१३-१९ मंसीर २०७२ | 29 Nov - 5 Dec 2015

ग्याँसको विकल्प

Share:
  
नाकाबन्दीले खाना पकाउने ग्याँस हाहाकार भएपछि अनेक विकल्प अपनाउन थालिएको छ।

भारतको नाकाबन्दीका कारण खाना पकाउने ग्याँस सकिएपछि कुलेश्वर, काठमाडौंकी सरिता थापा मगर (४७) ले शुरुमा दाउरा बालेर छाक टारिन्। त्यसपछि ब्रिकेट चलाएकी उनले अहिले भने इन्डक्सन चूलोबाट भान्सा तयार पारिरहेकी छन्।

“एक सिलिन्डर ग्याँस तराईबाट झिकाएको थिएँ”, ९ मंसीरमा असन बजारमा भेटिएका सुदन अवाल (३६) भन्दैथिए, “त्यो पनि सकियो अब पंखे चूलो किन्न भाउ बुझ्दैछु।” रु.३५०० देखि रु.९ हजारसम्म पर्ने यस्ता चूलोलाई बिजुलीमा जोडेपछि दाउरा फुक्ने झ्ान्झ्ाट गर्नुपर्दैन।

खाना पकाउन एलपी ग्याँस वा मट्टीतेल प्रयोग गरिने काठमाडौंलगायत शहरी क्षेत्रमा दाउरादेखि बिजुलीका अनेक विकल्प प्रयोग गर्न थालिएको छ। कतिपयले ग्याँस अभावले देशलाई 'ढुंगे युग' तर्फ धकेलेको तर्क गरे पनि अभावले इन्धनको विकल्प खोज्न पनि झकझक्याएको छ। यसरी हेर्ने हो भने अभाव अवसर पनि बनिरहेको छ।

भान्साका भर

“पर्याप्त बिजुली उत्पादन गर्न सके एलपी ग्याँसको माग स्वाट्टै घट्नेथियो”, न्यूरोडस्थित विद्युतीय सामग्री बिक्रेता विनायक इम्पोरियमका सञ्चालक दिनेश दाहाल भन्छन्, “अझ, बायोग्याँस र सौर्य ऊर्जाको उपयोग गर्न सके त ग्याँस नै नचाहिने रहेछ।” उनी अहिले इन्डक्सन चूलो र यसलाई आवश्यक प्रेसर कुकर, फ्राइङ पान, कराही आदिको माग बढेको बताउँछन्। “लोडसेडिङ नहुने हो भने इन्डक्सन चूलो हाम्रा लागि दीर्घकालीन विकल्प बन्नेथियो”, उनी भन्छन्। ग्याँसभन्दा सस्तो र सुरक्षित हुने भएकाले इन्डक्सन चूलोको खरीद बढ्दो छ। तर, लोडसेडिङले यसको प्रयोग भनेजति सहज भने छैन।

बजारमा फिलिप्स, बजाज, सूर्य, पर्फेक्ट गरी रु.३५०० देखि रु.९ हजारसम्मका इन्डक्सन चूलो उपलब्ध छन्। “कतिपय गृहिणी इन्डक्सन चलाउन डराउने गरेका छन्,” विशालबजारस्थित डी.एस इम्पेक्सकी सञ्चालक सविता श्रेष्ठ भन्छिन्, “तर, यो ग्याँस स्टोभभन्दा खासै फरक छैन। अटोमेटिक मोडमा राखेर जे पनि पकाउन सकिन्छ।”

नवजात शिशुलाई तेल तताउन वा रेस्टुरेन्टहरूमा सेकुवा, तन्दुरी–रोटी आदि बनाउन मात्रै प्रयोग गरिने ब्रिकेट पनि भान्सा धान्ने साधन बनिरहेको छ। “ब्रिकेट उत्पादनलाई प्राथमिकतामा राख्ने हो भने यसले ताप–ऊर्जामा ठूलो सहयोग पुर्‍याउनेथियो”, सिन्धुपाल्चोकस्थित बायो–इनर्जी प्रोजेक्टमा कार्यरत रश्मि सिलवाल भन्छिन्, “खेर गइरहेका पात–पतिङ्गरलाई ऊर्जामा परिणत गर्न सकिने यो विधिबाट ग्याँसप्रतिको निर्भरता कम गर्न सकिन्छ।”

थन्क्याइएका माटो वा फलामको प्लेट भएका विद्युतीय हीटर, ओदान र फलामका चूलाहरू पनि प्रयोगमा आउन थालेका छन्। विद्युतीय जग, कितली, राइस–कुकर, ओभन, टोस्टर, हट–पट, टी–मेकर आदिको उपयोग पनि बढेको छ। पानी तताउने जगमा दूध उमाल्नेदेखि राइस कुकरमै खिचडी पकाएर छाक टारेको समेत देखिएको छ। “देशलाई संकट पर्दा जनताले सहयोग गर्नुपर्छ”, कुलेश्वरकी सरिता थापा भन्छिन्, “त्यसैले सबै उपाय र विकल्प प्रयोग गर्नुपर्छ।”

सजना बराल

comments powered by Disqus

रमझम