चिटिक्क मिलाएर राखिएका सीसीका स–साना बोतलअघि उभिएका ग्यात्सो बिष्ट दराजतिर हात डुलाउँदै तिनमा टाँसिएका प्रत्येक स्टीकर नियाल्छन्। “यो क्याप्सुलमा अलिअलि सुन मिसाइएको छ”, बिष्ट भन्छन्, “अर्कोमा चाहिं थोरै चाँदी छ। सबै चीनबाट ल्याइएको हो।” आम्चीज अर्थात् तिब्बती वैद्य परम्पराका पछिल्ला पुस्ताका उनी मुस्ताङका पूर्व राजाका निजी चिकित्सक समेत हुन्।
मुस्ताङ, डोल्पा, मुगु र गोर्खामा आम्चीज संस्कार पहिले जस्तो छैन। एक हजार वर्षदेखि अभ्यास गरिंदै आएको मानिने यो संस्कार जोगाउन बिष्टले भाइ तेन्जिङसँग मिलेर लोमान्थाङमा 'लो कुनफेन टे्रडिशनल हर्बल मेडिसिन क्लिनिक एण्ड स्कूल' खोलेका छन्।
भारत र चीनले तिब्बती आयुर्वेदको उपयोगिता बुझेर थुप्रै विद्यालय तथा तालीम केन्द्र खोलेका छन्। तर, नेपालमा प्राचीन चिकित्साको यो हाँगोबारे अध्यापन गराउने बिष्टकै विद्यालय मात्र हो। बिष्ट भन्छन्, “रुचि भएका जुनसुकै पृष्ठभूमिका विद्यार्थीले यो विषय अध्ययन गर्न सक्छन्।” एकदेखि कक्षा ६ सम्म लोमान्थाङमा पढाइन्छ भने सातदेखि १२ कक्षा पोखरामा।
बिष्टका अनुसार, विद्यार्थीलाई तिब्बती औषधिको आधारभूत ज्ञान कक्षा ८ पछि मात्रै दिइन्छ। स्थलगत अध्ययनमै लगेर हिमाली जडीबुटी चिन्ने र संकलन विधि सिकाइन्छ।
अहिलेसम्म ११ जना विद्यार्थीले निमावि स्तर पूरा गरेका छन्। पाठ्यपुस्तक र अनुभवी आम्चीजको अभावमा माथिल्लो तहको अध्यापनमा भने समस्या छ। “पाठ्यपुस्तक तिब्बती भाषामा मात्रै उपलब्ध छन्”, बिष्ट भन्छन्, “भाषाकै कारण धेरैले रुचि पूरा गर्न पाएका छैनन्।”
साबुन, क्रिम र दन्तमंजनलगायतका उत्पादनलाई पनि अचेल 'रसायनरहित र जडीबुटी प्रयोग गरिएको' भन्दै विज्ञापन गर्न थालिएको छ। यस्तो स्थितिमा आम्चीजलाई बहुराष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धा गर्न आवश्यक जडीबुटी संकलनमा संघर्ष गर्नुपरिरहेको छ। यस्ता जडीबुटी चिसो हिमाली मौसममा मात्र पाइन्छ।
आयशा शाक्य, मुस्ताङ