६-१२ मंसीर २०७२ | 22-28 November 2015

म्यागीको मायालु मन

Share:
  
नेपाली बालबालिका र महिलाका पीडाले अमेरिका भुलेकी म्यागी 'सीएनएन हिरो' बनेकी छन्।

नेपालका अनाथ बालबालिकाको पालनपोषण र शिक्षादीक्षामा समर्पित न्यूजर्सी, अमेरिकाकी युवती मार्गरेट म्यागी डोएन (२८) ले 'सीएनएन हिरो अफ दी इयर– २०१५' को उपाधि जितेकी छन्।

सुर्खेतको वीरेन्द्रनगर, भैरवस्थानमा कोपिला भ्याली सेवा समाज खोलेर ५० जना बालबालिकालाई आश्रय दिएकी म्यागीले खोलेको कोपिला भ्याली विद्यालयमा ४०० विद्यार्थी अध्ययनरत् छन्। “कोही नभएकाहरु मसँग हुन्छन्, उनीहरुलाई हुर्काउँछु, पढाउँछु”, पुरस्कार थाप्दै म्यागीले भनिन्। म्यागीको विद्यालयमा निःशुल्क पठनपाठनका साथै स्वास्थ्योपचार र खाजाको पनि व्यवस्था छ। त्यसका लागि म्यागीले न्यूजर्सीमै 'कम्युनिटी फाउन्डेशन' को सहयोगमा खोलिएको 'ब्लिंक नाउ' संस्थामार्फत आर्थिक सहयोग जुटाउने गरेकी छन्।

सन् २००५ मा 'लिपनाउ डट ओआरजी' संस्थामार्फत संसार हेर्न निस्केकी म्यागीले उत्तरी भारतको एक बाल आश्रममा स्वयंसेवीका रुपमा केही समय बिताएकी थिइन्। त्यहीं उनको नेपाली तोप मल्लसँग चिनजान भयो र उनी पहिलोपटक नेपाल आइन्। “सशस्त्र द्वन्द्वका कारण त्यो वेलाको नेपाल नाजुक थियो, बस्ने अवस्था थिएन”, उनले भनिन्, “तर, यहाँका महिला र बालबालिकाको बेहाल देखेपछि मेरो मन फेरियो।” त्यहीवेला सुर्खेतमा जग्गा किनिन्। अहिले त्यहाँ कोपिला भ्याली चिल्ड्रेन्स् होम छ।

म्यागीले २०१० मा कोपिला भ्याली प्राथमिक विद्यालय र २०१३ मा कोपिला भ्याली महिला केन्द्र खोलिन्। अहिले उनी विद्यालयलाई कक्षा १२ सम्म सञ्चालन गर्न भवन र सुविधासम्पन्न बालगृह निर्माणमा व्यस्त छिन्। यहीवेला उनी 'सीएनएन हिरो' चुनिइन्। समाजसेवामा संसारमै गनिएको उक्त पुरस्कार ग्रहण गर्दै म्यागीले नेपालले आफूलाई छोरीजस्तै व्यवहार गरेको र नेपाली अनाथ र महिलाको उत्थानमा काम गर्न पाउँदा ठूलो आत्मसन्तुष्टि मिलेको बताइन्। “मेरा छोराछोरी (विद्यालयका बालबालिका) ले राम्रो वातावरणमा पढ्न पाउनु मेरो सपना हो, अब विपना हुँदैछ”, उनले भनिन्। यसअघि नेपालका अनुराधा कोइराला र पुष्पा बस्नेतले यो पुरस्कार पाइसकेका छन्।

सजना बराल

comments powered by Disqus

रमझम