१३-१९ मंसीर २०७२ | 29 Nov - 5 Dec 2015

उज्यालोतिर

Share:
  
साहूको चौघेराबाट मुक्त पूर्व कम्लहरीहरू कठोर श्रमभन्दा शिक्षाबाट भविष्य खोजिरहेका छन्।

सविता श्रेष्ठ
एचएको कक्षामा पार्वती र राजकुमारी।
कञ्चनपुर, देखतभूली–१ चान्देउकी पार्वती चौधरी (२१) अँध्यारैमा उठ्थिन्। पहिले घर सफा गर्थिन्। त्यसपछि गाईबस्तुको गोबर सोहोर्नु, भाँडाकुँडा माझनु, सबैका लुगाकपडा धुनु र घाँस काट्नु उनकै जिम्मा थियो। सात वर्षसम्म पार्वती साहूको घरमा कम्लहरी थिइन्।

त्यसो त अहिले पनि पार्वती बिहान ४ बजे नै उठ्छिन्। तर, काम गर्न होइन, पढ्न। उनको काम फेरिएको छ। घर फेरिएको छ। “बिहानै उठेर पढ्छु, चियानास्ता गर्छु” महेन्द्रनगरस्थित फारवेस्ट स्कूल अफ मेडिसिनमा स्वास्थ्य सहायक (एचए) दोस्रो वर्षमा अध्ययनरत पार्वती भन्छिन्। छिमेकी शिवनगर गाउँमा आमा बेलमती र बुबा भागिरामसँगै कम्लहरी बसेकी पार्वतीका पाँच भाइबहिनीको अवस्था पनि उस्तै थियो। स्कूलमा नाम लेखाएका थिए तर परीक्षा दिन मात्रै जान्थे।

पार्वतीले २०६८ मा शिवनगरको जनज्योति उमाविबाट एसएलसी र २०७० मा बेलौरीको महाकाली उमाविबाट १२ कक्षा पास गरिन्। “अहिलेसम्म साहूकै घरमा बसिरहेकी भए आजको दिन देख्नै पाउने थिइनँ”, उनी भन्छिन्।

सरकारले १३ असार २०७० मा मात्रै कम्लहरी प्रथा अन्त्यको घोषणा गर्‍यो। २०५७ सालमा कमैया मुक्तिको घोषणासँगै कम्लहरी मुक्त गरिदिएको भए थुप्रै मुक्त कमैयाका छोरीले साहूको शरणमा बाल्यकाल बिताउनुपर्ने थिएन।

तर, मुक्तिको दुई वर्षपछि पनि जिल्ला जिल्लामा कम्लहरी प्रथा उन्मूलन हुनसकेको छैन। जिल्ला भूमिसुधार कार्यालयका अनुसार कञ्चनपुरमा अझै १३५ जना कम्लहरी छन्। धनगढी, नेपालगञ्ज र काठमाडौंसम्म पुर्‍याइएका उनीहरूको उद्धारमा परिवारले नै असहयोग गरेको जिल्ला भूमिसुधार कार्यालयले जनाएको छ।

कक्षा ११ मा अध्ययनरत बालिका।
पार्वतीसँगै एचए पढिरहेकी पूर्व कम्लहरी राजकुमारी चौधरी (२०) ले त नौ वर्षमा मात्र अक्षर चिनेकी हुन्। कञ्चनपुरकै भीमदत्त नगरपालिका–२ उल्टाखामकी राजकुमारी भन्छिन्, “आठ कक्षा पास भएपछि मात्रै नियमित स्कूूल जान पाएँ।” १२ कक्षा पास गरेपछि मात्रै उनी कम्लहरी जीवनबाट मुक्त भइन्। “साहूहरूका घरमा पाएको दुःख सम्झ्नै नपरे हुन्थ्यो जस्तो लाग्छ”, उनी भन्छिन्।

कञ्चनपुरकै जनज्योति बहुमुखी क्याम्पसमा स्नातक पहिलो वर्षमा पढिरहेकी सुनिता चौधरी (२१) लाई पनि पुराना दिन जतिसक्दो चाँडै बिर्सने मन छ। थाहा पाएदेखि नै कम्लहरी बनेकी कृष्णपुर नगरपालिका–२ वाणीकी सुनिताले जसोतसो एसएलसी त पास गरिन् तर कलेजको पढाइ उनका लागि असाध्यै गाह्रो भयो। “पढाइ नै छोडौं जस्तो लाग्थ्यो”, उनी सुनाउँछिन्।

दैजीको धर्मपुरकी रमिता चौधरी (१८), माया चौधरी (१९), दैजी–१ सामादैजीकी सरिता चौधरी (१७) पनि पूर्व कम्लहरी नै हुन्। उनीहरू पनि अहिले उच्चशिक्षा अध्ययन गरिरहेका छन्।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लूए) को कम्लहरी प्रथा उन्मूलन परियोजनाका अनुसार हाल ५१३ जना मुक्त कम्लहरी बालिका विभिन्न तहमा अध्ययन गरिरहेका छन्। परियोजनाका प्रमुख हिक्मत दमाई सरकारी निकायसँगको समन्वयमा साहूको घरबाट उद्धार गरी कसैलाई घर त कसैलाई छात्रावासमै राखेर पनि पढाउन सहयोग गरिरहेको बताउँछन्।

सरकारले मुक्त कम्लहरी अध्ययन छात्रवृत्ति व्यवस्था पनि गरेको छ। जसअनुसार कक्षा १–८ सम्म १५ सय, ९ र १० मा १८ सय, ११ र १२ मा ५ हजार तथा स्नातक तहमा १० हजार रुपैयाँ वार्षिक छात्रवृत्ति रकम प्रदान गरिंदै आएको छ। “छात्रवृत्ति भन्नु मात्रै हो, शुल्क तिर्नै पुग्दैन”, सुनिता चौधरी भन्छिन्। तर, यो छात्रवृत्ति प्राविधिक शिक्षा अध्ययन गर्नेहरूलाई भने दिइएको छैन। उनीहरूलाई विभिन्न गैरसरकारी संस्थाले सघाइरहेका छन्। एचएकी विद्यार्थी राजकुमारी चौधरी गैरसरकारी संस्थाको परियोजनाका भरमा आफूहरूको पढाइ चलिरहेको बताउँछिन्।

कम्लहरी विगत र चरम गरीबीसँगै संघर्ष गरिरहेका उनीहरूलाई कलेजमा पनि सजिलो छैन। पहिले सधैं विद्यालय जान नपाएका कारण अहिले धेरै दुःख भोग्नु परिरहेको बताउँदै राजकुमारी भन्छिन्, “पढाइ कमजोर भएको भन्दै सरहरू नै हेप्नुहुन्छ, साथीहरू त परै जाओस्।” तर, जस्तोसुकै अपहेलना भए पनि पास गरेरै छाड्ने उनको अठोट छ।

बच्चु बिक, महेन्द्रनगर

comments powered by Disqus

रमझम