१३-१९ मंसीर २०७२ | 29 Nov - 5 Dec 2015

माधवराज जेल चलान

Share:
  
- ज्ञानमणि नेपाल
नेपालमा फटाफट क्रान्ति गर्छु भन्नेहरू सफल हुँदैनन् भन्ने कुरा आर्य समाजीहरूको असफल हतारोले नै पुष्टि गरेको छ।

पण्डित गुरुदत्त।
स्वामी दयानन्द सरस्वती र उनका चेलाहरूद्वारा धेरै गुरुकुल स्थापना गरिए। ती गुरुकुलहरूबाट स्वाधीनताको भावनाले प्रेरित विद्वान्हरू निस्के। पछि गएर भारतलाई स्वाधीन गराउन तिनीहरूको ठूलो देन रह्यो। यो अंकमा दयानन्द सरस्वतीको मतबारे अलिकति चर्चा गरौं।

दयानन्द सरस्वती योगी थिए। मूर्ति पूजाका पूरा विरोधी उनी पौराणिक ग्रन्थहरूलाई पनि मान्दैनथे। मूर्ति पूजा, कर्मकाण्ड, पुराणलाई नमाने पनि वेद र वेदोक्त यज्ञानुष्ठानमा भने अत्यन्त श्रद्धा राख्तथे। वेद पढ्नु र यज्ञ गर्नु नै यिनको मुख्य उद्देश्य थियो। मूर्तिपूजाको प्रथमाप्रथम खण्डन भने दयानन्दले गरेका होइनन्। ज्ञानीको लागि कर्मकाण्डको कुनै प्रयोजन छैन भन्ने मत पहिल्यैदेखि थियो। ज्ञान वैराग्य पैदा नहोउन्जेल कर्म गर्नू, पूजापाठ गर्नू भन्ने कुरा वेदान्ती सबैले मानेकै हो।

शंकराचार्यले पनि 'अज्ञानीका लागि मात्रै हो मूर्तिपूजा' भनेका छन्। विद्वान्का लागि चार वेद र वेदाङ्ग पूर्ण छन्, स्त्री, शूद्र र अपठितका लागि मात्र अठार पुराणको प्रयोजन छ भन्ने कुरा पुराणग्रन्थमै उल्लेख छ। धेरै सन्त कविले यस मतलाई पल्लवित पारे। तिनमा प्रसिद्ध सन्त विसोबा र उनका शिष्य नामदेव उल्लेख्य छन्। तीर्थव्रत, उपवास आदि सबै बाहिरी व्यवहारलाई व्यर्थ बताएका सन्त विसोबाले चित्तशुद्धि र हरिभजनलाई उत्तम मार्ग कहेका छन्। पत्थरका देवता न बोल्छन् न खान्छन्, मूर्खतावश पुजारीहरू उसैका लागि सबै सुम्पन्छन् भन्ने उपदेश उनका हुन्थे। उनका एक मुसलमान शिष्य जुलाह कवीरका नामले प्रख्यात कवि थिए, जसले हिन्दू र मुसलमानलाई लक्ष्य गरेर थुप्रै चाखलाग्दा पद्यहरू लेखे। जस्तो :

पाहन पूजे हरि मिलैं तो मैं पूजौं पहार

ता तैं ए चाकी भली पिस खाए संसार

काँकर पाथर जोरी कै मसजिद लई चुनाय

ता चढी मुल्ला बाँग दे क्या बहरा हुवा खुदाय।

(हिन्दूलाई– पत्थर पुज्दा हरि मिल्ने भए म पहाड नै पुज्नेथिएँ, त्योभन्दा त जाँतोलाई पुज्नु उत्तम, जसले संसारलाई पीठो त ख्वाउँछ। मुसलमानलाई– खुदा बहिरो छ र ढुंगामाटो जोडेर बनाएको मस्जिदमा चढेर मुल्लाह कराउने!)

यस्ता अनेक फकिर कविहरूले राम र कृष्णको सादा भक्तिलाई आत्मशुद्धि तथा मुक्ति मार्ग मान्दै मूर्तिपूजाको खिल्ली उडाए। दयानन्दले यसलाई अझ् तार्किक ढंगले प्रचार–प्रसार र संस्थागत गराए। राष्ट्रिय स्वाधीनताको भावनाले उद्वेलित भारतीय जनमानसमा यो सम्प्रदाय निकै प्रतिष्ठित र प्रिय भयो। यसरी भारतमा प्रचलित आर्यसमाजको प्रभाव नेपालमा पनि छिटफुट पर्न लाग्यो। केही नेपालीले भारतका गुरुकुलमा पढ्ने अवसर पनि पाए। सत्यार्थप्रकाश जस्ता सरल हिन्दी भाषामा लेखिएका ग्रन्थले कति नेपालीको मनलाई आन्दोलित पार्‍यो।

भारतमा आर्य समाजीहरू सनातनी पण्डितहरूसँग शास्त्रार्थ गर्दै हिंड्थे। आर्य समाजीका तीक्ष्ण तर्कका अगाडि सनातनी पण्डितहरू त्यसै परास्त हुन्थे र उनका लागि आर्य समाजीहरूलाई नास्तिक भनेर निन्दा गर्नु शिवाय अर्को उपाय हुँदैनथ्यो। त्यो वेला काशीमा रहेका नेपाली नवयुवक माधवराज जोशी पनि आर्य समाजमा दीक्षित भएर आए। उनले नेपालमा आर्य समाजको प्रचार गर्न थाल्दा यो सम्प्रदाय पनि धर्मको एक पन्थ हो भन्ने परेरै होला, कुनै विरोध भएन। त्यसो त, नेपालमा जोसमनी सन्त र गीतावालेको परम्परा पहिल्यैबाट चलेको थियो। उनीहरू 'मन चङ्गा त कठौती (काठको आरीको पानी) मा गङ्गा' भन्दै पूजा–तीर्थव्रतको उपहास गर्थे। माधवराज जोशीको मत पनि आठ–दश वर्षसम्म त्यस्तै गरी प्रचारित भयो। त्यसको न ठूलो समर्थन न त विरोध नै भयो।

नेपालमा प्राचीनकालदेखि धार्मिक समन्वयकै भावना चलेर आएको थियो, छ। मुसलमानहरूले पनि शासककै आश्रयमा आनन्दसँग आफ्नो धर्म मान्दै आए। यहाँ एकले अर्कोको आस्थामा आघात नपारुन्जेल कसैको कुनै धर्ममा केही मतलब हुँदैन। त्यसरी, जोसमनी सम्प्रदाय पनि प्रचलित रहेकै वेला माधवराज जोशीले काठमाडौं, पोखराहुँदो आर्य समाजको प्रचार गर्दा शासक र जनता दुवैले उस्तो ध्यान दिएनन्। वि.सं. १९६१ (चन्द्रशमशेरको शासनकाल) तिर भने आर्य समाजीहरूले सनातन धर्ममा अनास्था पैदा हुने गरेर आफ्नो मत प्रचार गर्न थाले।

त्यस वेला आर्य समाजको प्रचार–प्रसारमा पञ्जाबबाट आएका गुरुदत्त नामक शिखले पण्डित समाजलाई शास्त्रार्थको आह्वान गर्न लागे। उनले 'पत्थर पुजेर केही हुँदैन, पशुपतिको पूजामा केही फल छैन, यसमा हामी शास्त्रार्थ गर्छौं' भन्ने खालका पर्चा लेखेर ठाउँ–ठाउँमा टाँस्न थाले। त्यसरी पण्डित वर्गलाई चुनौती दिएको, सनातनदेखि चलिआएको पूजाविधि उपर आक्षेप गरेको र राष्ट्रले पुजेको पशुपतिको निन्दा गरेको कुरा चन्द्रशमशेरका कानसम्म पनि पुर्‍याइयो। कुरा धर्मकै थियो। आर्य समाजीहरू वैदिक यज्ञद्वारा वैदिक देवता, अग्नि आदिको आराधना उपयुक्त हो, मूर्ति पुज्नु मूर्खता हो भन्थे। त्यसरी पण्डित समाजसँग वाक्युद्ध परेको हुँदा चन्द्रशमशेरलाई दुई पक्षको शास्त्रार्थ सुन्ने इच्छा भएर सिंहदरबारकै बैठकमा भेला गराए।

त्यसरी, श्री ३ महाराजकै सामुन्नेमा शास्त्रार्थ चल्दै जाँदा आर्य समाजीहरूले शूद्र र स्वास्नीमान्छेले पनि वेद पढ्नु, गायत्री जप्नु हुन्छ, पशुपति पनि ढुङ्गाकै मूर्ति कुँदेका हुन्, यिनको पूजा गर्नु आवश्यक छैन भनेर भन्दा सबै सभासद् रीसले मुरमुरिए। त्यत्तिकैमा गुरुज्यू प्रयागराज पाण्डे जुरुक्क उठेर 'महाराज, बेअदव गरिस् भनेर रिसानी नहोस्, नेपाल राष्ट्रका संरक्षक भगवान् पशुपतिनाथको निन्दा गरेको मैले सहन सकिनँ, यी आर्य समाजीहरूलाई म यहीं महाराजका सामुन्नेमै मारिदिन्छु...' आदि भन्दै हातको लट्ठीले पटापटी पिट्न थालेपछि चन्द्रशमशेरले सबैलाई हप्काएर थामथुम पारेर गुरुदत्तलाई उत्तिखेरै देश निकाला गरिदिने आदेश दिए। माधवराज थुनामा परे भने आर्य समाजको प्रचार कार्यालय खोल्न घर दिएको अभियोगमा मच्छेन्द्रबहालका लालसाहूलाई दिनैपिच्छे बिहान पशुपतिको दर्शन गर्न जानुपर्ने गराइयो। उनका छोराहरू शुक्रराज र अमरराज दरबार हाईस्कूलबाट निकालिए।

(आर्य समाजको पहिलो गतिविधिबारे अंग्रेज रेजिडेन्ट र कप्तान अष्टमानबीच भएको वार्तालापको अंश)

अगस्त (१९६१, श्रावण)

रेजिडन्ट– यहाँ आर्यसमाजीहरू आएका छन् रे, इनीहरूलाई के सजाय भो. कप्तान– १ जना शिख र पाटनको यौटा नेवार आर्यमतका रहेछन्. इनिहरूले शास्त्रार्थ गर्छु भनी ठाउँठाउँमा नोटि(स) समेत टाँसेका रहेछन् र इनिहरूको कुरा सुन्नलाई बैठकमा महाराजबाट बोलाइबक्स्यो र कुरा हुँदा मूर्ति किन पूजा गर्छौ, पशुपतिको पूजा नगर्नु भनि नेपालको रक्षक देवता पशुपतिको अनेक निन्दा गरेको सुनी बैठकमा गुरु प्रोहित भार्दारहरू मनमन्मा बहुत रिसायेका थिए उसैबीचमा रीस थाम्न नसकी प्रयागराज पण्डितज्यू उठि महाराजसँग के विन्ति चढायो भने इ आर्याहरू सुद्र भैकन वेद पढाएको र नेपालको रक्षा गरी राख्ने पशुपतिनाथको निन्दा गरेको मैले त सहन सकीन म इनिहरूलाई मार्छु बेअदबि गरिस् भनि बरु काशी तरफ निकला गरिबक्से पनि बरु मन्जूर्छ सहन सकीन भनी हात्मा लियेका लठीले पिट्न जब लागेथे मुरमुरी रहेका भारदारहरूमा पनि ३,४ उठी सुद्रलाई कुटपीट गरी शिखको दारी उखेली हल्ला हुन शुरु भयो. महाराजबाट सबैलाई हप्काइबक्सी शिखलाई उत्नेखेरी नेपालबाट निकालिदिनु भनी आडर बक्सेपछि मात्र भारदाहरूले रिस थामे. ताहा माहाराजको राज नभएको भए ति दुवै जनालाई कुटेर मार्ने थिये. रे– महाराजाको सामन्ने कसो कुट्न सकेछन्.

क– नेपालमा धर्मलाई खूब मान्ने हुनाले रिस थाम्न नसकेको हो.

comments powered by Disqus

रमझम