१३-१९ मंसीर २०७२ | 29 Nov - 5 Dec 2015

ढलानका लागि आरएमसी

Share:
  
बालुवा, गिट्टी, सिमेन्ट र पानीको ठीक अनुपात मिलाएर तयार पारिएको आरएमसी कम्पनीले निर्माणस्थलमै पुर्‍याइदिने हुँदा यसको प्रयोग बढ्दो छ।

आधुनिक युगमा सुविधायुक्त घर निर्माण सबैको चाहना हो। भूकम्पीय जोखिममा रहेको हाम्रो देशमा सुविधायुक्त मात्र होइन, भूकम्प प्रतिरोधी घर बनाउनु पनि उत्तिकै जरूरी हुन्छ। बलियो घर निर्माणमा गुणस्तरीय सिमेन्ट, बालुवा र रोडाको मिश्रण ठीक अनुपातमा हुनुपर्छ। परम्परागत तरीकाले बनाउँदा यस्तो मिश्रणको अनुपात नमिल्ने र राम्रोसँग नघोलिने भएकोले अचेल रेडिमिक्स कंक्रिट (आरएमसी) को प्रयोग बढेको छ।

रेडिमिक्स कंक्रिटमा पोर्टल्याण्ड सिमेन्ट, गिट्टी, बालुवा, पानी र प्रयोग सहज बनाउने केमिकल मिसाइएको हुन्छ। यस्तो रेडिमिक्स कंक्रिट माग अनुसार उद्योगले तयार पारेर विशेष प्रकारको ट्यांकरबाट निर्माणस्थलमै पुर्‍याइदिन्छ। सिमेन्ट, रोडा, बालुवा, पानी र 'एडमिक्सचर' ठीक अनुपात मिलाएर ढलान तयार पार्ने हुँदा रेडिमिक्स कंक्रिट साँच्चैको 'कंक्रिट' हुन्छ। यसको अर्को फाइदा भनेको यो खेर जाँदैन, थोरै जनशक्तिबाट गुणस्तरीय निर्माण हुन्छ र भण्डारणको झ्न्झ्ट हुँदैन। अनि उत्पादकले कम्प्युटर प्रणालीबाट गुणस्तरीय मिश्रण तयार पारेर दिने हुँदा मिश्रण राम्रो भएन कि भन्ने चिन्ता पनि रहँदैन। यसको प्रयोगबाट समयको बचत र प्रदूषण न्यून हुनुका साथै ढुवानी गर्ने गाडीमा जडित उपकरणबाट मिश्रणलाई माथिल्लो तलासम्म पुर्‍याउन सकिन्छ।

पञ्चकन्या समूहले नेपालमा रेडिमिक्सको उत्पादन थालेको ८ वर्ष पुगिसकेको छ। भक्तपुरको जडीबुटीमा प्लान्ट स्थापना गरेर रेडिमिक्स कंक्रिट उत्पादन शुरू गरेको पञ्चकन्या आरएमसीले ठूला योजनाहरूका लागि आयोजनास्थलमै प्लान्ट राखेर सेवा दिने गरेको छ। पञ्चकन्या समूहका अपरेशन म्यानेजर अन्जान भट्टराई काठमाडौं उपत्यकामा मात्रै करीब २० वटा अन्य रेडिमिक्स प्लान्ट स्थापना भएको बताउँछन्। यस्तै तयारीमा छ, ब्रिज सिमेन्ट उद्योग पनि। तर, मुलुकको पछिल्लो अवस्थाले काम रोकिएको ब्रिजका स्ट्रक्चरल इन्जिनियर रविकुमार रौनियार बताउँछन्।

नेपालमा धेरैजसो सिमेन्ट कम्पनीहरूले रेडिमिक्स कंक्रिट उत्पादन गरिरहेको भए पनि ठूला निर्माण कम्पनीहरूले पनि यसको उत्पादन शुरू गरेका छन्।

महाभूकम्पपछिको पुनःनिर्माण कार्य धमाधम हुने अपेक्षा गरिएकोमा भारतको नाकाबन्दीले गर्दा सबै काम ठप्प जस्तै भएको छ। यो अवस्थाबाट आरएमसी उत्पादन पनि अछुतो छैन। इन्धन अभावमा आरएमसी प्लान्ट सञ्चालन हुनसकेका छैनन् भने आर्थिक अवस्था र वातावरण सहज नहुँदा निर्माण कार्य पनि अघि बढ्न सकेको छैन। राजनीतिक अवस्था सहज बन्दै जाँदा रेडिमिक्स कंक्रिटको माग पुनः बढ्ने कुरामा भने कुनै शंका छैन।

नेपालमा साना आवासीय भवनहरूमा रेडिमिक्सको प्रचलन धेरै नभए पनि ठूला भवन, पुल र औद्योगिक निर्माणमा यसको प्रयोग बढ्दो छ।

जान्ने–बुझनेहरूले आवासीय घरहरूमा पनि रेडिमिक्स कंक्रिट नै प्रयोग गर्न थालेको ब्रिज सिमेन्टका रौनियार बताउँछन्। रेडिमिक्सको माग कति बढेको छ भन्ने कुरा ब्रिज सिमेन्टले काठमाडौं, पोखरा, भैरहवा, बुटवल र नारायणगढमा उत्पादनको तयारी थाल्नुले नै बुझाउँछ। रौनियार भन्छन्, “मुलुकको अवस्था सामान्य बन्यो भने, हामी अत्याधुनिक मेशिनहरूबाट एकै पटक पाँच शहरमा उत्पादन थाल्छौं।”

comments powered by Disqus

रमझम