शक्ति हुन् नारी

Share:
  
- तारा भट्टराई
रजस्वला कुनै पाप या अभिशाप नभएर ईश्वरले नारीलाई दिएको अद्भुत वरदान हो।

बिलाश राई
केही साताअघि एक दैनिकमा प्रकाशित 'कि बच्चा नपाऊ, कि छाउपडी नपठाऊ' शीर्षकको समाचार साह्रै बुलन्द लाग्यो। विभिन्न दलका नेता–कार्यकर्ता र सामाजिक अभियन्ताहरूले भरिभराउ जिल्ला विकास समिति अछामको सभाकक्षमा ५८ वर्षीया अमृता खड्काले मुलुकको सामाजिक कुसंस्कारलाई चुनौती दिंदै भनिछन्, “कि छाउपडी बन्द गर, कि त आफैं बच्चा जन्माऊ। हामीले जन्माएका छोराहरू नेता, मन्त्री र हाकिम भएर सम्मान पाउने अनि हामीलाई अपमान किन?”

क्या दामी अभिव्यक्ति! मेरो मन खुशीले ढक्क फुल्यो। कुनै महिलाले, अझ् त्यसमा पनि कुनै ग्रामीण महिलाले ठीक ठाउँ हेरेर यति सन्तुलित ढंगले यस्तो युगीन समस्याको विस्फोट गरेको आवाज यसअघि मैले सुने/पढेकी थिइनँ। म त्यो सभाकक्षमा भएकी भए ती खुल्ला विचारकी साहसी नारीप्रति मेरो तत्कालीन प्रतिक्रिया कस्तो हुन्थ्यो होला, थाहा छैन।
कमको छैन शहर पनि

म सुदूरपश्चिमका सबै जिल्ला पुग्न नसके पनि त्यताका हृदय चिमोट्ने खबरहरू नियमित भनेजसो गरी पढ्ने/सुन्ने गरेकी छु। त्यतातिर छाउपडी प्रथा छ, जसका कारण एक्लो गोठभित्र महिलाहरू चिसोले मरेका, सर्पले डसेका र बलात्कारको शिकार समेत भएका समाचारहरू उत्पादन भइरहन्छन्। तर, रजस्वला भएकी नारीलाई विभेद गर्ने संस्कार सुदूर तथा मध्यपश्चिममा मात्र नभएर नेपालभर कायम रहेको हाम्रो समाजका प्रत्येक सदस्यलाई थाहा छ। अर्थात्, रजस्वला भएकी नारीप्रतिको विभेदका लागि सुदूर र मध्यपश्चिम नेपालले मात्र लज्जित हुनुपर्दैन। मेरो बुझ्ाइमा समस्या घटी–बढीको मात्र हो; सबैका घर–घरमा नारीमाथि विभेद छ।

कुरा कोट्याएपछि पहिला आफ्नै घरबाट शुरू गरौं। मेरो माइती काठमाडौंको बुद्ध धर्मावलम्बी, त्यसमा पनि निङमापा (तिब्बती रातो पोशाक लगाउने) को अनुसरण गर्ने नेवार परिवार हो। यो धर्ममा नछुने बार्नुपर्दैन, तर हिन्दू धर्म–संस्कृतिमा भिजेका मेरा माइतीका सबै महिला नछुने बार्थे। ६ कक्षामा पुग्दा रजस्वला शुरू भएपछि मैले पनि आमाले सिकाए अनुसार नै गरें। बुहारीका रूपमा ब्राह्मणको घरमा भित्रिएपछि हिन्दू संस्कार र सासूआमाको निर्देशन अनुसार अझ् कठोर नियमहरू पालना गर्न थालियो। तीन दिनसम्म बार्नुपर्थ्याे, छुट्टै ओछ्यानमा सुत्नुपर्थ्यो। अरूको कोठामा कार्पेट, गलैंचा छोइने हुनाले भित्र पसिंदैनथ्यो। जनै लगाउने र पूजा गर्नुपर्नेहरूसँग त जोगिनुपर्ने। झ्ुक्किएर छोइएमा उनीहरूले नुहाएर जनै फेरेर सुनपानी छर्कनुपर्थ्यो।

रजस्वला भएको चार दिनमा नुहाएपछि पानी चल्थ्यो। पाँचौं दिनमा नुहाएर सफा लुगा फेरेपछि चोखो भएको मानिन्थ्यो। अनि मात्र मान्यजनका लागि खाना पकाउन, खुवाउन र पूजाआजा गर्न योग्य भइन्थ्यो। पितृकार्यका लागि त अझ् सात दिनपछि मात्र चोखो भइन्थ्यो। अहिले समयले निकै फड्को मारिसकेको छ र म आफैं सासू भइसकेकी छु। तर, यो मामिलामा राजधानी पनि त्यति खुल्ला भएजस्तो लाग्दैन। मेरो इनारमा पानी लिन आउने महिलाहरू कम्पाउण्डमा कुनै बोटविरुवा अलि ओइलाएको देख्यो कि 'नछुने भएकी महिलाले छोइदिएछन्' भनेर टिप्पणी गर्छन्। अफिसमै पनि कतिपय साथी श्रीमती नछुने भएकीले आफैं खाना पकाउनु परेको कुरा गर्छन्।

कुरीतिको दोष भगवानलाई!

स्वर्गका राजा इन्द्रले आफ्नो पाप घटाउन त्यसको तीन भागको एक भाग नारीमाथि सारिदिएको कुरा कहीं पढेकी थिएँ। त्यसैबेलादेखि नारीले रजस्वलाको भार बोक्नु परेको रे! तर, म यसलाई कुनै पाप या अभिशाप नभएर ईश्वरले नारीलाई दिएको एक अद्भुत वरदान वा अद्वितीय दैवीशक्ति मान्दछु। हरेक महीना रजस्वला हुने शक्तिकै कारण नारीहरू आफू जस्तै प्राणी सृष्टि गर्न सक्षम भएका हुन्। नारीकोे रजस्वला विना सृष्टि संभव हुँदैन। मानव सृष्टिविनाको धरती कस्तो होला, हामी सबैले निमेषभरमा कल्पना गर्न सक्छौं। म रजस्वला भएको बेला मन्दिरभित्र पस्न पाउनुपर्ने दावा गर्ने विद्रोही महिला होइन, तर धर्मको नाममा नारीमाथि सबैखाले विभेद, अन्याय, अत्याचार र शोषण चुपचाप सहनुपर्छ भन्ने नारी पनि हैन। बरु, 'जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ देवताहरू खुशी हुन्छन्' भन्ने भनाइको पक्षपाती हुँ। त्यसकारण नारीको सम्मान गरौं, समाजलाई सुन्दर बनाऔं।

comments powered by Disqus

रमझम