१३ फागुन २०६९ | 24 February 2013

जिन्दगी गाएरै बिताइयो

Share:
  

श्रोतासम्म पुग्ने अहिलेका जस्ता सञ्चारमाध्यम नहुँदा लक्ष्मी जोशी धनकुटाका गाउँबेंसी चहार्थे, नयाँ-नयाँ भाका खोज्दै हिंड्थे। यसरी उनले खोजेको 'रिटिङ रिटिङ नबजाऊ विनायो, विनायोले मन मेरो छिनायो' बोलको गीत २०१८ सालमा तारादेवी र गंगा राणासँग रेडियो नेपालमा रेकर्ड गराए।

जोशीले त्यही गीत २०३६ सालमा दोस्रोपटक मीरा राणासँग र तेस्रो पटक २०५४ मा लोचन भट्टराईसँग रेकर्ड गरे। कुनै युगल गीत यति धेरै पटक-पटक गाएको र श्रोताले मन पराएको अरु उदाहरण छैन। ७७ टेकेका जोशी भन्छन्, "यही गीत अञ्जु पन्त पुस्ताका गायिकासँग रेकर्ड गराएँ भनें पनि मज्जाले चल्नेमा म ढुक्क छु।"

जोशीको साथमा लोकबाजा विनायो हरहमेशा हुन्छ। उनी यो बाजालाई सबैमाझ चिनाउन चाहन्छन्। छिप्पिएको मालिंगोको कप्टेरोलाई खुब खिप्ती लगाएर बनाइएका विनायो उपहार पनि बाँड्छन्, उनी। पिता शिवकृष्णमान सिंह भजन गायक भएको र घरमा साजबाज भएका कारण बालकैमा जोशी गीत-संगीतमा आकर्षित भए। मेलापात, बिहे-ब्रतबन्ध, वनभोज र विद्यालयमा गाँउदागाउँदै उनी धनकुटा वरपर गायकको रुपमा चिनिए। "नाचगान भनेपछि भोकप्यास बिर्सेर लागिन्थ्यो", उनी सम्झन्छन्, त्यो दिन तांखुवाको सांस्कृतिक कार्यक्रममा नहिंडेको भए २०१४ सालमै एसएलसी परीक्षा दिन्थें।"

हालसम्म उनका जम्माजम्मी ५० गीत रेकर्ड भएका छन्। तीमध्ये वल्लो खोलो पल्लो खोलो कमिलाको गोलो... , कान्छी मट्याङ ट्याङ..., खिपीमा खिपी विनायो बाजा मुखैको तालैमा... जस्ता गीतले उनलाई नेपाली लोकगीतको क्षेत्रमा विशेष बनायो। रेशम बोलको उनको अर्को लोकप्रिय गीतलाई नेपथ्य ब्याण्डले सोध्दै नसोधी शब्द फेरेर चर्चित भयो। गीतलाई आफ्नै जस्तो पार्न नेपथ्यले फेरेको शब्द सुन्दा चाहिं जोशीलाई हाँसो उठ्छ। नेपथ्यले क्षमा मागेको भने उनलाई निको लागेको छ। उनी भन्छन्, "क्षमा मागेपछि जो भयो सो भयो।"

नरमाइलो कुरा, उमेरसँगै उनको दैनिकी खुम्चिंदैछ। दुईवर्षदेखि विधुर जीवन बिताइरहेका उनी कतै ननिम्त्याइएको समयमा एक्लै आफूलाई फ्ल्यासब्याकमा नियाल्छन्। यसरी हेर्दा आफूले नेपाली लोकगीतमा केही अर्थपूर्ण काम गरेको पाउँछन्। जोशी भन्छन्,"सन्तोषको कुरा यत्ति हो।"

गोपाल गडतौला, झापा

comments powered by Disqus

रमझम