१६-३० चैत्र २०६० | 29-31 Mar 01-12 Apr 2004

आँखामा उन्नति

Share:
  
- मुकुल हुमागाइँ
आँखाको उपचारमा नेपाल अगुवा र आत्मनिर्भर हुँदै गएको छ । सीमावर्ती क्षेत्रका आँखा अस्पतालहरूमा ८० प्रतिशतसम्म भारतीय बिरामीले सेवा लिन थालेपछि अस्पतालहरू आर्थिक हिसाबले पनि बलिया भएका छन् ।

जानकी आँखा अस्पताल, जनकपुरमा पंक्तिबद्ध आँखाका बिरामीहरू

कुनै पनि नेपालीले आँखाको उपचार गर्न विदेश त के, राजधानी काठमाडौँ नै धाइरहनु पनि पर्दैन । इलाम–झपाबासीले बिर्तामोडको मेची आँखा उपचार केन्द्र र डोटी–कैलालीबासीले धनगढीको गेटा अस्पतालमा आँखाको जुनसुकै रोगको उपचार गराउन सक्छन् । स्वास्थ्यका अन्य कतिपय क्षेत्रमा पछाडि नै रहेको नेपालले आँखाको उपचारमा छिमेकीहरूलाई समेत सेवा दिइरहेको छ । तराईका आँखा अस्पतालहरू प्रत्येक वर्ष एक लाखभन्दा बढी भारतीय बिरामीहरूलाई सेवा पु¥याउँछन् । आँखा उपचार नेपालको सबैभन्दा गतिशील स्वास्थ्य सेवा ठहरिएको छ । नेपालमा सबैभन्दा धेरै अस्पताल र स्वास्थ्य केन्द्र आँखाकै छन् । तीन दशकअघिसम्म काठमाडौँको वीर अस्पताल र विराटनगर, वीरगन्ज र पोखराका अस्पतालमा मात्रै आँखाको उपचार हुन्थ्यो । पोखरादेखि पश्चिममा त आँखा उपचार गर्ने कुनै संस्था नै थिएनन् । वि.सं. २०३० बाट विस्तार हुन थालेको आँखा उपचार अहिले १७ वटा आँखा अस्पताल र ३२ वटा उपचार केन्द्रसहित देशभरि फैलिएको छ । ११ वटा अञ्चलमा कम्तीमा एक–एक वटा आँखा अस्पताल छन् । ३० वर्षअघि वर्षको सात सय आँखाको शल्यक्रिया हुने नेपालमा सन् २००३ मा १ लाख ४७ हजार शल्यक्रिया भयो । पहिले वर्षमा तीन–चार वटा आँखा शिविर बस्ने नेपालमा अहिले सय भन्दा बढी आँखा शिविर बस्छन् र तिनबाट विकट र दुर्गम जिल्ला÷गाउँका जनताहरूले उपचार पाएका छन् । तीन दशकमा आँखा विशेषज्ञको सङ्ख्या सात जनाबाट ११० पुगेको छ । नेपालका चार वटा स्वास्थ्य शिक्षण संंंस्थामा आँखाको पोष्ट ग्राजुयट तह (एमडी) सम्मको पढाइ हुन्छ ।

लाहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालको चौरमा शल्यक्रियापछि एकत्रित बिरामीहरू । यहाँ बहुसङ्ख्यक बिरामी भारतबाट आउँछन् ।

तराईका प्रमुख शहरहरू बिर्तामोड, दमक, विराटनगर, लाहान, वीरगन्ज, गौर, भरतपुर, सिद्धार्थनगर (भैरहवा), तुल्सीपुर, धनगढी, नेपालगञ्जमा २५ देखि ५५० शैय्यासम्मका आँखा अस्पतालहरू छन् । लाहानको सगरमाथा चौधरी अस्पताल नेपालकै सबभन्दा ठूलो आँखा अस्पताल हो । ४१० शैøया भएको र ५५० शैय्यासम्म विस्तार गर्न सकिने यो अस्पतालका शैय्या प्रायः सधैँ भरिभराउ रहने गरेको अस्पतालका कार्यक्रम निर्देशक अलब्रेष्ट हेनिग बताउँछन् । सन् २००३ मा यो अस्पतालको बहिरङ्ग सेवा (ओपीडी)मा आउने रोगीहरूको सङ्ख्या १ लाख २२ हजार थियो । त्यस्तै २२० शैय्या भएको लुम्बिनी रण–अम्बिका अस्पतालमा १ लाख १५ हजार रोगीहरू ओपीडीमा आएका थिए । अस्पताल नभएका ठाउँमा आँखा उपचार केन्द्रहरूले अस्पताल सरह उपचार दिइरहेका छन् ।

गैरसरकारी संस्थाहरूको योगदान

किरण पाण्डे
पहाडी क्षेत्रका बासिन्दालाई घुम्ती आँखा शिविरले ठूलो गुन लगाएको छ । नेपाल रेडक्रस सोसाइटीद्वारा लेकफर्सा, सुर्खेतमा हालै सञ्चालित आँखा शिविरमा मोतीबिन्दुको शल्यक्रियापछि बृद्धाहरू ।

आँखा उपचारमा नेपालको प्रगतिका पछाडि गैरसरकारी संस्थाहरूको ठूलो योगदान छ । पहिलो आँखा अस्पताल खोल्ने काम होस् या आँखा भित्र ‘इन्ट्राअकुलर लेन्स’ (आईओएल) राखेर मोतीबिन्दुको शल्यक्रियामा आमूल परिवर्तन ल्याउने, नयाँ–नयाँ पहलहरू गैरसरकारी क्षेत्रबाटै भएका छन् । केही सरकारी अस्पतालका शाखाहरूमा सीमित आँखा उपचार सेवालाई देशव्यापी बनाउने, दक्ष जनशक्ति तयार पार्ने, राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूसँग समन्वय राखी तिनलाई आँखा उपचारमा लगाउने काम नेपाल नेत्रज्योति संघको पहलमा भएको हो । आँखा शिविरमार्फत् देशव्यापी उपचार पु¥याउने कामको सुरुआत पनि संघले नै ग¥यो । सरकारले रु.३२ दैनिक भत्ता दिएको बेला शिविरमा डाक्टरहरूलाई आकर्षित गर्न संघले रु.५०० भत्ता दिने गरेको थियो । काठमाडौँ बाहिरका आँखा अस्पताल र केन्द्रहरू विदेशी गैरसरकारी संस्थालाई एकएक अञ्चलको जिम्मा दिने नेत्रज्योति संघकै रणनीतिका आधारमा स्थापना गरिएका थिए ।

सरकारी हस्तक्षेप नहुनु पनि आँखा उपचारमा नेपालको प्रगतिको एउटा कारण हो । सरकारी भूमिका कम हुँदा गैरसरकारी संस्थाहरूले स्वतन्त्र रूपले काम गर्न पाएको बताउँदै नेपालको आँखा उपचारमा अग्रणी चिकित्सक एवं नेपाल नेत्रज्योति संघका अध्यक्ष डा. रामप्रसाद पोखरेल भन्छन्, “हामीले कहिल्यै सरकारसँग आर्थिक सहयोगका लागि हात पसारेनौँ । र, उनीहरूको आदेश मान्नुपर्ने वा हस्तक्षेप हुने स्थिति पनि आएन । अस्पताल स्थापना गर्ने, उपकरण किन्ने, जनशक्ति तयार पार्ने, खर्च व्यहोर्ने र त्यसलाई स्वाबलम्बी बनाएर चलाउनेसम्मका सबै जिम्मा गैरसरकारी संस्थाहरूलाई दियाँै । यसरी नै प्रायः सबै अञ्चलमा आँखा अस्पताल बनेका हुन् ।” नेत्रज्योति संघ अन्तर्गतका आँखा अस्पतालहरूमा अहिले डेढ दर्जन अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू आबद्ध छन् । त्यसबाहेक तिलगङ्गा आँखा केन्द्र, नेपाल आँखा अस्पताल, लायन्स आइकेयर सेन्टर, बीपी कोइराला लायन्स सेन्टर फर अप्थाल्मिक स्टडीज जस्ता संस्थाहरू पनि आँखा उपचारमा सक्रिय छन् ।

छिमेकीलाई समेत सेवा

सगरमाथा चौधरी आँखा अस्पताल–लाहान

उत्तर भारतका खासगरी बिहार, उत्तरप्रदेश र पश्चिमबङ्गालका आँखाका बिरामीहरूलाई नेपाली आँखा अस्पतालमा तान्नु नेपालको आँखा उपचार सेवाले हासिल गरेको प्रमुख उपलब्धि हो । सन् ८० को दशकसम्म तराई क्षेत्रका नेपालीहरू आँखा उपचारका लागि भारत, उत्तरप्रदेशको सितापुर जान्थे भने अहिले भारतीयहरू आँखाको उपचार गराउन तराईका आँखा अस्पतालमा आउँछन् । यी अस्पतालहरूमा ६० प्रतिशत आँखाको शल्यक्रिया भारतीयहरूको हुन्छ । नेपाल नेत्रज्योति संघका अनुसार, सन् २००३ मा शल्यक्रिया गरिएका १ लाख ४७ हजार बिरामीमध्ये ८८ हजार ३८९ जना भारतीय थिए । तराई र भित्री मधेशका ११ वटा आँखा अस्पतालका प्रमुख ‘क्लाइन्ट’ भारतीयहरू नै हुन् । लाहानको सगरमाथा चौधरी आँखा अस्पतालमा भारतबाट बस रिजर्भ गरेर बिरामीहरू आउने गर्छन् । बिहारका गोपालगन्ज, कटियार, शिवान जस्ता ठाउँमा भारु १५ सयमा बिरामीहरूलाई लाहान लैजाने, शल्यक्रिया गराउने र फिर्ता ल्याउने काम गर्ने एजेन्टहरू नै छन् ।

रणअम्बिका आँखा अस्पताल–भैरहवा

सगरमाथा चौधरी आँखा अस्पतालका कार्यक्रम निर्देशक डा. हेनिग भन्छन्, “दैनिक चार–पाँच सय भारतीयहरू यहाँ आँखा जँचाउन आउँछन् ।” सिद्धार्थनगरमा रहेको रण–अम्बिका आँखा अस्पतालका प्रमुख डा. अमर देउजाका अनुसार सो अस्पतालको ओपीडीमा ६५ प्रतिशत बिरामी भारतीय र ८० प्रतिशत शल्यक्रिया भारतीयकै हुन्छ । सन् २००३ मा सगरमाथा चौधरी आँखा अस्पताल र लुम्बिनी रण–अम्बिका आँखा अस्पतालमा क्रमशः ४४ हजार २०० र २२ हजार ६६५ भारतीयको शल्यक्रिया भएको थियो । नेपालका अस्पतालमा भारतीय बिरामीको बढ्दो चापको प्रमुख कारण उत्तर भारतमा स्तरीय आँखा अस्पताल नहुनु हो । त्यहाँभन्दा राम्रो उपचार गर्ने हुनाले तराईका नेपाली आँखा अस्पतालहरूले भारतीय बिरामीहरूलाई आकर्षित गरेका हुन् ।

भारतीयहरू तराईका आँखा अस्पतालमा आउनुको अर्को कारण सस्तो शुल्क हो । लाहानमा मोतीबिन्दुको शल्यक्रिया लेन्स र औषधि खर्चसहित रु.९०० मै हुन्छ । रण–अम्बिका अस्पतालमा मोतीबिन्दुको शल्यक्रिया नेपालीको रु.१८ सय र भारतीयको रु.२१ सयमा गरिन्छ । तर उत्तरप्रदेशको गोरखपुरमा यही शल्यक्रिया गर्न भारु ८–१० हजार खर्च हुन्छ । रण–अम्बिका अस्पतालका प्रमुख डा. देउजा भारतीयहरू आउनुमा उपचार गराइसकेका रोगीहरूको प्रचारले ठूलो काम गरेको बताउँछन् । सिद्धार्थनगरमा रहेको यो अस्पतालले त्यो क्षेत्रको अर्थतन्त्रमा समेत योगदान दिएको बताउँदै डा. देउजा भन्छन्, “अस्पताल इलाकाको अर्थतन्त्र यही अस्पतालमा आउने भारतीय बिरामीमा निर्भर छ । यहाँ वरपर २०–२५ वटा लजहरू चलेका छन् ।”

आफ्नै खुट्टामा उभिन सफल

फत्तेबाल आँखा अस्पताल–नेपालगञ्ज

वार्षिक रु.३–४ करोडदेखि रु.६–७ करोडसम्मको कारोबार गर्ने तराईका आँखा अस्पतालहरूको राम्रो पक्ष आर्थिक हिसाबले आफ्नै खुट्टामा उभिन सक्नु हो । रण–अम्बिकाका प्रमुख डा. देउजा आफ्नो अस्पतालको वार्षिक कारोबार रु.६ करोड पुग्ने बताउँछन् । लाहान आँखा अस्पतालका प्रशासक विन्देश्वर महतो भन्छन्, “भवन निर्माण र महँगा उपकरण किन्ने बाहेक अन्य सबै काम अस्पतालले आफ्नै आर्थिक स्रोतबाट गर्छ ।” नेत्रज्योति संघका अध्यक्ष डा. पोखरेलको कथन छ, “तराई क्षेत्रमा १० वर्षसम्म स्तरीय अस्पताल सञ्चालन ग¥यौँ भने त्यो आफ्नै खुट्टामा उभिन समर्थ हुन्छ भन्ने हामीलाई लागेको थियो र त्यही भएको पनि छ ।”

नेत्रज्योति संघमा आबद्ध आँखा अस्पतालको अर्को उल्लेखनीय पक्ष हो, यहाँ काम गर्ने डाक्टरहरूले ‘प्राइभेट प्राक्टिस’ गर्न नपाउनु । त्यसबापत डाक्टरहरूले मासिक रु.५० हजारदेखि रु.१ लाख २५ हजारसम्म तलब पाउँछन् । डा. देउजाका अनुसार रण–अम्बिका अस्पतालमा डाक्टरहरूको मासिक तलब रु.५० हजारदेखि रु.१ लाखसम्म छ ।

अत्याधुनिक उपचार र प्रविधि

केडिया आँखा अस्पताल–वीरगञ्ज

दुई दशकअघिसम्म ४० वर्ष पुरानो प्रविधिमा निर्भर नेपालको आँखा उपचार अहिले अत्याधुनिक प्रविधिमा आधारित छ । आँखाको शल्यक्रिया गर्दा टाँका लगाउनु नपर्ने सुचरलेस सर्जरी देखि मधुमेह र उच्च तनावका कारण हुने आँखाका रोगहरूको ‘लेजर थेरापी’ सम्म नेपालमै हुनथालेको छ । नेपालका आँखा अस्पतालहरूमा कोर्नियाको प्रत्यारोपण पनि हुन्छ । उपचार प्रविधिमा नेपालले गरेको प्रगतिको एउटा उदाहरण हो, मोतीबिन्दुको शल्यक्रिया । सन् ८० को अन्त्यसम्म पुरानो प्रविधिबाट गरिने यो शल्यक्रिया इण्ट्राअकुलर लेन्सको प्रयोगपछि कम खर्च र कम समयमै धेरै सजिलोसँग हुनथालेको छ । पहिले मोतीबिन्दुुको बिरामीले शल्यक्रियापछि हप्ताँै दिन अस्पतालमै बस्नु पर्दथ्यो, बाक्लो सिसा भएको पावर चश्मा लगाउनुपर्दथ्यो र राम्रो देख्न सक्दैनथ्यो । अहिले आँखाभित्रै लेन्स हालिने हुनाले चश्मा लगाउनुपर्दैन, शल्यक्रियापछि तुरुन्तै घर जान र राम्रो देख्न सकिन्छ । तिलगङ्गा आँखा उपचार केन्द्रका स्वास्थ्य निर्देशक डा. सन्दुक रुइत भन्छन्, “इन्ट्राअकुलर लेन्सको प्रयोगले शल्यक्रियामा लाग्ने खर्च र समय दुवै घटाइदिएको छ ।”

सन् १९९४ मा तिलगङ्गा आँखा उपचार केन्द्रको स्थापना नेपाली आँखा उपचारको अर्को महŒवपूर्ण पाइलो हो । काठमाडौँ, गौशालास्थित तिलगङ्गा आँखा केन्द्रले आफ्नै प्रयोगशाला ‘फ्रेड हल्वोज आईओएल ल्याब’बाट वार्षिक २ लाख ५० हजार थान लेन्स उत्पादन गर्ने गरेको छ । ‘आईएसओ ९००२’ अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त यो लेन्सको उत्पादनमा स्वदेशी प्राविधिज्ञहरू नै संलग्न छन् । आठ वर्षअघिसम्म विदेशबाट मगाउँदा रु.४ हजार पर्ने यो लेन्स नेपालमै बन्न थालेपछि रु.२५० मा पाइन थालेको छ । दक्षिण एसिया, दक्षिण–पूर्वी एसिया, अफ्रिका र दक्षिण अमेरिकाका २५ भन्दा बढी देशमा निर्यात हुने यो लेन्स अब अस्ट्रेलिया पनि जाँदैछ । नेपालका ९९ प्रतिशत बिरामीहरूमा इन्ट्राअकुलर लेन्सको प्रयोग हुन्छ भने भारत र बङ्गलादेशमा यस्तो लेन्स प्रयोग गर्नेहरू क्रमशः ५० र ३५ प्रतिशत मात्र छन् । नेपालमा इण्ट्राअकुलर लेन्सलाई व्यापक बनाएर बिरामीलाई राहत र सुविधा पु¥याउने श्रेय तिलगङ्गा आँखा केन्द्रलाई नै जान्छ । नेपालमा मात्र होइन, अन्य विकासोन्मुख देशहरूमा पनि अत्यन्त कम खर्चमा मोतीबिन्दुुको आधुनिक शल्यक्रिया गराउने काममा उदाहरण बन्न पुगेको यस केन्द्रको अवधारणा अनुसार एसियाका १० भन्दा बढी देशमा आँखा उपचार केन्द्र स्थापना भएका छन् ।

ओझेलमा पहाड

मीन बज्राचार्य
काठमाडौँस्थित तिलगङ्गा आँखा केन्द्रका प्राविधिक इन्ट्रा ओकुलर लेन्स निर्माण गर्दै । इन्सेटमा लेन्स ।

नेपालमा जनसङ्ख्याको १६ प्रतिशतलाई कुनै न कुनै आँखाको रोग छ र तीन प्रतिशत पुरै वा आंशिक रूपले दृष्टिहीन छन् । तर आँखा उपचारका सुविधा तराई र शहरी क्षेत्रमा केन्द्रित भएकोले अधिकांश पहाडी क्षेत्रमा अझ्ै प्रभावकारी उपचार सुविधा पुग्न सकेको छैन । पहाडी क्षेत्रका अस्पतालहरूमा राजधानीबाहिर पोखराका हिमालय आँखा अस्पताल र लायन्स लाकौल अस्पताल, पाल्पा मात्र हुन् । तिलगङ्गा आँखा केन्द्रका निर्देशक डा. रुइत भन्छन्, “हामी अझ्ै पहाडी क्षेत्रका बिरामीसामु पुग्न सकेका छैनौँ ।” पहाडी क्षेत्रका जनताले बेलाबखत बस्ने आँखा शिविर र २९ ठाउँमा सञ्चालित आँखाको प्रारम्भिक उपचार हुने स्वास्थ्य केन्द्रहरूमा भर पर्नुपर्दछ । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालका निर्देशक डा. केशवप्रसाद अधिकारी भन्छन्, “त्यहाँका जनताले आवश्यक परेको समयमा र आँखाको पूर्ण उपचार नपाउने स्थिति अझ्ै विद्यमान छ ।” विभिन्न अञ्चलमा रहेका आँखा अस्पताललाई सो अञ्चलका पहाडी क्षेत्रमा पनि आँखा उपचार सेवा विस्तार गर्ने जिम्मा दिइएको बताउँदै नेपाल नेत्रज्योति संघका अध्यक्ष डा. पोखरेल भन्छन्, “हाम्रो अबको लक्ष्य पहाडी क्षेत्र हो, हामी त्यस क्षेत्रमा जाँदैछौँ ।” अर्को समस्या, नेपालमा अझ्ै पनि आवश्यकता अनुसार आँखाका डाक्टर र नेत्र सहायकहरू छैनन् । अहिले कम्तीमा एक लाख जनसङ्ख्या बराबर एक जना आँखा विशेषज्ञ हुनुपर्नेमा दुई लाख बराबर एक जना मात्र उपलब्ध छन् । स्वास्थ्यका अन्य क्षेत्रमा झ्ैँ डाक्टरहरू राजधानी नछाड्ने प्रवृत्ति आँखा उपचारमा पनि छ । नेपालमा रहेका ११० आँखा विशेषज्ञमध्ये ३० जना मात्र काठमाडौँ बाहिरका अस्पतालहरूमा आबद्ध छन् । डा. हेनिगका अनुसार लाहान अस्पतालमा धेरै भारतीय डाक्टरहरू काम गर्छन् ।

पछिल्ला दशकहरूमा नेपालको आँखा उपचार सेवामा भएको प्रगति नेपालको सफलताका कथाहरूमध्ये एक हो । यो क्षेत्रले पाएको गैरसरकारी संस्थाहरूको योगदान, अन्तर्राष्ट्रिय सहयोग र त्यसको सदुपयोगलाई स्वास्थ्यका अन्य क्षेत्रमा पनि लागू गर्न सकिन्छ । डा. पोखरेल भन्छन्, “प्रसूति सेवा, दन्त सेवामा यो मोडल लागू गर्न सकिन्छ । र, सफल पनि हुन्छ ।”

comments powered by Disqus

रमझम