१३-१९ मंसीर २०७२ | 29 Nov - 5 Dec 2015

एन्टी नाकाबन्दी भ्याक्सिन!

Share:
  
- महेश थापा
सबै नेपाली राष्ट्रवादी चित्तले लाग्ने हो भने नेपाललाई मात्र होइन, दक्षिण एशियालाई नै नाकाबन्दी नामधारी महारोगबाट मुक्त पार्न सकिन्छ!

“गाडी, घोडा केही नचलेको मौसममा लुखुरलुखुर यो दुर्गममा किन भौंतारिएको साथी?” विरानो गाउँमा परिचितको जस्तो आवाज आयो। नभन्दै, पुराना मित्र शोकप्रसाद 'भावुक' रहेछन्। कविजीलाई सामुन्ने देख्दा उल्लसित हुँदै भनें, “एउटा मण्डली बनाउन दुई/चार थान वैरागी खोज्दै हिंडेको।”

“तिमी एक्लै सिङ्गो बटालियन भन्दा कम छौ र बित्थाको धपेडी बेसाउँछौ!” अन्तर्य नबुझेका कविवरले खुइल्याउने मेसो गरे।

“तिमीले बुझेनौ, यार! म नाकाबन्दीको ओखती खोज्न हिंडेको क्या!” चुरो कुरो सुनेर मित्र मेरो थोपडा नियाल्न थाले। सम्भवतः उनी मेरो भेजाको तार साबुत रहे/नरहेको जोडघटाउमा लागे।

“म 'पेट्रोम्यान' खोजीको महाभियानमा हिंडेको, साथी”, मैले थप प्रष्ट्याएँ। “दशगजादेखि गाउँशहरका गल्लीसम्म 'माचिसम्यान' हरूको हुजूम बढ्या वेला 'पेट्रोम्यान' खोज्दै हिंड्छौ!” कवि आत्तिए, “झयार्र काँटी कोरेर ह्वार्र सल्काइदिए भने?”

बिदावारीको औपचारिकता समेत पूरा नगरी मित्र चम्पतलाल भई पनि हाले। वैरीहरूले बिनासित्ती नाकाबन्दी गरेर हाम्रो नाकाँ पसिना निकालेका छन्। खैंजडीहरूको मालबस्तु किनेर बन्दोव्यापार चम्काइदिंदा पनि उल्टै शासना व्यहोर्नु परेको छ। निमुखा बनी अन्याय सहँदा अर्को अपराध हुने र बारम्बार सताउने यो भाइरसनाशक ओखती नखोजी धर पनि नहुने भएकोले निस्केको, विगतमा खुवाएको ट्याब्लेट/क्याप्सुल पचाएर झ्न् जन्डु स्वरुपमा बल्झिएको रहेछ यो पटक। सिदा, तर्पण, भेटी, भाकल केहीले पनि साम्य हुने लक्षण देखाएन। त्यो कारणकन, दक्षिण एशियाका साना मुलुकहरूलाई त्राण दिलाउन 'एन्टी नाकाबन्दी भ्याक्सिन' अन्वेषण अपरिहार्य हुन गयो।

तपाईंलाई लाग्ला, दिल्लीको नजदिकी नजर कमजोर भएर नाकाबन्दी लागेको पत्तो नपाएको हुँदा एउटा च्यवनप्राश ख्वाइदिए किस्सै खत्तम! हो, थानकोट डिपोमा कति तेल पस्यो? भन्दै नेपालसँग हिसाब मागेर मुनिमजी पल्टने, तर भन्सार नाकामा आलुका ट्रकको मात्र जाँचपास भएको चाहिं नदेख्ने दिल्लीको नजिकको दृष्टि झ्िरिप् भएको बातमा दम छ। च्यवनप्राश सेवनले च्यवन ऋषिको झैं नेत्र ज्योति फिराउन सक्ला, तर स्वाङ मात्र पारेर मरेको रहेछ भने क्यार्ने?

फेरि, दिल्ली दरबारका ख्वामित्लाई मात्र च्यवनप्राश खुवाएर भएन, अनेकन् औतारी छन् त्यहाँ। हामी अदनाले एकसाथ तिनको गोजेरो भर्ने हो भने ओखती ख्वाउन सम्भव हुँदैन, 'एन्टी डट' चाहिन्छ। त्यसो त, दुनियाँलाई खुशामद गरी बस्नु भन्दा वेलैमा टीकाकरण गरेर 'लुतो न कन्याइ' भन्दै बिन्दाससँग जीवन बिताउनु बुद्धिमानी हो।

मलाई उडन्ते सावित गर्न 'नाकाबन्दी निरोधक खोप बनाउन सजिलो भइद्या'भे रूस, उत्तरकोरिया, इरान र क्यूवा तिनका बराजुको मुख ताकेर बस्थे?' भन्नुहोला, तर त्यसरी टिमुर्किंदा आफ्नै जगहँसाइ हुन्छ। किनकि, रूपमा हेर्दा भाइरसको प्रकृति उस्तै देखिए पनि भिन्न भूगोलमा त्यसको जब्बरेपना फरक हुने सत्य मनन् नगर्नु भनेको लम्पट नरेशको भारदारी कबोले बराबर हो भनेर बुझनुस् र यो भेगमा चकचकी मच्चाइरहने उद्दण्ड भाइरसको अस्तित्व पेट्रोलियमको जगमा टिकेको छ भन्ने कुरा लेखेर राख्नुस्।

यत्तिको तोलामासा परिपाठ लगाउँदा पनि कुरा नबुझनेहरूको पित्तथैली गड्बडिएको हुनसक्छ। ठूलो समस्या फुकाउन अजङ्गको औजार खोज्दै आकाश–पाताल धाउँदा सरल समाधान ओझ्ेल परिरहेको हुन्छ। झ्गडाको ओखती पानी भएको कथा बच्चैमा पढे पनि हामी भुच्चुकेहरू रुद्रघण्टीलाई सास्ती दिई जिन्दगी चौपट पार्छौं। त्यति सजिलो नुस्खा जान्या'भे किन भुकिबस्छस्, बतौरे? भन्दै तपाईं नबटारिनु होला। 'जल्दीको काम शैतान'को हुने भएकोले म ढिलै पारामा भन्छु– नाकाबन्दीको ओखती 'पेट्रोम्यान' को खोजी नै हो!

सरकार अन्कनाउने, कर्मचारी लन्ठ्याउने र आकाशीय योग मिलेर पेट्रोल खोतल्न आएको विदेशी कम्पनीलाई छिमेकी छट्टुले चटक गरेर धपाउने देशाँ तँ भ्यागुताको धार्नी पुग्दैन पनि नभन्नुहोला। चारैतिर घनघोर निराशा भए पनि प्रेमको शक्तिलाई हियाउन मिल्दैन, हजुर! नाकाबन्दीका कारण भट्भटेमा पेट्रोल नपरेर प्रेमिकासँग 'ब्रेकअप' भएका दुई/चार जना देवदास फेला पार्न सके तिनले भुईं खोतलेर पेट्रोल कसो ननिकाल्लान्? अझ्, ती दुई/चार जना पनि रीस उठ्यो कि घरको खाँबो कोपर्ने संस्कृतिमा हुर्केबढेका परेछन् भने त आधा काम त्यहीं सकिन्छ। सबै नेपाली 'पेट्रोम्यान' खोजी अभियानमा राष्ट्रवादी चित्तले डटौं, नाकाबन्दी नामधारी महारोगबाट दक्षिण एशियालाई मुक्त पारौं!

comments powered by Disqus

रमझम