१३-१९ मंसीर २०७२ | 29 Nov - 5 Dec 2015

'नसके सहजकर्ता खोजौं'

Share:
  
तीन महीनाभन्दा लामो समयको आन्दोलनले आक्रान्त तराई–मधेशको अवस्था र मुद्दाबारे जनकपुरको रामस्वरुप–रामसागर बहुमुखी क्याम्पसका सहप्राध्यापक डा. सुरेन्द्र लाभसँग हिमाल ले गरेको कुराकानीको संक्षिप्त अंश।

बिक्रम राई
डा. सुरेन्द्र लाभ
भर्खरै मधेशका जिल्ला घुमेर आउनुभयो, स्थिति कस्तो छ?

तराईका आठ जिल्ला घुम्दा सदरमुकामका थुप्रै बुद्धिजीवी र गाउँलेसँग छलफल गरें। खेतमा धान पाकेको छ, तर मान्छेहरु खेतमा छैनन्। सबै जान्न चाहन्छन्– 'काठमाडौंले मधेशको आवाज सुनिरहेको छ कि छैन?' सबैमा यो आन्दोलन कहिलेसम्म चल्छ, कहिले सामान्य हुन्छ भन्ने जिज्ञासा छ। आवाल, वृद्ध, वनिता सबैमा एउटै जिज्ञासा छ– काठमाडौंले हाम्रो आवाज कहिले सुन्छ? सरकार, मानवअधिकारकर्मी र मिडियाप्रति मधेशमा ठूलो गुनासो छ। मान्छेहरु डिप्रेसनको अवस्थामा छन्। आर्थिक अवस्था ठप्प त नभनौं, सुस्त छ। केही हुनेवाला छैन भन्ने निराशा र पलायनभाव छ। यो राम्रो संकेत हैन।

काठमाडौंले आवाज नसुनेको भन्नुभयो, स्थानीयस्तरको वास्तविकता चाहिं के हो?

सबभन्दा असन्तुष्टि प्रदेश सीमांकनमा छ। नागरिकताबारे धेरैलाई थाहा छैन, तर मधेशीलाई अप्ठेरो पारियो भन्ने बुझाइ छ। जनप्रतिनिधिबारे पनि गडबढ गरियो भन्ने छ। हामीलाई फेरि हेपियो भन्ने आक्रोश छ। हिजो एफएममा गीत सुन्नेहरु आज समाचार सुन्छन्। मेरो विचारमा यो अन्योललाई तत्काल संविधान संशोधनबाट चिर्न सकिन्छ। मानसिकताको समस्या चिर्ने उपाय पनि यही हो।

नेपाली कांग्रेस, नेकपा एमालेलगायत दललाई कसरी हेरेको पाउनुभयो?

मधेशमा मधेशी मोर्चाबाहेक युवाका विभिन्न समूह छन्। ती सबैमा कांग्रेस, एमाले र एमाओवादीप्रति आक्रोश छ। एकथरीमा वार्ताबाटै निकास निस्कन्छ भन्ने बुझाइ छ भने अर्कोथरीमा बूढाहरुले गरेको सम्झौता विरुद्ध पनि आन्दोलन गर्नुपर्छ भन्ने छ। कतिपय ठाउँमा पहिलेजस्तो सम्झौता नगर भन्दै जुलूस पनि निकालेको मैले थाहा पाएँ।

आर्थिक गतिविधि के छ?

बजार खुल्दैन, सामान केही पाईंदैन। उपभोक्ता र खुद्रा व्यापारी मारमा छन्। आपूर्ति र नगद प्रवाह टुटेको छ। बिरामीले उपचार पाएका छैनन्, उपचारका लागि काठमाडौं या भारत जानुपर्ने बिरामीले न यातायात पाएका छन् न त नगद। स्कूलहरुको समेत टुंगो छैन।

राजविराज, जनकपुर, मलंगवा जस्ता बजारमा आपूर्ति अवरुद्ध हुँदा माग कसरी पूरा भइराखेको छ?

साँझमा एकछिन पसल खुल्छ, जे पाउँछ लिएर हिंडिहाल्नुपर्छ। तोडफोडको त्रास छ। लगातारको बन्दले आम मानिस यति आजित छन् कि बरु जति घाटा लाग्छ यही पटक लागोस्, तर आन्दोलन वार कि पार होस् भन्ने छ।

'स्याडो इकोनोमी' कस्तो छ?

जताततै नयाँ–नयाँ मोटरसाइकल देखिन्छन्। तिनले राजमार्गबाट सीमावर्ती बजारसम्म मान्छे बोक्ने र उताबाट पेट्रोल ल्याउने काम गर्छन्। दुईतिरका कालाबजारियाहरुले ठूलो रकम कमाइरहेका छन्। नेपालीका कारण टिकेका सीमापारिका बजार बन्द छन्, तर पेट्रोलपम्पहरु म्ाालामाल छन्। एक ट्यांकर पेट्रोल खपत नहुने पम्पमा अहिले दुईतीन ट्यांकर बिक्छ। त्यतिले पनि नपुगेर नेपाली मोटरसाइकल तेल लिन १०–१५ किलोमीटर भित्रसम्म पुगिरहेको मैले सुनें। तेल बोकेका उताका मोटरसाइकल पनि उत्ति नै देखियो।

पठनपाठन ठप्प छ, बालबालिकाको मनोविज्ञान कस्तो पाउनुभयो?

बालबालिका आन्दोलनमा लागेर 'जय मधेश' भन्दैछन्, संविधान जलाऊँ भन्दै कागज जलाउन सिकेका छन्। अलि ठूलाहरु 'पेट्रोल ढुवानी सेवा' मा रमाएको पनि देखियो। यसबाट चिन्तित पंक्ति यसरी कहिलेसम्म चल्छ भनिरहेको छ।

पलायन पनि शुरु भएको छ कि?

पहाडीहरु त्रासमा छन्। २०६३ को आन्दोलनमा 'पहाडिया चोर, मधेश छोड' भन्ने नारा लागेको थियो। अहिले त्यस्तो नारा नलागे पनि त्रास छ। उद्यमी–व्यवसायीहरुमा मधेश काश्मीर हुन लागेको चिन्ता छ। अर्को, भारतीयसँग बिहेबारी घट्ने देखिन्छ। पहिले हाम्रो सरहद राम्रो, उता नराम्रो थियो। यता बिजुली हुन्थ्यो, उता हुँदैनथ्यो। पहिले नेपालमा छोरी दिन पाए हुन्थ्यो भन्ने थियो, अहिले उल्टो भएको छ। उताकाहरु नेपालमा केही छैन, हडताल–हंगामा गरिरहन्छन् भन्छन्। काठमाडौंले नेपाली होइनन् जस्तो गर्ने, पारिकाले यिनीहरु केही नभएका नेपाली हुन् भनेर हेपेको अवस्था छ।

यो अवस्थाले हामीलाई कता लैजाँदैछ?

भन्न गाह्रो छ। मैले गाउँदेखि शहरसम्म धेरैसँग निकास के हो भनेर छलफल गरें। मधेशका अधिकांशले हामीलाई जानीजानी इन्डियातिर धकेल्न खोजे भन्ने अनुभव गरेका छन्। अब मधेश आन्दोलनलाई विभेद विरुद्धको नेपाली राष्ट्रिय आन्दोलनको रुपमा स्वीकार्नुपर्छ। यसलाई स्वीकारे हाम्रो राष्ट्रियता बलियो हुन्छ।

काठमाडौंले के गर्दा चाँडो मिलनबिन्दु भेटिन्छ?

मधेशी नेताहरुले प्रदेश सीमांकनलाई आन्दोलनको 'बटमलाइन' बनाएको देखिन्छ। समानुपातिक समावेशी प्रतिनिधित्व र सरल तरीकाबाट नागरिकता पाउनुपर्ने सवाल पनि छ। यो सवालमा मधेशमा आम सहमति जस्तै छ। सहमति, सम्झौतामै आन्दोलन सकिनुपर्छ। आफूले गर्न नसके दुवै पक्षले सहजकर्ता खोज्नुपर्छ।

comments powered by Disqus

रमझम