साइकल शहर

Share:
  
नाकाबन्दीका कारण काठमाडौं पुनः साइकल–सुहाउँदो शहर बन्दो छ।

वान्डा भिभेक्विन

दुईदशक अघिसम्म काठमाडौं साइकल कुदाउन मिल्ने विश्वकै उत्कृष्ट शहरमध्ये एक थियो। न त्यति धेरै ठूलो क्षेत्रफल न सवारीको चाप। कीर्तिपुर र भक्तपुर पुग्न समेत सजिलै पेडल मार्न सकिन्थ्यो। तर, समयसँगै महानगर झाङ्गिएपछि बग्रेल्ती सवारी थपिए। सडक साँघुरो बन्यो। प्रदूषण पनि बढ्यो। 'अब, शहरमा साइकल कुदाउन रोमाञ्चकता नै कहाँ बाँकी रह्यो र!' कतिपय साइकलप्रेमीबाटै यस्तो सुनिन्थ्यो।

भारतबाट इन्धन आपूर्ति ठप्प भएपछि भने काठमाडौं पुनः साइकल–सुहाउँदो शहर बन्दो छ। तर, यतिवेला बाध्यतापूर्वक साइकल चढेकाको कुरा दिगो र भरपर्दो हुँदैन। किनभने इन्धन आपूर्ति सहज भएसँगै उनीहरू साइकल थन्क्याउने छन्। सडक फेरि धूलो, धूवाँ र सवारीको चापले भरिनेछ। साइकल फेरि पनि थोरै मानिसको सोखको साधन बन्नेछ।

केही दिनअघि मैले माउन्टेन बाइकिङका अग्रज सोनार गुरुङसँग एउटा साइकल भाडामा लिएको थिएँ। त्यसमै चढेर खाजा खान पाटन पुगें, त्यहाँबाट मिटिङका लागि सानेपा गएँ। बाटोभरि पेट्रोलको लाइनमा बसेका मोटरसाइकल र ट्याक्सीको लहर देखियो। मत्स्येन्द्रनाथको रथ ठड्याएर राखेको बाटो हुँदै म ठमेलस्थित लज पुगें। मैले त्यो दिन सडकछेउ तरकारी बेच्नेदेखि पैदल यात्री र घ्वार्र आवाज निकाल्दै गुडेका सफा टेम्पुको ढाड पनि पढ्न भ्याए, जहाँ 'नो डिजल, नो ग्याँस, नो प्रोब्लम' लेखिएको थियो।

तस्वीरहरुः गोपेन राई ।

साइकलमा डुल्दा काठमाडौं फरक खालको लाग्यो, यसअघिका २८ वटा नेपाल भ्रमणभन्दा बिल्कुल फरक। मलाई एकाएक सन् १९७० वा ८० को दशकमा काठमाडौं डुलेकाहरूप्रति इर्ष्या लाग्यो। तर, जे होस्, उनीहरूले देखेको वा भोगेको शहरलाई यसपटक मैले थोरै मात्र भए पनि हेर्न पाएँ। मलाई लाग्यो, योजनाबद्ध काम गर्ने हो भने काठमाडौंलाई सहजै साइकल शहर बनाउन सकिन्थ्यो।

(भिभेक्विन नेपाली हिमालय क्षेत्रकी पर्यटक पथप्रदर्शक एवं लेखक हुन्।)

comments powered by Disqus

रमझम