१३-१९ मंसीर २०७२ | 29 Nov - 5 Dec 2015

मनोबलले सशक्त

Share:
  
अपांगता भएका महिलाको आत्मविश्वाससामु शारीरिक दुर्बलताले हार मानेको छ।

अरूका लागि हात र खुट्टा अलग–अलग अंग हुन् तर पुतलीबजार, स्याङ्जाकी सुशीला ढकाल (३२) का लागि हात भन्नु नै खुट्टा हो, खुट्टा भन्नु नै हात। जन्मजात हात नभएकी उनी खुट्टाकै सहायताले अरूले हातले गर्ने काम गर्छिन्। “खुट्टा चलाएको देखेर मानिसहरू अचम्म मानेर हेर्ने गर्छन्। तर मलाई त बानी भइसक्यो”, उनी भन्छिन्।

खुट्टाकै भरमा स्नातकोत्तर सिध्याएकी ढकाल ७ वर्षदेखि काठमाडौं, लाजिम्पाटस्थित आन्तरिक राजस्व कार्यालयमा नायव सुब्बामा छिन्। बुबाआमा, दुई दाजु र दुई बहिनीको साथ र प्रोत्साहनले उनलाई विभेद महसूस नै भएन। “आत्मविश्वास हुनुपर्छ सबै कुरा सम्भव हुन्छ”, टेबुलको चिया दाहिने खुट्टाले उठाएर चुस्की लिंदै ढकाल भन्छिन्। उनका पति दल थापा पत्नीलाई सकारात्मक सोचको प्रेरणा मान्छन्।

भेदपु–२, दोलखाकी कमला बुढाथोकी (३०) को सक्रियता हेर्दा उनको अपांगताले अवरोध गरेजस्तो पटक्कै लाग्दैन। चूलोचौकोदेखि, कार्यालय तथा छोरी स्याहार्न समेत आफैंले भ्याएकी छन्। पाँच वर्षको हुँदा पोलियो भएर देब्रे खुट्टा नचल्ने भएपछि केही वर्ष उनी थला नै परिन्। तर, उपचारपछि उनी बिस्तारै हिंड्न सक्नेसम्म बनिन्। “हतारमा काम गर्नुपर्दा, सामान बोक्दा र बच्चा स्याहार्दा भने गाह्रो हुन्छ”, भक्तपुर, दुवाकोटस्थित स्वास्थ्य चौकीकी अहेब बुढाथोकीको अनुभव छ।

तस्वीरहरुः सुशीला बुढाथोकी
मीना पौडेल।

सुशीला ढकाल।

कमला बुढाथोकी।

सानै उमेरमा मेरुदण्ड बांगिने 'इस्कोलियोसिस्' समस्याबाट ग्रसित सैपु–८, रामेछापकी मीना पौडेल (३५) लाई जीवन सहज होला भन्ने कहिल्यै लागेकै थिएन। ७ वर्षसम्म राम्ररी हिंड्न पनि नसक्ने पौडेल परिवार र छिमेककी 'बिचरी' बनेकी थिइन्। संयोगले, उनी स्कूल भर्ना हुन पाइन्। परीक्षामा उत्तीर्ण भएपछि भने परिवारले पढ्न हौस्याए।

अपांगताका कारण शारीरिक वृद्धि स्वाभाविक नभएकाले उनमा विवाह सपना जस्तो लाग्थ्यो। पति, सासू–ससुरा, घरधन्दाको काममा उनी आफूलाई अनुपयुक्त पाउँथिन्। तर, साथीहरूकै करका कारण उनले अपांगता भएकै युवकसँग बिहे गरिन्। अहिले उनीसँग ८ वर्षको छोरो छ।

सामाजिक सेवामा सक्रिय भूमिकाकै कारण हाल अपांग महिला संघ, काठमाडौंकी सचिव पौडेलले १७ हजार युरोको 'इन्टरनेसनल प्राइज फर वुमेन अफ द इयर २०११' पुरस्कार समेत प्राप्त गरिन्। उनी भन्छिन्, “यो हिंड्न पनि सक्दिनँ, कसरी बाँच्छे भनेर सबैले पीर गर्थे, अहिले खुशी छन्।”

१२ वर्षअघि सडक दुर्घटनामा परी एउटा खुट्टा नचल्ने भएपछि अनारमनी–४, बिर्तामोडकी अधिवक्ता विमला खड्का (३८) को जीवन पूरै बदलियो। करिअर नै तहसनहस भयो। तर, उनले हिम्मत हारिनन्। पुनः काममा फर्किन्। विवाह गरिन्। “आफ्नो अवस्था स्वीकारेर अघि बढ्नुपर्ने रहेछ”, राजधानीस्थित महिला कानून तथा विकास मञ्च संस्थामा आवद्ध उनी भन्छिन्, “परिवारको साथ हुने हो भने शारीरिक र सामाजिक समस्याले खासै फरक नपार्ने रहेछ।” एक छोरीकी आमा उनी एलएलएम अध्ययनको तयारीमा छिन्।

सुशीला बुढाथोकी


आफैं उदाहरण

निर्मला धिताल, अध्यक्ष, नेपाल अपांग महासंघ

शिक्षित, रोजगार तथा आत्मनिर्भर अपांग महिलाले परिवार बसाए पनि अधिकांशको अवस्था नाजुक छ। एक त समाजमा अपांगले काम गर्नै सक्दैनन् भन्ने गलत धारणा छ, त्यसमाथि पनि महिला अपांग त कामै लाग्दैनन् जस्तो व्यवहार गरिन्छ। त्यसैले उनीहरू अरुकै भरमा बाँच्न बाध्य छन्।

परिवार, छरछिमेक र समाजले अपांगता भएका महिलाले पनि सामान्य जीवनयापन गर्न सक्छन् भन्ने स्वीकार नगरेकोले महिला स्वयं पनि प्रेम, विवाह र परिवार बसाल्ने कुरामा खुल्न चाहँदैनन्। अपांग महिला कुरुप हुने, घरधन्दा गर्न नसक्ने, यौनचाहना नहुने, बच्चा जन्माउन नसक्नेलगायतका विभिन्न अन्धविश्वास व्याप्त छ। उनीहरूलाई सकेसम्म अपांग/अशक्त पुरुष, बूढो वा रोगी मानिससँग विवाह गर्न वा दोस्रो पत्नी बनाउने गरेको देखिन्छ। कसैको प्रेमविवाह भइहाले पनि परिवारले नस्वीकार्ने चुनौती छ। यस्तो स्थितिमा विवाहबारे कतिपय दिदीबहिनीलाई परामर्श नै गर्नुपर्छ। हामी आफ्नै उदाहरण पनि दिन्छौं।

comments powered by Disqus

रमझम