठान गरेको छिद्र–क्यानभास को पार्श्वबाट प्रयुक्त संगीतले नारी प्रधान शहरी जीवनशैलीलाई सशक्त बनाएको देखियो। त्यस्तै, अभि सुवेदीद्वारा लिखित सान्दाजुको महाभारत मा सांगीतिक सूत्रधार सलिल सुवेदीले सान्दाजु (बीपी कोइराला) बनेका सञ्जीव उप्रेतीको अभिनयलाई नेपथ्यबाट स्वाभाविक बनाए।

पार्श्व र प्रत्यक्ष संगीतको बेजोड संयोजन भएको नाटकले सामान्य तथा बौद्धिक सबै दर्शकको मथिङ्गल मन्थन गराउँछ। दर्शकले आफ्नै अगाडि वादन भइरहेको बाजा, वादक वा संगीतसँगै अभिनय–कलाको शक्ति–सामर्थ्य सोपान गर्छन् र आ–आफ्नो निर्क्योल–निष्कर्षमा पुग्छन्। आजका नेपाली नाटक 'एजुकेटेड अडियन्स' लाई वशमा पार्न सफल छन्। निर्देशकहरूले नेपाली नाटकलाई संगीत सँगसँगै अगाडि बढाउनु अवश्य पनि स्तुत्य प्रयास हो। यसमा नेपाली संगीतको मूल–प्रवाह भनिने जमातले पनि चासो देखाउनुपर्ने हुन्छ।

comments powered by Disqus

रमझम