२०-२६ मंसीर २०७२ | 6-12 December 2015

जंगबहादुरको 'आइन'

Share:
  
- क.दी.
१०० वर्ष हामीलाई बाँधेर राखेको जंगबहादुरको 'आइन' हाम्रो विलुप्त पुस्तक सम्पदाहो।

बेलाइतमा केही महीना बिताएर फ्रान्स पुगेका महाराज जंगबहादुर सम्राट नेपोलियनका ठूला 'फ्यान' रहेछन्। झ्न्डै एकै परिवेशमा हुर्किएर आ–आफ्ना देशका सर्वशक्तिमान बनेका सैनिक व्यक्ति थिए दुवै। त्यसै हुँदा नेपोलियन जंगबहादुरका लागि 'हिरो' हुनु अचम्म होइन।

पहिले नेपोलियनको सफल सैनिक अभियानहरूका मात्र प्रशंसक रहेका महाराज जंगबहादुरले बेलाइत पुगेपछि फ्रान्समा नेपोलियनले गरेका प्रशासनिक सुधारका कामहरूको तारिफ सुन्दासुन्दा उनलाई एक पटक त्यहाँ पनि पुग्नुपर्छ भन्ने लागेछ र उनी पुगेरै छाडे। फ्रान्स पुगेर उनले रमाइलो गर्नेतिर भन्दा आफ्ना दुई चाखका विषयमा आफूलाई केन्द्रित राखे– एउटा मिलिटरी अभियान र अर्को सुशासनमा।

नेपोलियनका सैनिक विजयहरूको पाएसम्मको अध्ययन गरे उनले सूक्ष्मतासँग अनि 'एक लाख सैनिकहरूको कबायत' को परिदर्शन गरे। आफू निरक्षर या अशिक्षित जस्तो मान्छे भएर पनि उनले अकादमी फ्राँसेका विद्वान्हरूसँग भेट्न चाहे, उनीहरूको कार्यालयमै पुगे। त्यसको एउटा मात्र कारण थियो–लन्डनमा त्यति विधि तारिफ सुनिराखेको 'नेपोलियनिक कोड' कसरी बन्यो भन्ने बुझनु।

सन् १८०४ मार्च (१८६० साल) मा बनेको 'सिभिल कोद दे फ्राँसे' (फ्रान्सको निजामती ऐन) ले फ्रान्समा मात्र होइन, एक प्रकारले विश्वभरि नै 'विधिको शासन' परिभाषित गरेको हो भन्ने कुरो सर्वमान्य भइसकेको छ। हिमाल खबरपत्रिकाको 'पुस्तक सम्पदा' को प्रकरणमा फ्रान्सको यति चर्चा किन भैरहेछ भन्ने कौतुहल उब्ज्यो होला पाठकहरूमा पनि। त्यसकै समाधान गरूँ पैले। मेरो यो नयाँ स्तम्भको नाम नै 'पुस्तक सम्पदा' हो। भन्नाको मतलब के भने नेपाली किताबहरूमा पनि कुनै कुनैले हाम्रो देशका जनताका जीवनमा र कुनैले त समग्र देशकै कामकाजमा समेत प्रभाव पारेका हुनन्। त्यस्ता किताब कुन–कुन हुन् त भनेर खोज्ने जमर्को हो, यो। त्यस अभियानमा खोजिपस्दा सबभन्दा पहिले हाम्रो आँखा परुर्‍यो मदन पुरस्कार पुस्तकालय (मपुपु) मा रहेको एउटा बृहद्काय पुस्तकमा। झ्न्डै १० इन्ची चौडाइ र १५ इन्ची लम्बाइ भएको १२ सय जति पृष्ठको रहेछ त्यो ग्रन्थ। त्यसको शीर्षक या नाम यही हो भन्न नसकेर होला मपुपुले त्यसलाई 'आइन' मात्र भनेर दर्ता गरेको छ, उसको सूचीमा १ नम्बरमा।

'आइन' मात्र भन्दा त्यसको हुलिया बुझिन्न, त्यसैले त्यो ढड्डू पुस्तकको मुखपृष्ठको पूरै बेहोरा पढि हेरूँ। लेखेको छ– 'अघि अघिका मुख्त्यार भैभारदारहरूले इंसाफ गर्दा एकै तक्सीरमा कसैलाई ठुलो कसैलाई उही तक्सीरमा कं सजा गर्दथ्या श्री ३ महाराज जंगबहादुर राणा जी.सी.बी. प्राइम्मिनिष्टर आण्ड कम्याण्डर इंचीफ बहादुरबाट एकै तक्सीरमा कसैलाई ठुलो सजा कसैलाई उही तक्सीरमा कं सजा हुन बेइंसाफ् हो अब उप्रान्त जश्ले जौन जौन तक्सीर गरुर्‍यो उहि उहि सजा हवस् भन्नानिमित्त र छोटा बडा सबैलाई एकै इंशाफ् होस् भन्नानिमित्त १९०८ सालदेखि बनाइ बक्स्याको आइन्'

मुखपृष्ठको यो लामो आवृत्तिको अन्तिम शब्द 'आइन' लाई नै मपुपुले पुस्तकको शीर्षक बनाइदिएको रहेछ भन्ने हामीले बुझनु परुर्‍यो। भ्रम नपरोस् भनेर त्यो 'आइन' को पछाडि 'जङ्गबहादुरको' भन्ने पुच्छर झुन्ड्याइएको छ। यस ऐनलाई अचेल 'श्री ५ सुरेन्द्रको मुलुकी ऐन' भनेर सम्बोधन गरिन्छ, किनभने त्यस मूल ऐनको किताबमा लालमोहर श्री ५ सुरेन्द्रकै छ। ठेली बन्नुको कारण बुझ्ेपछि भने यसलाई 'जंगबहादुरको आइन' नभनी सकिन्न। १२ सय पृष्ठको किताबको लेखाजोखा यी चार–पाँच सय शब्दमा गर्नु सम्भव छैन, तर त्यस पुस्तकको महत्व–वर्णन त थोरै शब्दले पनि गर्न सकिन्छ।

पैलो कुरो त, पूरा देश नेपाललाई मात्र होइन भारत, भूटान, सिक्किम या बर्मा जहाँ पुगेका भए पनि एकछत्र समेटेर नेपालीहरूको जीवनलाई पूर्णतः नियन्त्रण गर्ने एउटा मात्र किताब हो त्यो– गीता, कुरान, धम्मपद अथवा बाइबल तहको। उदाहरणार्थ भनौं: बर्मा पुगेका एक जना लिम्बू नेपालको गोरखापत्र का संपादकलाई चिठी पठाएर सोध्छन् 'मेरो छोरीको यस्तो यस्तो परुर्‍यो र यहाँको नेपाली समाजले मेरो पानी हटक गरुर्‍यो। मैले कसरी पार पाउने नेपालको ऐनले के भन्छ कृपया मलाई लेखिपठाइदिनुस्। मेरो उद्धार गर्नुस्!'

अर्को कुरो, 'आइन' को 'प्रियाम्बल' मै जंगबहादुरले महाराजाधिराज सुरेन्द्रलाई बाँधेका छन् यस्तो भन्न लगाएर– '... हामी तीन पुस्ता बसि हामि देषि रैयत तलक यसै ऐनमा रहनु भन्या हुकुम् बक्स्यौं ...।' त्यसबाहेक, जंगबहादुरको यस ऐनको विशेषता के भने नेपाली समाजको कुनै पक्ष, कुनै परिस्थिति छुटेको छैन यसमा जन्मेदेखि मरेसम्मका। कुनै जात छुटेका छैनन्, नबाँधिएका कोही छैन यसमा– 'छोइछिटो हाल्नु पर्न्या जात' र 'मासिने जात' सम्म। अरू त अरू बाटामा हिंड्दा पालन गर्नुपर्ने 'एटिकेट' (चालचलन) पनि किटिएको छ र बेकाइदा गर्नेले तिर्नुपर्ने 'डण्ड' समेत तोकिएको छ।

यसरी, डण्डको डर देखाएरै भए पनि, राजादेखि रङ्कसम्मलाई एक सूत्रमा बाँध्ने अर्को किताब नेपालीमा निस्केको छैन। २०२० सालमा राजा महेन्द्रले 'नयाँ मुलुकी ऐन' नदिंदासम्म यसले हामीलाई बाँधेर राख्यो।

comments powered by Disqus

रमझम