चिनिएका विद्वानका नपढिएका विश्लेषण

Share:
  

अटोक्रेटिक मोनार्कीः पोलिटिक्स

इन पञ्चायत नेपाल

सम्पादकः प्रत्यूष वन्त,

लोकरञ्जन पराजुली

प्रकाशकः मार्टिन चौतारी

मूल्यः रु.६००,

पृष्ठ : ५००+१६

ऊबेलाको सप्तरीको बस्तीपुर (अहिले सिरहा) का नामी गिरीहरूको खानदानी पुरोहित परिवारमा जन्मेका लीलानटेश्वर शर्मा बराल (१९८०–२०५४) पछि गएर भारतमा प्रोफेसर एल.एस. बराल र नेपालमा डा. ईश्वर बराल नामबाट विख्यात भए। तीनै बरालको संक्षिप्त जीवनीसहित सन् १९६०–७८ अवधिको उनको राजनीतिक–कूटनीतिक विश्लेषणहरू संग्रहित अटोक्रेटिक मोनार्कीः पलिटिक्स इन पंचायत नेपाल मार्टिन चौतारीले प्रकाशित गरेको छ। यसमा बरालले जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयु)मा हुँदा नेपालविज्ञको रूपमा भारतका विभिन्न अंग्रेजी पत्रिका, अन्तर्राष्ट्रिय जर्नल र पुस्तकहरूका लागि लेखेका १३ थान अनुसन्धानात्मक लेख छन्।

राजा महेन्द्रले एशियाको माझ्ामा निर्माण गरेको पंचायती 'युटोपिया' उच्चतम अवस्थामा पुग्दै गर्दा २०२६–३६ को अवधिमा बरालले दक्षिण एशियाली आलोकमा गरेका नेपालको विश्लेषणहरू यसअघि कमैले पढ्ने अवसर पाउनु र विश्व परिदृश्यमा नेपाललाई दशकौं पछाडि पार्ने त्यो 'युटोपिया'को उठान के–कस्तो परिवेशमा भएको थियो भनेर गहिरो जानकारी दिनुमा यो ग्रन्थको महत्व छ।

बराल स्वयंको जीवनी पनि रोचक छ। पंचायतको अन्त्यपछि २०४७ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका उपकुलपति बन्दा वाम खेमाबाट निकै विवादास्पद बनाइएका डा. बराल योग्यता अनुसारको अवसरले निम्त्याउने सुयोगहरूका साथ अगाडि बढेका देखिन्छन्, एसएलसीपछिको एक वर्ष बाहेक। लहेरिया सरायमा जजमान खलकका लप्टन कुलदीप गिरीको घरबारै भएकाले त्यो समयमा दरभंगा गएर एसएलसी उत्तीर्ण गर्न उनलाई अरूलाई जस्तो गाह्रो भएन। आईएस्सीमा भर्ना भएपछि भने भारतीय स्वराज आन्दोलनका कारण उनको पढाइ बिथोलियो।

आईएस्सी गर्न त्रिचन्द्र कलेज, काठमाडौं आएका उनले 'राजनीतिक हावाले छोएको' आरोपमा भर्ना पाउँदैनन् र शारदा पत्रिकामा 'कथाको परिभाषा' छपाएर पुनः दरभंगा फर्कन्छन्। जसोतसो आईएस्सी के सक्छन्, लप्टन गिरी घरै किनेर काशीवास हिंडेकाले बराललाई पनि उतै गएर अंग्रेजी साहित्य पढ्न सजिलो हुन्छ। त्यही अवधिमा उनी झ्यालबाट जस्तो उच्चकोटिको कथा कृतिको सम्पादक र नेपाली राष्ट्रिय कांग्रेसको संस्थापक सदस्य बन्छन्। बनारसमा एमए गर्नासाथ दार्जीलिङको गभर्मेन्ट कलेजमा नेपालीको लेक्चरर बन्ने निम्तो पाउँछन्। त्यहाँ नेपाली पढाउन नेपालीकै एमए हुनुपर्ने किचलो उठेकै बेला अंग्रेजी पढाउन त्रिचन्द्र कलेजले बोलाउँछ।

काठमाडौंमा शिक्षणसँगै सांस्कृतिक परिषद् पत्रिका सम्पादन गर्छन्। त्यही बीचमा राजदूत भएर आएका भारतीय विद्वान भगवान सहायले बरालको अनुसन्धानमुखी प्रवृत्तिबाट प्रभावित भएर जेएनयुमा खुलेको इण्डियन स्कूल अफ इन्टरन्याशनल स्टडिजमा नियुक्तिको सिफारिस गर्छन्। भाषा विज्ञानमा एमए गर्न जेएनयुबाट लण्डन विश्वविद्यालयको स्कूल अफ ओरियन्टल एण्ड अफ्रिकन स्टडिज पुगेका बरालले सोझ्ौ विद्यावारिधि गर्ने अवसर पाउँछन्। अनि, जेएनयुको प्रोफेसरबाट सेवानिवृत्त भएलगत्तै प्रज्ञा प्रतिष्ठानको उपकुलपति हुन काठमाडौं बोलाइन्छ।

समीक्षेय कृतिको पहिलो आलेख 'दि १९५९ कन्ष्टिच्युसन अफ नेपाल' मा बरालले २०१५ सालको संविधानले राजालाई दिएकोे असीमित अधिकारको प्रयोगले नेपाली राजनीतिको दिशा निर्धारण गर्ने विश्लेषण गरेका रहेछन्। अन्तिम लेख 'इण्डिया एण्ड नेपाल' मा भारतको विदेशनीति मूलतः छिमेकमा 'शत्रु' पाकिस्तान, तिब्बतमा चिनियाँ चढाइँ र तेस्रो विश्वमा अमेरिकी नेतृत्वको सुरक्षा गठबन्धन जस्तो कठोर परिवेशबाट निर्देशित भएको विश्लेषण छ। उनले किन हो सन् १९६२ को भारत–चीन युद्धको उल्लेख भने गरेका छैनन्।

५६ पेजसम्मका अनुसन्धानमूलक लेखहरूमा २०१७ सालको शाही 'कु', गैर–कांग्रेसी नेताहरूमा चलेको समर्थनको होड, पञ्चायतभित्रै नयाँ राजनीतिक पुस्ताको जन्म, विपक्षी गतिविधि आदि आन्तरिक राजनीतिदेखि नेपालको विदेश नीति, असंलग्न आन्दोलन जस्ता अन्तर्राष्ट्रिय सम्बन्धको विश्लेषणहरू छन्। राजालाई ईश्वरको अवतार मान्ने पछौटे समाज र नेपालको स्वतन्त्र हैसियतको फाइदा उठाएका महेन्द्रले देशभित्र 'राजाले जे गर्छन् जनताको लागि गर्छन्' र बाहिरी विश्वसँग 'आन्तरिक मामिला' भन्दै 'कु' मार्फत तानाशाही टिकाएको विश्लेषण छ। लेखकको व्यक्तित्व र लेखहरूको गाम्भीर्य बुझाउने ५४ पेजको परिचय खण्डमा सम्पादकद्वय प्रत्यूष वन्त र लोकरञ्जन पराजुलीले स्तरीय बौद्धिक अभ्यास गरेका छन्। नेपालको राजनीति, कूटनीति, इतिहास जस्ता विषयमा रुचि भएका जो–कोहीले पढ्नै पर्ने ग्रन्थ भएको छ, यो।

आनन्द पी. राई


चौधरी ग्रुपको नालीबेली

विनोद चौधरी (आत्मकथा)

लेखकः विनोद चौधरी/सुदीप श्रेष्ठ

प्रकाशकः पब्लिकेसन नेपालय

पृष्ठः ३२८+२४,

मूल्यः रु.३९५

परम्परागत पारिवारिक व्यवसायलाई 'मल्टिनेशनल' हैसियतमा पुर्‍याएका संघर्षशील उद्योगपतिले त्यसक्रममा भोगेका उतारचढाव, राजनीति र व्यवसायबीचको अन्तरसम्बन्ध अनि कतिपय अवस्थामा स्वयंलाई विवादमा तान्ने प्रसंगहरूको एकमुष्ट नालीबेली हो, विनोद चौधरीः आत्मकथा। पछिल्लो दुई दशकमा एउटा नेपाली व्यवसायीले मारेको फड्को देखाउने यो किताब खुला बजार अर्थव्यवस्था अँगाल्नुअघि मुलुकमा व्याप्त अड्चनहरूको अभिलेख समेत हो।

भारतको राजस्थानबाट १४२ वर्षअघि कामदारका रूपमा नेपाल पसेका भुरामल चौधरीको व्यवसायलाई उनका नाति विनोदले अन्तर्राष्ट्रिय दायरामा पुर्‍याउन अनेकौं सतरन्जमा फुकीफुकी गोटी चाले, धेरैमा बाजी मारे। आज उनको होटल, रियलस्टेट र उत्पादनमूलक उद्योग–व्यवसाय स्वदेशको सीमा काटेर दक्षिणपूर्वी एशियादेखि मध्यपूर्वसम्म फैलिएको छ। किशोरावस्थामा भारतको ताज होटलको रौनक गेट बाहिरैबाट नियालेर मन बुझाएका विनोद कालान्तरमा त्यसको साझ्ोदार बन्न पुगेको सफलताको कथा छ, किताबमा। आफ्नो राजनीतिक र पारिवारिक जीवनको फेहरिस्त राखेको आत्मकथामा विनोदले लेखेका छन्, “बिजनेसम्यानका लागि सबथोक बिजनेसै हो, सोझ्ाो बनेर बस्दा साराले पेले, अलिकति टेढो भइदिएँ, टिकें।”

व्यवसायलाई गति दिन तत्कालीन राजपरिवारका सदस्य धीरेन्द्र शाहसँगको साझेदारी, नेउवा महासंघमा दोस्रो कार्यकालको चुनाव हारेपछि नेपाल उद्योग परिसंघ स्थापना, व्यवसाय विस्तारमा राजनीतिक दाउपेच प्रयोग आदि जस्ता विषय लुकाएका छैनन्, विनोदले। 'आफ्नो व्यवसायमाथि राजनीति गर्नेको राजनीतिमाथि आफूले व्यवसाय गरिदिएको' खुलासा गरेका चौधरीले राजनीतिक पहुँच बढाएर कहाँ–कहाँ र कति फाइदा लिए, त्यो भने खुलाएका छैनन्।

विनोद चौधरीलाई कतिपयले 'म्यान अफ ड्रिम' भन्छन्। 'मलाई जिन्दगीमा सबैथोक चाहिन्छ, एउटाको बदला अर्को होइन' भन्ने विनोदले कानूनी छिद्र पहिल्याउँदै छोराहरुमार्फत विदेशमा लगानी विस्तार गरिरहेका छन्। विद्यमान कानून अनुसार नेपालीले विदेशमा लगानी गर्न नपाउने हुनाले उनले दुई छोरालाई एनआरएन बनाएका छन्। नबिल ब्याङ्कमा उनको स्वामित्वको बंगलादेशी कम्पनी 'एनबी इन्टरनेशनल'को बहुमत शेयर छ। किताबमा उनले पूँजीको राष्ट्रिय चरित्र नहुने भएकाले विश्व बजारको ढोका खुला गर्न घचघच्याएका छन्, जसलाई नेपाल राष्ट्र ब्याङ्कले समेत यो वर्षको मौद्रिक नीतिमार्फत स्वीकारेको छ।

पट्यारलाग्दो आत्मप्रशंसा छाप्ने प्रवृत्तिबाट मुक्त भएर अधिकतम रुपमा सत्य विवरण राख्ने आँट गरेको विनोद चौधरीः आत्मकथाको शैली रोचक छ, साजसज्जा पनि आकर्षक छ, कम्पनीका 'रिपोर्ट राइटिङ' जस्तो लाग्ने पछिल्ला केही पृष्ठलाई छाडेर। तर, किताबमा आज विनोदसँग जोडेर चर्चा गरिने कैयौं विषय लुकेका देखिन्छन्। लामो समयदेखि देशको औद्योगिक–व्यावसायिक क्षेत्रका एक खेलाडी विनोद, प्रजातान्त्रिक व्यवस्थाकै कारण निजी क्षेत्रले पाएको समृद्धिको रहस्य खोल्ने अवसरबाट पनि चुकेका छन्। र पनि, मुलुकका सर्वाधिक सफलमध्येका एक व्यवसायीले आफ्नो जीवनलाई आत्मकथामार्फत फेरि एकपल्ट बाँचेर हेर्न गरेको प्रयत्न सुन्दर र मननयोग्य छ।

*रमेश कुमार *


फ्ल्यासब्याक

क्यासल रककी अप्सरा

लेखकः सुन्दर जोशी,

प्रकाशकः खुम्बिला बुक्स,

पृष्ठः २१२,

मूल्यः रु.२००

'नेपालमा परिवर्तन आउनलाई प्रलय नै आउनुपर्छ। शहर–बजारमा घुस र गाउँघरमा चन्दाको क्रम रोकिनेवाला छैन।' नेपाली साहित्यको कथा विधामा उदाएका सुन्दर जोशीको पहिलो संग्रह 'क्यासल रककी अप्सरा' मा 'साउथ विचमा यती' की क्युवान मूलकी अमेरिकी जेनिफरले बोलेको सम्वाद हो, यो।

अमेरिकाको फ्लोरिडामा बसोबास गरेका ओखलढुंगे सुन्दर जोशीका कथाहरुले विभिन्न रुपमा नेपाललाई समाइरहन्छ। हरेक कथामा नेपालको सम्झना र चिन्ताका झिल्काहरु छन्। परदेशमा नेपालप्रतिको चिन्ता गर्ने हरेक कथाले निश्चित ठाउँ, परिवेश, जनजीवन र तिनको विगत देखाउन खोज्छन्, ऐनाले जस्तै। उत्तरआधुनिक बन्ने होड र पैसाको पछि दौडिरहेको मान्छेहरूमा मूर्झाउँदो मानवीय संवेदनाको विश्लेषण गर्न जोशीले कथाहरुमा 'म' पात्रलाई केन्द्रमा राखेका छन्। उनी प्रत्येक कथामा भावुकता र गम्भीरताका साथ नेपाल र नेपालीबारे विमर्श गर्छन्। कथामा अमेरिकाको कोलोराडो होस् या इटालीको कुनै शहर, कथाकार त्यहाँ नेपालको कुनै ठाउँलाई अप्रत्यक्ष जोड्न ल्याइपुर्‍याउँछन्।

'कार्लोस मेरो दर्पणछायाँ', 'टुङना र डम्फू', 'बाह्र लाखको कविता' लगायत ११ कथाको पहिलो सँगालोमा जोशीले एउटा सशक्त कथाकारको उदयको संकेत दिएका छन्। पाठकले एक बसाइँमै पनि दुई तीन फाँको लगाउने गरी कथाहरु छरिता छन्। कतिपय कथाका प्लट र पात्रहरु ती किनभए भनेर प्रश्न उठ्ने गरी कमजोर हुनुलाई जोशीको कमजोरी भन्न सकिन्छ।

ऋषिराम कट्टेल

comments powered by Disqus

रमझम