२०-२६ मंसीर २०७२ | 6-12 December 2015

काला जादू!

Share:
  
- महेश थापा
कालोबजारी नियन्त्रण गर्न सरकार तम्तयार, व्यापारी व्यग्र र जनता उत्ताउला भएको देशमा रातारात ५ को माल २५ र ६ को ३६ हुनु कालाजादूबाट मात्र सम्भव छ।

भानु भट्टराई
“तल्लाघरे दाहाल दालको भाउ सुनेर मास छर्न ग'छन्”, पण्डित बाजेले एकैसासमा सुनाए।

“बूढाले परनिर्भर नहुने मेसो गरेछन्, बेसै भो!” मेरो थुतुनो प्याच्च खुस्क्यो।

“कालोबजारीले मान्छेको ज्यानहर्दा बेस भयो भन्छ, कस्तो असती!” बाजे बिच्किए।

हामी नेपालीको नियतिमा एउटा गथासोको पन्तरो सदा झुन्डिएकै हुन्छ। युद्धकालमा शान्तिको मंगल धुन बजायौं, त्यसपछि संविधानको रटना लगायौं, कम्पदेवले रुवाउँदा ऋषिमनको जय गायौं। अहिले तिनै ऋषिमनको कृपाबाट कालोबजारी आइलाग्दा 'राष्ट्रवादी' सरकारले 'पछिल्ला दिनमा' नियन्त्रणलाई प्राथमिकतामा राखेको छ। अघिल्ला दिनहरूमा चाहिं सरकारले ब्ल्याकियाहरूलाई त्रिशूल डामेरै छाड्द्या र'छ? भन्ने घुइरे प्रश्न उठेमा त्यसलाई तत्क्षण सर्लक्क बैठाउनुस्। किनकि, हरेक प्रश्नले जवाफ पाउनुपर्छ भनेर संविधानमा लेखिएको छ जस्तो लाग्दैन।

यता नियमनकारी निकायहरूको मुस्तैदी र ऐन/नियमको उरुङबीच जनता स्वयं बर्खिलापमा भए'सि कालोबजारी टिक्ने चानस देखिंदैन। फेरि, आफू परियो इमानसिंह माड्सा'बको नम्बरवान चेलो, जो दुईनम्बरी जिनिसको अस्तित्व मरिगए स्वीकार्दैन। गुरुजीले घोटीघोटी इमान पिलाएको हुँदा (वेला मौकामा पीपलपात हुनुलाई अपवाद मान्नुस्) मभित्रको इमानले गोठलाई पूर्ण ध्वस्त पार्न सकेको छैन। पीपलपाते अपवादको भने अवस्थै फरक हुँदोरहेछ, जुन खटरा घिच्याउँदै पेट्रोलपम्पतिर लाग्दा आइलाग्यो।

भयो के भने, सरकारी सूचना पढेर खटरा घिच्याउँदै पेट्रोलपम्पतिर लाग्दा पम्पभन्दा पाँच किलोमीटर वरै गुरुवर पनि लाइनमा खडा भेटिए। कुशलक्षेम सकिनासाथ गुरुवर स्वभाव अनुसार सरकार र कालोबजारिया माथि खनिए अनि अर्थतन्त्रको हरिबिजोगप्रति लास्टै सुर्ताए। हार्दिकतापूर्वक गुरुको सुर्ता श्रवण गरिरहेकै वेला त्यहाँ एक थान राष्ट्रवादी प्रकट भएर आफूसँग भएको थोरै पेट्रोल विना दुःख उपलब्ध गराउने सदिच्छा प्रकट गर्न थाले। प्रस्ताव कति आकर्षक भने, चेलालाई आशीर्वचन वितरणको कर्तव्य समेत बिर्सेर गुरुवर लाइनबाट आफ्नो पुरातात्विक महत्वको खटरा निकालेर वेगिए।

त्यो देखेर रन्थनिएको म पनि रिजर्भमा रहेको एक–दुई पेग पेट्रोल डढाउँदै एक जना व्यापारी मित्रकहाँ पुगें।

“कालोबजारी बेपत्ता फस्टायो भन्छन्, कुश्त कमाइयो होला हैन?” मैले मित्रलाई सोधें।

“केही दिन 'होल्ड' गर्नेहरूले अर्ब कमाए। आफ्नो चाहिं त्यति नै स्टक केही करोड लाभमै रित्तियो”, स्वरमा दुःखको छाल उराल्दै मित्र बोले, “फुट्या किस्मत!”

जाबो केही करोड अतिरिक्त मुनाफामै चित्त बुझाइरहेका व्यापारीलाई कालोबजारी शिरोमणि भन्नु सरासर नाइन्साफी हो। उसो त, बजार भन्ने जिनिसको रंग सेतो नहुने भएकाले कालोबजारी शब्द आफैंमा दमदार लाग्दैन। मुनाफा भन्ने चिज साईबाबाले बिगुत निकाले जस्तो हावामा उब्जिने जिनिस पनि होइन। त्यसका लागि जनताको खल्तीमा सुकेनास लगाउन सक्ने गरिको जुक्ति लगाउनुपर्ने हुन्छ। रिमोट कन्ट्रोलबाट पेट्रोलपम्पमा चाँदी कटनी गरेको भन्ने समाचारलाई यही क्रममा आएको 'हाइटेक' जुक्ति भन्नु धर्मसंगत हुन्छ।

परनिर्भरताले पिरोलेको वेला यसरी सिर्जनशील हुनु भनेको आफैंमा सकारात्मक समाचार हो। यस्तो वेला ट्यांकरहरू सिर्जनशील बनेका निजी पम्पतिर बाँकटे हान्छन् त आयल निगमका राष्ट्रवादीहरूको के दोष? दोष भए नै पनि आना–सुकी साइजको होला। त्यस्ता चानचुने दोषको पाता फर्काउन आपूर्ति मन्त्रालयदेखि अदुअआसम्मका अड्डाहरू ताहुरमाहुर गरिरहेका छन्।

त्यसमाथि, सरकारले भएभरका नियमनकारी निकायहरूलाई चुस्त भइदिन बिन्ती बिसाउने र कालोबजारी नगर्न/नगराउन अनुरोध गर्नेदेखि दिक्क मान्नेसम्मका उपायहरू अवलम्बन गरिरहेकै छ। राज्यका सम्पूर्ण तैनाथवालाहरूले यसरी नाङ्लो ठटाएको साइतमा कालोबजारी हात्ती झैं ढल्कियो होला भन्ठान्नु आफ्नै आङ कन्याएर छारो उडाएसरह हुन सक्छ।

उसो'भे बजारमा उर्लिंदो मूल्यको भेललाई चाहिं के भन्ने त, असती? भन्दै बाउँठिनुहोला। हजुर, त्यो त कालाजादू हो, जसलाई नियन्त्रण गर्न सरकार तम्तयार, व्यापारी–व्यवसायीहरू व्यग्र र जनता उत्ताउला छन्। यसरी स्वच्छ बजारका लागि सर्वत्र प्रतिबद्ध भएको देशमा खुलेआम रूपमा पाँचको माल २५ र ६ को ३६ हुनु भनेको कालाजादू नै हो। सेता वा हरिया जादूबाट यस्तो सम्भवै छैन। सरकारको आँखा, व्यापारीको इमान र उपभोक्ताको चेतनालाई कालाजादूले लठ्यायो हजुर!

comments powered by Disqus

रमझम