१३-१९ मंसीर २०७२ | 29 Nov - 5 Dec 2015

बिरामी मार्ने बन्द

Share:
  
- रामु सापकोटा
तराईको बन्द र भारतीय नाकाबन्दीको १०० दिनमा बिरामीहरू उपचार नपाई सडकमा ज्यान गुमाउन बाध्य हुन थालेका छन्।

ईश्वरचन्द्र झा
वेगनाह शिवपुर धनुषास्थित घरमा मोबाइलमा छोराको फोटो हेर्दै बाबु मकेश्वर यादव।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले तराईमा हिंस्रक आन्दोलन जारी राख्दा मुलुकभरका सर्वसाधारण उपचारबाट वञ्चित भएका छन्। सडकमा सवारी आवागमन नहुँदा तराईबाट उपचारका लागि राजधानी आउने बिरामी बढी मारमा परेका छन्। अस्पताल पुग्नुपर्ने धेरै बिरामीहरूले सडक अवरोधका कारण आकस्मिक उपचार सेवा समेत पाउन सकेका छैनन्।

१७ असारमा काठमाडौंको शहीद गंगालाल अस्पतालमा भर्ना भएका वेगनाह शिवपुर–३ धनुषाका अमितकुमार यादव (१३) को मुटुको भल्ब २४ असारमा डा. रामेश कोइरालाको टीमले फेेरे। डा. कोइरालाका अनुसार यस्ता बिरामीले हरेक महीना रगतको परीक्षण गरेर औषधि उपचार गरिरहनुपर्छ। तर, ३१ असारमा डिस्चार्ज भएर घर फर्किएका अमितकुमारले नियमित रगत परीक्षण गर्नै नपाएर २० असोजमा मृत्युलाई अँगाल्नु पर्‍यो। “घर फर्किएलगत्तै बन्द शुरू भयो, रगत जाँचका लागि अस्पताल पुर्‍याउन सकिएन”, उनका बुबा मकेश्वर यादव भन्छन्, “बिरामी सिकिस्त भएपछि ठूलो जोखिम मोलेर गंगालाल पुर्‍याउँदा मुटुमा रगत जमेर भल्बले काम गर्न छाडिसकेछ।”

गंगालाल अस्पतालमा मासिक सरदर ७०० मुटुका बिरामीले रगत परीक्षण गर्दै आएकोमा कात्तिकमा ५०० मात्र आएको देखिन्छ। बन्दका कारण रगत परीक्षण गर्न नपाएका मुलुकभरका मुटुको भल्ब बिग्रेका बिरामीमध्ये धेरैको ज्यान खतरामा परेको वा गुमिसकेको चिकित्सकहरूको अनुमान छ। उनीहरूका अनुसार, तराई क्षेत्रका मुटुका बिरामी यातायात नचल्दा उपचारबाट वञ्चित हुनु परेको छ। बन्दका कारण तराईका जिल्लामा पोलियो खोप, हात्तीपाइले, कुष्ठरोग, प्रसूति सेवा र नवजात शिशु स्याहार सम्बन्धी सरकारको स्वास्थ्य सम्बन्धी वार्षिक कार्यक्रम पनि रोकिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठ भन्छन्, “रोग उन्मूलन कार्यक्रम सञ्चालन हुन नसक्दा तराईमा प्रकोप बढ्ने खतरा छ।”

तराई बन्दकै कारण धनुषाका अमित जस्तै उदयपुरका तीनमहिने शिशु पदमबहादुर बुढाथोकीले पनि ज्यान गुमाउनु पर्‍यो। निमोनियाले ग्रस्त उनलाई आमाबाबुले ७ मंसीरमा त्रियुगा नगरपालिका–१५ बाट एम्बुलेन्समा राखेर पनि विराटनगर पुर्‍याउन सकेनन्। अक्सिजन लगाएर अस्पताल लैजाँदै गरिएको शिशुले मोर्चाका कार्यकर्ताको कठोर अवरोधको कारण सुनसरीको हरिपुरमा सडकमै प्राण त्याग्नु पर्‍यो। आन्दोलनकारीले सिकिस्त बच्चा बोकेको एम्बुलेन्सलाई निकैबेर रोकिदिएको आफन्त राजन खड्काले बताए।

निशानामा एम्बुलेन्स

बन्दका कारण समयमै उपचार नपाएर ज्यान गुमाएका अमितकुमार यादव।
मोरङको रंगेलीबाट १८ महीनाकी बिरामी बालिका मानसी भट्टराईलाई लिएर विराटनगरतर्फ जाँदै गरेको को १ च ७३७९ नम्बरको एम्बुलेन्सलाई मोर्चाका कार्यकर्ताहरूले ४ मंसीरमा कटहरीमा तोडफोड गरे। यसैगरी, संखुवासभाका बिरामी सारध्वज तामाङलाई लिएर ५ मंसीरमा विराटनगरबाट धरान जाँदै गरेको को १ च ४६१५ नम्बरको एम्बुलेन्स सुनसरीको दुहबीमा तोडफोडमा पर्‍यो। आक्रमणमा चालक आनन्द विकलाई गम्भीर घाइते बनाइयो। यसरी बिरामी बोकेका एम्बुलेन्सहरूमा आक्रमण गर्ने क्रम बढेपछि झापा, मोरङ र सुनसरीका ३०० भन्दा बढी एम्बुलेन्सका चालकहरूले ७ मंसीरबाट सेवा नै बन्द गरेका छन्।

अत्यावश्यक सेवाका सवारी साधनमाथि आक्रमण रोकिएको छैन। मोर्चाका कार्यकर्ताले एम्बुलेन्स र औषधि बोकेका ट्रकमा समेत आक्रमण गरेर अवरोध पुर्‍याउँदा बालबालिका र गर्भवती महिला उपचारबाट वञ्चित हुनु परेको छ।

अस्पतालमा इन्धन अभाव

मोर्चाको अवरोध र भारतीय नाकाबन्दीका कारण इन्धन अभाव चुलिंदै जाँदा मुलुकभरका अस्पतालहरूको उपचार सेवा प्रभावित बनेको छ। अस्पतालहरू डाक्टर–कर्मचारी बोक्ने गाडी र बिरामी ओसार्ने एम्बुलेन्सदेखि यन्त्र–उपकरण र औषधिसम्मको अभाव चर्केको सञ्चालकहरू बताउँछन्। ट्रमा सेन्टरका निर्देशक डा. बुलन्द थापाले यातायातको अभाव हुँदा घर फर्किनुपर्ने बिरामी अस्पतालमै बसिरहेको बताए। डिजल नहुँदा जेनेरेटर नचलेर ट्रमा सेन्टरले दुई पटक सेवा रोकेको उनी बताउँछन्। वीरमा पनि त्यही अवस्था रहेको अस्पतालका प्रशासन प्रमुख तेजनारायण यादवले बताए।

यो अवस्था थेग्न राजधानीका नौ वटा सार्वजनिक अस्पतालले ६ मंसीरमा स्वास्थ्य मन्त्रालयसँग चारपाङ्ग्रे सवारीका लागि मासिक २० लीटर डिजल र दुईपांग्रेका लागि १० लीटर पेट्रोल उपलब्ध गराउन माग गरेकोमा अझै पाएका छैनन्। लोडसेडिङको समयमा आकस्मिक कक्ष, आईसीयू, सीसीयू, शल्यक्रिया, प्रसूति, मिर्गाैला डायलासिस र पोष्ट अपरेटिभ जस्ता संवेदनशील सेवा सञ्चालनका लागि जेनेरेटर चलाउन इन्धन नभई हुँदैन।

त्यस्तै, अस्पतालहरूमा औषधि र सर्जिकल सामान आयातको काम रोकिएपछि रसायन तथा मेडिकल आपूर्ति संघले ३ मंसीरमा औषधि व्यवस्था विभागसँग प्रतिदिन पाँच लीटर डिजल र तीन लीटर पेट्रोल उपलब्ध गराउन माग गरेकोमा अझैसम्म पनि पाउन नसकेको संघका उपाध्यक्ष सुरेश घिमिरे बताउँछन्। उनका अनुसार शल्यक्रिया कक्षमा संक्रमण हुन नदिने बायोसिल रसायन सकिएको छ।

घटे बिरामी

गोपेन राई
खाना पकाउने ग्याँसको अभावमा दाउरामा खाना पकाउँदै वीर अस्पतालका भान्से युभान तामाङ।
सहज रूपमा यातायात नचल्दा राजधानीका अधिकांश अस्पतालमा बिरामी भर्ना दर ५० प्रतिशतले घटेको छ। गत साउनमा २५ हजार ८४८, भदौमा २९ हजार ७९९ र असोजमा २३ हजार ८०४ जना बिरामी भर्ना भएको वीर अस्पतालको बहिरंग विभागमा कात्तिकमा १७ हजार २७५ मात्र बिरामी पुगे। ट्रमा सेन्टरको बहिरंगमा दैनिक २०० बिरामी भर्ना हुने गरेकोमा अहिले १२० जना मात्र उपचारका लागि आएका छन्। दैनिक करीब ४० बिरामी भर्ना हुने अस्पतालको आकस्मिक कक्षमा बिरामी संख्या आधा घटेको छ। यसैगरी, कान्ति बाल अस्पतालको बहिरंग विभागमा दैनिक औसत २०० बिरामी आउने गरेकोमा अहिले घटेर १०० को हाराहारीमा झ्रेको छ।

दाउरा, धूवाँ र लेड

त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्ज, वीर, गंगालाल, प्रसूतिगृहलगायतका अस्पतालहरूमा ग्याँसको अभाव भएपछि बिरामीका लागि दाउरा बालेर खाना पकाउन थालिएको छ। ट्रमा सेन्टरसहित दैनिक ३०० बिरामीका लागि खाना–खाजा पकाउने वीरका भान्सेमध्येका एक युभान तामाङ (३९) भूकम्पमा भत्किएका घरको काठले काम चलाइरहेको बताए। वातावरण क्षेत्रका जानकारहरू पुराना घरका काठमा प्रयोग भएको रंग मानव स्वास्थ्यका लागि हानिकारक हुने बताउँछन्। विषाक्त लेडयुक्त रसायन भएका काठ बाल्दा त्यसले वातावरणसँगै मानव स्वास्थ्यलाई असर गर्ने विभिन्न अध्ययनहरूले पनि देखाएको छ।

रंगरोगनयुक्त त्यस्तो काठ बाल्दा धूवाँसँगै निस्किने लेडयुक्त रसायनले मानव स्वास्थ्यलाई जोखिममा पार्ने राष्ट्रिय क्षयरोग केन्द्रका छाती रोग विशेषज्ञ डा. शरतचन्द्र बर्मा बताउँछन्। बर्मा भन्छन्, “छाती रोगका बिरामीलाई त त्यसले झ्नै असर गर्छ।”

लीडर्स नेपाल नामक संस्थाका महासचिव धिरज पोखरेलका अनुसार, साजसज्जाका लागि प्रयोग हुने रंग टाँसिएका काठ बाल्दा हावामा विषाक्त रसायन लेडको संक्रमण हुन्छ। त्यस्तो लेड श्वास–प्रश्वासका माध्यमबाट मान्छेको फोक्सो र रगतहुँदै हड्डीसम्म पुग्छ। त्यसले श्वास–प्रश्वासको रोगदेखि क्यान्सरसम्म निम्त्याउने पोखरेल बताउँछन्।

comments powered by Disqus

रमझम