१३-१९ मंसीर २०७२ | 29 Nov - 5 Dec 2015

नटुंगिएको द्वन्द्व

Share:
  
- सविता श्रेष्ठ
जनचेतना र सुरक्षाका कतिपय उपाय अपनाइए पनि चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तुले जनधनमा पुर्‍याउने क्षतिमा खासै कमी आएको छैन।

सविता श्रेष्ठ
हरिमाया तामाङ श्रीमान्सँग ।
फागुन, २०७१ मा गैंडासँगको अचानकको जम्काभेटमा चितवनको माडी, दिवानगरका धनबहादुर कुमाल (३८) को मृत्यु भयो। तीन वर्षअघि श्रीमतीको मृत्यु भएपछि १४, १२, ९ र ४ वर्षका चार सन्तानलाई उनी एक्लैले हुर्काउँदै आएका थिए। टुहुरा उनीहरू अहिले हजुरबुबासँग बसिरहेका छन्। ९ वर्षीय छोरालाई भने क्लिनिक नेपाल नामक संस्थाले हेरचाह गरिरहेको छ। “९ वर्षको भाइलाई क्लिनिक नेपालले हेरचाह गरिरहेको छ, कान्छो भाइ त बोल्न र सुन्नै सक्दैन”, कुमालकी जेठी छोरी मञ्जु (१४) भन्छिन्, “खै कसरी हुर्काउने हो!”

६ वर्षअघि चितवन माडीकी माया महतो भालुको शिकार बनिन्। आमा बितेपछि ९ कक्षामा पढिरहेकी जेठी छोरी उषा (१९) ले ५ भाइबहिनी हुर्काउन स्कूल छाड्नुपर्‍यो।

आर्थिक वर्ष २०६२/६३ देखि २०७१/७२ सम्मको तथ्यांक हेर्ने हो भने मुलुकका १० निकुञ्ज, तीन आरक्ष र ६ वटा संरक्षित क्षेत्रमा वन्यजन्तु आक्रमणका कारण ११४ जनाको मृत्यु भएको छ। ११० जना घाइते भएका छन्। तर, यो अंक विश्लेषण गर्ने हो भने क्षतिको सबैभन्दा बढी असर चितवन राष्ट्रिय निकुञ्जले भोग्नु परिरहेको छ। चितवन निकुञ्जमा मात्र कुमाल जस्तै ८८ जनाले ज्यान गुमाएका छन् भने ८१ जना घाइते भएका छन्। वन्यजन्तुले गाईवस्तु मार्ने, घरगोठ भत्काइदिने र बाली मास्ने गरेका कथाहरू त कति छन् कति। यसबाट पुष्टि हुन्छ, चितवनमा मानव–वन्यजन्तु द्वन्द्व सबैभन्दा बढी छ।

चितवन, पर्सा, मकवानपुर र नवलपरासी जिल्लाको ९३२ वर्ग किलोमीटर भूभागमा फैलिएको नेपालकै पहिलो चितवन राष्ट्रिय निकुञ्ज २०३० सालमा स्थापना गरिएको हो। मुलुककै सबैभन्दा बढी वन्यजन्तु भएको निकुञ्ज पनि यही हो। सहायक संरक्षण अधिकृत टीकाराम पौडेलका अनुसार निकुञ्जमा ६०५ वटा गैंडा र १२० वटा बाघ छन्। जबकि अन्य निकुञ्ज र आरक्षमा कुल ४५ वटा गैंडा र ७८ वटा बाघ रेकर्ड गरिएका छन्। ५६ प्रकारका स्तनधारी जनावर, ५५० प्रजातिका चरा, १२६ प्रजातिका माछा, १५० प्रजातिका पुतली, विश्वमा अत्यन्त दुर्लभ मानिएको घडियाल र मगर प्रजातिको गोही, ४७ प्रजातिका सरीसृप, ९ प्रजातिका उभयचर र ५७० भन्दा बढी प्रजातिका वनस्पति पनि निकुञ्ज परिसरमा पाइन्छन्।

जैविक विविधताले सम्पन्न निकुञ्जलाई सन् १९८४ मा युनेस्कोले विश्व सम्पदा सूचीमा समावेश गरेको थियो। तर, निकुञ्जको सीमा जोडिएका मध्यवर्ती क्षेत्रको ७५० वर्ग किमीमा ४५ हजार ६१६ घरधुरी छन्, जहाँ वन्यजन्तु र स्थानीयवासीबीच जहिल्यैको त्रास छ।

स्थानीयको व्यथा

१७ कात्तिक २०६९ मा हात्तीको आक्रमणमा ज्यान गुमाएका अमरबहादुर थापा (६५) का छोरा।
२६ वैशाख, २०७० मा गीतानगर गाविसमा दुई जनाको ज्यान लिने बाघ समात्न माग गर्दै निकुञ्जको सुरक्षा पोष्टमा घेरा हाले। १ पुस २०६९ मा माडीका बुद्धिराम बोटे र उनकी श्रीमती झ्रलीलाई मारेका वेला पनि गाउँलेले यस्तै विरोध गरेका थिए।

पुस, २०६७ मा माडीकै आशबहादुर तामाङकी जेठी श्रीमती कुमारीलाई जंगली हात्तीले मार्‍यो। त्यही हात्तीले आशबहादुरकी कान्छी श्रीमती हरिमायालाई चुल्ठोमा समातेर पिंढीमा बजार्‍यो। ६ महीना उपचारपछि पनि उनको कपाल पलाएको छैन।

पदमपुरका हठुराम चौधरी (८०) निकुञ्ज स्थापना भएपछि जनावरको विनाशलीला शुरू भएको बताउँछन्। “जनावरले रुवाएपछि उ वेलै मैले निकुञ्जबाट गाविस सार्न अनुरोध गरेको थिएँ”, पदमपुरका गाविस अध्यक्ष रहेका चौधरी भन्छन्। निकुञ्ज स्थापनाको २० वर्षपछि बल्ल निकुञ्ज क्षेत्रबाट गाविस सार्ने काम थालिएको छ। निकुञ्जको माडी, बछौली तथा लोथरमा हात्तीले दुःख दिने गरेको छ। पटिहानी, मेघौली, गुञ्जनगरमा बाघ र गैंडाले सताउने गरेको छ। वरन्डाभारमा भने बँदेल, चित्तल जस्ता जनावरले बाली विनाश गरिरहेका छन्।

चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत टीकाराम पौडेल आव २०७१/७२ मा वन्यजन्तुले ५५ वटा पशु मार्नुका साथै २८ ठाउँमा रु.१ लाख ४९ हजार बराबरको बाली नोक्सान गरिसकेको छ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवर वन्यजन्तु र मानवबीचको असमझ्दारी हटाउन विभिन्न उपाय अपनाइरहेको बताउँछन्। उनका अनुसार, निकुञ्जले क्लब, समूह तथा उपभोक्ता समितिमार्फत जनचेतनाका कार्यक्रम चलाइरहेको छ। यसका अतिरिक्त वन्यजन्तुलाई निकुञ्ज बाहिर जान रोक्न १८० किलोमीटर सीमामा तारबार समेत लगाएको छ। तर, आधाजति तारबारले वन्यजन्तु रोक्दैनन्।

कुँवरका अनुसार वन्यजन्तुको आक्रमणबाट मानिसको मृत्यु भए पीडित परिवारलाई क्षतिपूर्ति स्वरुप रु.५ लाख दिन थालिएको छ। घाइतेको अवस्था हेरी रु.१ लाखसम्म प्रदान गरिने व्यवस्था गरिएको छ। यसैगरी गाईवस्तु मारेमा रु.३० हजारसम्म, घरगोठ तथा बाली क्षति गरेमा रु.१० हजारसम्म क्षतिपूर्ति प्रदान गरिन्छ।

निकुञ्जका वन्यजन्तु र स्थानीयवासीको सम्बन्धबारे अध्ययन गरेका सोमत घिमिरे क्षतिबापतको रकम थोरै भएको बताउँछन्। “एकातिर मान्छेको ज्यानै जाने र बाँच्नेको पनि उपचारमा लाखौं खर्च हुन्छ”, उनी भन्छन्, “थोरै राहत रकम लिन पनि सास्ती बेहोर्नुपर्छ।” आव २०७०/७१ मा एक लाख ७३ हजार ४२५ जना पर्यटकबाट निकुञ्जले रु.२४ करोड ६८ लाख ७१ हजार राजश्व संकलन गरेको थियो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकृत डा. महेश्वर ढकाल वन्यजन्तुबाट जनधनको क्षति कम गर्न सरकारले मध्यवर्ती क्षेत्रको अवधारणामार्फत काम गरिरहेको बताउँछन्। “क्षतिपूर्तिको रकमसमेत वृद्धि गरिएको छ”, उनी भन्छन्।

वन्यजन्तुको बाध्यता

चितवन निकुञ्जका पूर्व संरक्षण अधिकृत रामप्रित यादव सामान्य अवस्थामा वन्यजन्तुले मानिसलाई दुःख नदिने बताउँछन्। उनी भन्छन्, “निकुञ्जको जंगल फँडानी भएको छ। त्यसैले, वन्यजन्तु बस्तीमा आउन बाध्य भएका हुन्।” अधिकांश गाउँले घाँस, दाउराका लागि वन्यजन्तुको प्रमुख बासस्थान नजिक जाँदा नै आक्रमणमा परेको भन्दै उनी गैंडा, हात्ती जस्ता शाकाहारी जनावरले पनि मान्छे मार्नुको मुख्य कारण यही नै भएको बताउँछन्। वन्यजन्तुको आनीबानीबारे स्थानीयलाई बुझाउने, संरक्षणको शिक्षा दिने, निकुञ्ज वरपर तारबार लगाउने, वन्यजन्तुले नखाने बाली लगाउने जस्ता कार्य गरे क्षति कम हुने यादवको भनाइ छ।

वन मन्त्रालयका पूर्व सचिव तथा वन्यजन्तु विज्ञ डा. उदयराज शर्मा निकुञ्जमा वन्यजन्तुको संख्या बढेकै कारण उनीहरू बाहिर निस्किएको बताउँछन्। शर्मा भन्छन्, “मानिसका दुःख कम गर्न खाडल, तारबार जस्ता अवरोध बनाउनुपर्छ।”

संरक्षणकर्मी हेमन्त मिश्र आफ्नो पुस्तक बोन्स् अफ द टाइगर मा आफ्नो बासस्थान क्षेत्रमा मान्छेको आवागमन बढी हुँदा, मान्छे तथा वन्यजन्तुबाट घाइते हुँदा, प्राकृतिक शिकार गर्न नसक्ने हुँदा बाघले मानिसलाई आक्रमण गर्ने तर्क गर्छन्।

comments powered by Disqus

रमझम