१३-१९ मंसीर २०७२ | 29 Nov - 5 Dec 2015

अ वालनट ट्री उत्कृष्ट

Share:
  

फिल्म साउथ एशिया ट्रष्टले ३–६ मंसीरमा आयोजना गरेको 'फिल्म साउथ एशिया २०१५' मा पाकिस्तानी निर्देशक अम्मर अजिजको वृत्तचित्र 'अ वालनट ट्री' उत्कृष्ट ठहरियो। पाकिस्तानी सेना र तालिवानबीचको लडाइँका कारण शरणार्थी जीवन बिताइरहेको एक परिवारको भोगाइमा आधारित चलचित्रका लागि अजिजलाई 'रामबहादुर ट्रफी' सँगै २ हजार अमेरिकी डलर प्रदान गरियो।

महोत्सवमा भारतीय निर्देशक इफत फतिमाको 'ब्लड लिभ्स् इट्स टे्रल' ले एक हजार अमेरिकी डलरसहित रनर अप पुरस्कार प्राप्त गर्‍यो भने भारतीय शास्त्रीय संगीतको प्रभावबारे बनाइएको 'अन एन्ड अफ द रेकर्डस्' का लागि प्रतीक विश्वासले एक हजार डलरसहितको 'द तारेक मसुद अवार्ड' हात पारे।

विद्यार्थीको प्रतिभालाई प्रोत्साहन गर्ने हेतुले यसै वर्षबाट शुरु गरिएको 'स्टुडेन्ट सेक्सन' अन्तर्गत म्यानमारकी केव म्यो ल्युइनले 'टायर्स' चलचित्रका लागि द काठमाडौं पोस्ट अवार्ड हात पारिन्। रामेछापको गरीब दर्नाल परिवारको कथा समेटिएको रम्यता लिम्बू र एमी बेन्सन निर्देशित वृत्तचित्र 'ड्रइङ द टाइगर' चलचित्रलाई भने युनिसेफ अवार्ड प्रदान गरिएको थियो।

भारतका प्रख्यात चलचित्र निर्देशक अदुर गोपालकृष्णनन्को उपस्थिति रहेको महोत्सवमा भारतकै सञ्चारकर्मी ए.एस पानिरसेल्भन, श्रीलंकाकी अनोमा राजाकरुणा र नेपालका नारायण वाग्ले निर्णायक थिए। पाटनको यलमाया केन्द्रमा आयोजित महोत्सवमा ४३ वटा वृत्तचित्र देखाइएका थिए।


न्यूयोर्कमा शेर्पा हजाम

नेपालमा हजाम भन्नेबित्तिकै तराई र भारतीय मूलका मानिसका अनुहार मस्तिष्कमा आउँछ, जसरी शेर्पा भन्नेवित्तिकै हिमाल आरोहण गर्ने समुदायको सम्झ्ाना हुन्छ। तर, चौंरीखर्क–४, सोलुखुम्बुका पासाङ नुरु शेर्पा अमेरिकाका नेपाली हजाम हुन्। उनी न्यूयोर्कस्थित ज्याक्सन हाइटमा 'पासाङ हेयर स्टाइल' सञ्चालन गरिरहेका छन्। “मेरो खानदानको मात्रै होइन, शेर्पा समुदायकै पहिलो हेयर स्टाइलिस्ट म नै हुँला”, पासाङ भन्छन्।

उनको 'हजाम' पेशालाई लिएर शेर्पा समुदायमा विभिन्न प्रतिक्रिया नसुनिएको होइन। तर, पासाङले यसलाई खासै ख्याल गरेनन्। कारण, उनी हिमाल आरोहण बाहेकको कुनै अलग पेशा अपनाउन चाहन्थे। त्यसका लागि सन् २००४ मा अमेरिका आउनुअघि नै उनले काठमाडौंमा पाँच महीना र न्यूयोर्कमा थप नौ महीना 'हेयर स्टाइलिङ' तालीम लिए। त्यसपछि केही समय न्यूयोर्ककै शैलुनमा काम गरे। आत्मविश्वास पलाएपछि उनले आफ्नै शैलुन खोले, जहाँ उनलाई सफलता मिलिरहेको छ। त्यसो त पासाङ गीत पनि लेख्छन्। अहिले उनी 'हामी नेपाली' गीति संग्रहको तयारी गरिरहेका छन्।

शब्दः ङिमा पाखि्रन, तस्वीरः एमपी श्रेष्ठ अमेरिका


शान्ति दौड

५ मंसीर २०६३ को विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै भएको 'नेपालगञ्ज पिस म्याराथन–२०१५' प्रतियोगितामा खुलामा पुरुषतर्फ नेपाली सेनाका होमलाल श्रेष्ठ र महिलातर्फ नेपाल एपीएफ क्लबकी कृष्णेश्वरी सिन्तकला प्रथम भए। विद्यालयस्तरीय प्रतियोगितामा भने छात्रतर्फ बाँकेका सागर बुढाथोकी, छात्रातर्फ जुम्लाकी मञ्जु रावत र ट्राइसाइकल दौडमा यज्ञबहादुर खत्री उत्कृष्ट ठहरिए।

comments powered by Disqus

रमझम