१३-१९ मंसीर २०७२ | 29 Nov - 5 Dec 2015

बौरिने वेला

Share:
  
- मिलन बगाले
अब नेपाल घरेलु समस्याको अधिकतम स्वीकार्य समाधान, छिमेकसँगको अति निर्भरताको अन्त्य र सुरक्षित निर्माणको चुनौती चिर्दै बौरिनुपर्छ।

रासस
विनाशकारी भुईंचालोको भार अलि हलुका हुँदै गर्दा हामी यतिवेला भारतले थोपरेको नाकाबन्दी खेपिरहेका छौं। प्राकृतिक विपत् बाजा बजाउँदै नआए पनि भारतले थोपरेको विपत्तिले चाहिं अलि पहिल्यै बाजा बजाइसकेको थियो। “हामीले स्वीकारेनौं भने तिम्रा संविधानको हालत के हुन्छ?” दुई दिनअघि हप्की–दप्की गरिसकेका थिए विशेष दूतले।

अहिले नेपाल त्यै हप्कीदप्कीको मारले आक्रान्त छ। सरकार चलाउनेहरूको चूलो बलेसम्म, गाडी गुडेसम्म जनताको लागि भरपर्दो वैकल्पिक व्यवस्था गर्ने आशा गर्न गाह्रै पर्छ। यो कुरो भारतले राम्ररी बुझ्ेको छ। र त तेलका ट्यांकर र ग्याँसका बुलेट अलिअलि गर्दै छाडिरहेको छ। पत्रकारहरू ती ट्यांकर र बुलेटको संख्या गन्दै सुनाइरहेछन्। सुन्नेले घाउमा नूनखुर्सानी छरेको महसूस गरिरहेछन्।

बसको छतमा झुन्डिएर मुश्किलले गाउँ पुगेकाहरूले यसपालि घरको भग्नावशेषमा हालिएको सानो छाप्रोभित्र अमिलो मनसहित दशैं मनाए। जान त जसोतसो गइयो, काठमाडौं आउने कसरी? आएपछि डेरामा भात पकाउने कसरी? अड्डा, स्कूल, क्याम्पस पुग्ने कसरी? गाउँमा घर बनाउनु कसरी? पुनःनिर्माण प्राधिकरण थला परेसँगै काठमाडौंमा भुईंचालो चर्चा सेलाइसक्यो, गाउँको चर्चाले केही हुँदैन। सरकार न ऋण दिन्छ, न अनुदान दिन्छ न त क्यै दिन सक्दिनँ भन्दै टक्टकिन्छ। उसलाई इन्धन र ओखती जोहो गर्ने बहाना मिलेको छ।

नेपाल सरकार कस्तो भने, ऊ नाकाबन्दी भन्न पनि सक्दैन। अरूसँग माग्न पनि सक्दैन। मधेशी दलसँग पार लाग्ने वार्ता गर्न पनि सक्दैन। भारतलाई घुर्क्याएको कि धम्क्याएको हो, त्यो पनि प्रष्ट पार्न सकेको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीले यही शैली नछाडे वा मुखको स्वाद लिएर मात्र बस्ने सुर देखाए उनकै लागि घातक हुनेछ। उनलाई अझै केही समय शंकाको सुविधा भने दिनुपर्छ। आशा गरौं– उनले पार लगाउने छन्।

एउटा मान्छेको जिन्दगीमा होस् या देशको जीवनमा, आपत्विपत् आइलाग्छ। विपत्को सामना गरेर अगाडि बढ्ने प्राणीको नाम मान्छे हो र त्यस्ता ज्यूँदा मान्छेहरूले चलायमान बनाएको भूगोल हो– देश। भुईंचालोबाट त हामी तंग्रिन पनि आँटिसकेका थियौं। सुरक्षित निर्माणको चासो र चिन्ताले प्राथमिकता पाएको वेला संविधानको निहुँमा छिमेकीले नाकाबन्दीको हैरानी दिएको छ। अब बलियो ओत निर्माणसँगै नाकाबन्दीलाई ठेलेर लैजानुपर्ने भएको छ।

प्रकोप खप्न सक्षम निर्माण र संविधान संशोधन त्यति जटिल छैनन्। देशको जिम्मा लिएका नेताहरूले आ–आफ्ना दिमागभित्र लागेको खिया जति चाँडो खुर्कन्छन्, त्यति नै चाँडो निकास निस्कन्छ। कसरी निकाल्ने त निकास? लडन–भिडन गर्दा सिङ भाँचिएर रगतले मात्र निकास पाउँछ, उल्झ्नले पाउँदैन। त्यसैले सिङ तिखार्न उद्यत दुवैथरीले सार्थक वार्तामार्फत अलिअलि हारेर देशले जित्ने उपाय खोज्नुपर्छ। लड्न हिंडेकाहरूलाई सरकारले वार्ताको टेबुलतिर आउन सजिलो बनाउनुपर्छ। देशलाई हराइछाड्ने लक्ष्य राखेका हुन् भनेचाहिं 'म त हिंड्छु मेरै बाटो खुट्टा तान्दै गर' भन्दै सरकार बलियोसँग उभिनुपर्छ।

जहाँसम्म नाकाबन्दीको कुरा छ, पैसो तिर्दातिर्दै पनि उसले हामीलाई नूनतेल बेच्दिनँ भन्छ भने 'तैंले नदिए म भोकै मर्छु' भन्दै तमासा देखाउने काम पहिला बन्द गर्नुपर्छ। नजिकको छाडेर टाढाको दोकान जाँदा खर्च त अलि बढी नै लाग्छ, तर याचना गर्न छाडेर त्यो आँट गर्नै पर्छ। दुनियाँका ज्यूँदा मानिस र देशहरूले गर्ने त्यही हो। यसको अर्थ, आफ्नो घर बलियो पार्दै र शान्त कूटनीतिमार्फत नजिकको छिमेकीसँगको सम्बन्धलाई सामान्य–सन्तुलित बनाएर जनताको चूलो बाल्ने, सवारी साधन गुड्ने, बिरामीले औषधि पाउने व्यवस्थाको पहल छाड्नुपर्छ भन्ने होइन।

नेपाल–भारतबीच रोटीबेटीको सुमधुर मात्र हैन, नाकाबन्दीको झुसिलो सम्बन्ध पनि छ। घाम झैं छर्लङ्ग एउटा कुरा के छ भने, शासकहरूले देशलाई अत्यधिक परनिर्भर नबनाएको भए अहिले हामीले भारतको तेस्रो नाकाबन्दी बेहोरिरहेका हुने थिएनौं। अब चाहिं काटेको रूखको ठुटोबाट मुनो पलाउनुपर्छ। घरेलु समस्याको दीर्घकालीन समाधान, परनिर्भरताको अन्त्य र नवनिर्माणको सार्थक पहलकदमी गर्नेको जय होस्।

comments powered by Disqus

रमझम