१-१५ मंसिर २०६० | 17-Nov-1-Dec-2003

महाकाव्यमा युगकवि

Share:
  

किताबः सिद्धिचरण सञ्चरण

लेखकः पूर्णप्रसाद नेपाल ‘यात्री’

प्रकाशकः तन्नेरी प्रकाशन, काठमाडौँ २०६०

पृष्ठः २२९

उनले लेखे काव्य, तर उनीमाथि लेखियो महाकाव्य नै । युगकवि सिद्धिचरणमाथि लेखिएको प्रस्तुत महाकाव्य त्यसैको उदाहरण हो । राष्ट्र वन्दनाबाट शुरु भएको यस महाकाव्यका बाँकी अठार सर्गमा विविध छन्दमा अभिव्यक्त गरिएको छ युगकविको चरित्र र जीवन । रुमानी प्रवृत्तिबाट प्रगतिवादी र यथार्थवादी प्रवृत्तितर्फ प्रवृत्त युगकविलाई धीरोदात्त नायकका रूपमा पेश गरेका छन् काव्यकारले । कविको जीवनमा आएको आरोह अवरोहको वर्णन मात्र छैन यस कृतिमा, कसरी उनको जीवन ‘कविता’ मै समर्पित रह्यो भन्ने कुरा पनि छर्लङ्ग पार्न खोजिएको छ ।

पञ्चतन्त्रका मीठा कथा

किताबः सरल पञ्चतन्त्र

अनुवाद/प्रस्तुतिः विश्वराज ढुङ्गाना

प्रकाशकः रत्न पुस्तक भण्डार, २०६०

पृष्ठः १९९, मूल्यः रु.७५

कुनै राजाका छोराछोरीहरूलाई छोटो अवधिमै नीतिशास्त्रमा पारङ्गत तुल्याउने उद्देश्यले लेखिएको मानिने पञ्चतन्त्रका कथा वास्तवमा बेजोड छन्, उम्दा छन् । जनावर, चराचुरुङ्गी र मान्छेलाई पात्र बनाएर बुनिएका पञ्चतन्त्रका कथाहरूले नीतिशास्त्रका विविध पक्षलाई अथ्र्याएको छ, कुन परिस्थितिमा मान्छेले कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुरा सिकाएको छ । अनुवादकले मूल पञ्चतन्त्रको दुरुस्त उल्था नगरी ग्रन्थको मर्मलाई ध्यान दिएकाले पुस्तक झ्न् गहकिलो बन्न पुगेको छ । मूल पुस्तकको कतिपय ठाउँमा नारीलाई ज्यादा होच्याइएकाले त्यस्ता श्लोकलाई अनुवादकले आफ्नो विवेक प्रयोग गरी हटाएका छन् । मूल ग्रन्थको स्थूल आकारलाई भन्दा त्यसको आत्मालाई समेट्न खोजेको बताउने अनुवादकको प्रयास स्तुत्य छ । वर्तमान समाजमा ह्रासोन्मुख नैतिक मूल्यको संरक्षण गर्न पाठकहरूलाई पुस्तकले झ्क्झ्क्याउनेछ ।

छोटा मीठा कथाहरू

किताबः चौबाटाको चारैतिर

लेखकः हिरण्य भोजपुरे

प्रकाशकः उर्मिला श्रेष्ठ ‘भोजपुरे’, २०५९

पृष्ठः १०८, मूल्यः रु.७५

२०२० को दशकको उत्तराद्र्धमा रेडियोबाट एउटा मधुरो स्वर सुनिन थाल्यो; पक्का लोकगीतहरूको भाखा गुञ्जाएर । लेकाली समूहको सदस्यमध्ये एक थियो त्यो नाम । तर उनको असीमित अभिव्यक्ति गीत/सङ्गीतमा मात्र सीमित हुन चाहेन । सम्भवतः त्यसैले उनको अभिव्यक्तिले साहित्यमा आकार पायो । यो पुस्तक त्यसैको उदाहरण हो । यसमा सङ्गृहीत २६ वटा सानाठूला कथाले उनलाई राम्रा कथा बुन्न सक्ने शिल्पी सावित गरेको छ । नाटकीय मोड त उनको कथामा भेटिन्छ नै, कथालाई पटाक्षेप गर्ने ढङ्ग पनि घतलाग्दो छ । उनका कथामा पाइने अप्रत्याशित अन्त्यले पाठकलाई रोमाञ्चित पार्ने क्षमता राख्दछ । एकदमै छोटा अर्थात् केही लघुकथा पनि छ यस सङ्ग्रहमा । सङ्ग्रहमा उनका अधिकांश कथाहरू नारी पुरुष सम्बन्धमा केन्द्रित छन् । जसमा वर्णित यौनवृत्तिजन्य पक्ष प्रशंसनीय छन् ।

गीताको पद्यानुवाद

किताबः सरल गीता

अनुवादकः जीवनाथ उपाध्याय अधिकारी

प्रकाशकः रत्न पुस्तक भण्डार, २०६०

पृष्ठः १८६, मूल्यः रु.६५

श्रीमद्भगवद्गीताको नेपाली भाषामा पद्यानुवाद हो प्रस्तुत पुस्तक । गीतामा आस्था भएका पाठकहरूलाई अवश्य पनि यो पुस्तक निकै मन पर्नेछ । र, गीतामा के रहेछ त भनेर पढ्न चाहने जिज्ञासुको क्षुधा पनि यसले शान्त गर्नेछ । संस्कृतमा गीता कण्ठ हुने तर त्यसको अर्थ थाहा नहुनेका लागि त यसले ‘अन्धालाई आँखा’ कै काम गर्नेछ । कतै पनि पाद टिप्पणी नहुनु, सरल शब्दमा अर्थ खुल्नु यस पुस्तकको विशेषता हो । यस पुस्तकले श्रीमद्भगवत्गीताको भावार्थ मात्र नभई शब्दार्थ बुझन पाठकलाई मद्दत गर्नेछ । अनुवादकले गरेको मिहिनेत वास्तवमै प्रशंसनीय छ ।

विप्लब प्रतीक


‘इन्भायरोमेन्टल म्यानेजमेन्ट एण्ड सस्टेनेबल डिभेलपमेन्ट एट दि क्रसरोड’ (नेपालको वातावरण र दिगो विकाससम्बन्धी विवरण र विश्लेषण)

लेखकः आनन्दराज जोशी, सुरेन्द्र लाल श्रेष्ठ र कुञ्जनी जोशी

प्रकाशकः अङकुश, सन् २००३

पृष्ठः ३०२, मूल्यः रु. ७००


ब्राम्हणवाद, दलित र आरक्षण (लेख सङ्ग्रह)

लेखकः पद्मलाल विश्वकर्मा

प्रकाशकः रत्नमाया दलित

साहित्यिक प्रतिष्ठान, धरान, २०६०

पृष्ठः ४४, मूल्यः रु.२०


नेपाली सङ्गीतका शिखर (५४ जना सङ्गीतकर्मीहरूको जीवनी)

लेखकः नरेन्द्रराज प्रसाईँ प्रकाशकः एकता प्रकाशन, काठमाडौँ,२०५९

पृष्ठः २८८ मूल्यः १९५


आस्थापुञ्ज (विश्वका १७ क्रान्तिकारी व्यक्तित्वको परिचय)

लेखकः अग्निशिखा

प्रकाशकः भुँडीपुराण प्रकाशन, काठमाडौँ, २०६०

पृष्ठः २४२, मूल्यः रु.१२०


नेपाल लिपि वर्णमाला (नेवार भाषाको वर्णमाला)

लेखकः रबिसन शाक्य

प्रकाशकः मोतीराज शाक्य/सानुनानी शाक्य, २०५९

पृष्ठः १७४, मूल्यः रु.१२५


पुरुषगन्ध (कथा सङग्रह)

कथाकारः प्रदीप मेन्याङबो

प्रकाशकः सिद्धकुमारी थेबे,

धरान, २०६०

पृष्ठः ६६, मूल्यः रु.७५

comments powered by Disqus

रमझम