१३-१९ मंसीर २०७२ | 29 Nov - 5 Dec 2015

विदा भए वनवारीलाल

Share:
  

जंगबहादुर राणाले वि.सं. १९०५–१० बीचमा राजस्थान र बिहारको बेतियाबाट हरजश राय, उच्चडमल टिबडेवाला, आशाराम–घाँसीरामसहित एक दर्जन मारवाडी परिवारलाई व्यापारका लागि नेपाल भित्र्याएका थिए। त्यही पुस्ताका मारवाडीमध्ये एक थिए– रामरतनदास। रामरतनदासले इन्द्रचोकमा खोलेको कपडा पसललाई छोरा बलदेवदास र त्यसपछि नाति हनुमानप्रसादले निरन्तरता दिए, इमान–जमानको साखसहित। मूल्य र परिमाण तलमाथि नगर्ने 'हनुमान साहूको पसल' को लोकप्रियता चारभञ्ज्याङ नाघेर फैलियो। आजका अर्बपति विनोद चौधरीका बाजे भुरामल नेपाल आएर शुरूमा त्यही पसलमा काम गरेका थिए।

अत्यन्तै धार्मिक स्वभावका हनुमानप्रसादले पूर्व घोषणा गरेको मितिमै ३९ वर्षको उमेरमा देहत्याग गरेको छोरा वनवारीलाल मित्तलले हिमाल सँग बताएका थिए। सरकारी मुखपत्र गोर्खापत्र ले ३ साउन २००१ को अंकमा दानका लागि पनि सुप्रसिद्ध ३२ कोठी महाजन हनुमानप्रसादको निधन योगीको जस्तै भएको भन्दै सम्पादकीय लेखेको थियो। उनको निधनमा जुद्धशमशेरले शोक व्यक्त गरेको र पद्मशमशेर रोएको वनवारीलालले हिमाल लाई सुनाएका थिए। बुबाको मृत्युपछि दाजुहरूसँगै आठ वर्षको उमेरमा नाफा–नोक्सानको दुनियाँमा पसेका वनवारीलाल मित्तलले पनि ८० वर्षे चोलामा कहिल्यै नैतिक प्रश्न उठ्न नदिई ९ मंसीरमा सदाका लागि विश्राम लिएका छन्।

(वि.सं. १९९२ – ९ मंसीर २०७२)

सफल–निष्कलंक जीवन

भारतबाट झिकाइएका मारवाडी परिवारको चौथो पुस्ताका वनवारीलालले परम्परागत पारिवारिक कपडा व्यापारलाई गलैंचा, पस्मिना, तयारी पोशाक, चिया उद्योग, आयात–निर्यात र निर्माण व्यवसायदेखि एअरलाइन्ससम्म विस्तार गरे। दुई पटक नेपाल चेम्बर अफ कमर्सको नेतृत्व गरेका उनले जीवनमा जति धन कमाए, त्यसमा कहिल्यै अनैतिकताको दाग लाग्न दिएनन्। 'देशका एक इमानदार व्यवसायी' उनले कमाएको सबभन्दा ठूलो पूँजी थियो।

कपडा र खाद्यान्न व्यापारमा सीमित मारवाडी समुदायका वनवारीलाल पहिलो व्यवसायी थिए, जसले मित्तल कन्स्ट्रक्सन कम्पनी खोलेर निर्माण व्यवसायमा हात हाले। नेपाल निर्माण व्यवसायी महासंघको संस्थापक अध्यक्ष रहेका उनले सडक, सिंचाइ, जलविद्युत्लगायतका पूर्वाधार निर्माणको काम गरे। निर्माण व्यवसायमा दादागिरी र भ्रष्टाचार छिरेपछि भने देवताको डर राख्ने उनले त्यो व्यवसायबाट हात झिके। उनी चेम्बरको अध्यक्ष छँदा पस्मिना उद्योगलाई उत्पत्तिको प्रमाणपत्रमार्फत गरिएको प्रोत्साहनले नेपाली पस्मिना व्यवसायमा सम्भावनाको नयाँ ढोका खोलेको थियो।

वनवारीलाल मित्तललाई बढी चिनाउने काम चाहिं हवाई व्यवसायले गर्‍यो। उनले १७ वर्षअघि शुरू गरेको श्री एअरलाइन्सले विश्वव्यापी प्रतिस्पर्धाबाट छानिएर राष्ट्रसंघका लागि लामै समय सामान ढुवानी गर्‍यो। तर, युरोपियन युनियनले नेपालबाट वायुसेवा सञ्चालन अनुमति प्रमाणपत्र पाएका कम्पनीहरूलाई कालोसूचीमा राखेपछि राष्ट्रसंघले श्री एअरलाइन्ससँगको सम्झौता तोड्यो। आफ्नो कम्पनीको कुनै कमजोरी नभए पनि देशको असुरक्षित नागरिक उड्डयनको मारमा परे, वनवारीलाल। सरकारी पहलबाट हल हुने समस्या भए पनि उनले अधिकारीहरूको असहयोग झ्ोल्नुपरेको थियो।

मांस–मदिराजन्य र प्रकृतिलाई सीधै असर पार्ने व्यवसाय नगर्न प्रतिबद्ध वनवारीलाल मित्तलले नेपालमा धार्मिक पर्यटनको अवधारणा अघि बढाए। स्वधर्म पालनाका यस्ता प्रतिबद्धताहरूले उनलाई अन्य कतिपय ठूला व्यवसायिक घरानासरह पंख फिजाउन दिएन। एउटा समाजसेवीको रूपमा जहिल्यै उदार भएर मुट्ठी फुकाउने उनी नेपाल नेत्रज्योति संघ, मारवाडी परिषद्, पशुपति क्षेत्र विकास कोष, नेपाल उद्योग परिसंघ आदि संघसंस्थामा आवद्ध रहे। उनी दान–सहयोगको प्रचारले परोपकारको मर्म मार्ने बताउँथे। हिमाल सँगको पछिल्लो भेटमा उनले भनेका थिए, “दूरदराजमा जन्मेको भए यतिवेला म भरपेट खानकै लागि संघर्ष गर्दै हुनेथिएँ होला, यसैले यो ईश्वर निर्देशित जीवनमा सकेजति लगन र इमानले काम गर्छु।”

साथीसङ्गीमाझ उनी हँसमुख, मिलनसार र समझ्ादारका रूपमा प्रिय रहे। गद्दीबाट कर्पोरेट युगमा पुगेको नेपाली व्यापारिक क्षेत्रको इतिहास बुझाइमा बेजोडा वनवारीलालसँगको कारोबारमा कटुता अनुभव गर्नेहरू शायदै होलान्। नेपाली समाजबारे गहिरो ज्ञान राख्ने उनीसँग मारवाडीबाहेक अंग्रेजी, नेपाली, नेवारी, मैथली, हिन्दी भाषामा राम्रो संवाद क्षमता थियो। औसत नेपाली हिसाबले आठ दशकको आयु कम्ती अनि मृत्यु असामयिक नभए पनि अनुहारको चमक र शारीरिक तन्दुरुस्ती देखिंदादेखिंदै भएको उनको निधन अप्रत्यासित थियो। ईश्वर निर्देशित वनवारीलाल मित्तललाई नेपाली समाज–संस्कृति तथा व्यापार–व्यवसाय बुझ्ोका एक वेदाग व्यवसायीको रूपमा सम्झिइनेछ।

उनका श्रीमती, एक छोरी र एक छोरा छन्।

रमेश कुमार

comments powered by Disqus

रमझम