२०-२६ मंसीर २०७२ | 6-12 December 2015

डाक्टरको नयाँ धन्दा

Share:
  
चिकित्सक दर्ता प्रमाणपत्रको परीक्षामा समेत नक्कली परीक्षार्थी भेटिनुले जीवन बचाउने हात नै बिकिरहेका तथ्य खुलेको छ।

भानु भट्टराई
१२ मंसीरमा नेपाल मेडिकल काउन्सिलले काठमाडौंको सानोभर्‍याङस्थित नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा लिएको दर्ता प्रमाणपत्रको परीक्षामा दुई नक्कली परीक्षार्थी फेला परे। तीमध्ये एक झापाका सुशीलकुमार मण्डल थिए भने अर्का कञ्चनपुरका निरज शर्मा। मण्डल सिरहाका नवीनकुमार यादव र शर्मा रौतहटका सरोज साहको नाममा परीक्षा दिन उपस्थित थिए। एमबीबीएस उत्तीर्ण चिकित्सकले बिरामी जाँच्न काउन्सिलको दर्ता प्रमाणपत्रको परीक्षा उत्तीर्ण गर्नुपर्ने कानूनी व्यवस्था छ।

महाराजगञ्जस्थित चिकित्सा शास्त्र अध्ययन संस्थानबाट एमबीबीएस उत्तीर्ण मण्डल (दर्ता नं.१४२६०) लाजिम्पाटस्थित स्पेस ब्रिज कन्सल्ट्यान्सीका अध्यक्ष समेत रहेको खुलेको छ। दर्ता प्रमाणपत्रको परीक्षामा आठ पटक अनुत्तीर्ण यादवले सन् २०१२ मा चीनबाट एमबीबीएस उत्तीर्ण गरेको र अहिले त्यहीं एमडी पढिरहेका छन्। जबकि एमडी पढ्न काउन्सिलको लाइसेन्स परीक्षा उत्तीर्ण गर्नै पर्ने प्रावधान छ।

चीनबाटै एमबीबीएस उत्तीर्ण साह पनि काउन्सिल परीक्षामा १२औं पटकसम्म असफल भएपछि शर्माको शरणमा पुगेका थिए। फरार साह दर्ता विना नै धादिङस्थित गण्डकी अस्पतालमा कार्यरत रहेको पाइएको छ। शर्मा भने चिकित्सा शास्त्र अध्ययन संस्थानमा एमबीबीएस अन्तिम वर्षका विद्यार्थी हुन्। पक्राउ परेका मण्डल र शर्मालाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा दायर गरिएको छ।

चिकित्सककै गिरोह

मेडिकल काउन्सिलको परीक्षामा पहिलो पटक देखिएको नक्कली परीक्षार्थी प्रकरणलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र नेपाल मेडिकल काउन्सिलले संयुक्त रूपमा अनुसन्धान गरिरहेका छन्। प्रारम्भिक अनुसन्धानबाट यो घटनामा गिरोह नै सक्रिय भएको देखिएको छ।

लाइसेन्स परीक्षामा सहभागी हुनुअघि काउन्सिलमा दर्ता भएका चिकित्सकले परीक्षार्थीको सिफारिश गर्नुपर्ने प्रावधान छ। त्यसअनुरुप बी एण्ड बी अस्पतालका डा. प्रेमशंकर सिंह (दर्ता नं. १५६०४) ले २७ असारमा यादवलाई परीक्षाका लागि सिफारिश गरेका थिए।

नेपाल मेडिकल काउन्सिल
काउन्सिलको जाँचमा पक्राउ परेका सुशीलकुमार मण्डल।
यादवलाई उत्तीर्ण गराउन डा. सिंहले नै मण्डलसँग 'डिल' गरेका थिए। सिंहसँग पहिल्यै रु.३ लाख सापटी लिएका मण्डललाई ऋणमुक्त गराउन सिंहले नै मण्डलसँग यादवलाई पढाइदिन भनेका थिए। मेडिकल काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारी भन्छन्, “तर, मण्डलले यादवलाई पढाउनुको साटो परीक्षा नै दिएर ऋणबाट उन्मुक्ति पाउने बाटो रोजेको उनको वयानबाट खुलेको छ।” काउन्सिलसँगको सोधपुछमा भने सिंहले मण्डलसँग सामान्य चिनजान भएको तर कारोबार नभएको जिकिर गरे।

यस्तै मण्डल र यादवबीच पनि लेनदेन भएको प्रहरीको दाबी छ। एक वर्षअघि मण्डलले यादवसँग रु.२ लाख सापटी लिएकोमा रु.५० हजार भने अझ्ै तिर्न बाँकी नै थियो। “पैसा तिर्नुभन्दा परीक्षा नै दिएर सहयोग गर्छु भन्ने नियत मण्डलमा देखियो”, महानगरीय प्रहरी परिसर, टेकुका प्रहरी उपरीक्षक विश्वराज पोखरेल भन्छन्।

साहको स्थानमा परीक्षामा सहभागी निरज शर्मा मण्डलकै कन्सल्टेन्सीका शिक्षक थिए। मण्डलले नै शर्मालाई नक्कली परीक्षार्थी बन्न पैसाको लोभ देखाएको अनुसन्धानबाट खुलेको छ।

मण्डलले यादवका साथै सुमनशरण रावलको नाममा पनि परीक्षाको तयारी गरिरहेको काउन्सिल स्रोत बताउँछ। तर, रावलको नामबाट परीक्षा दिनुअगावै उनी पक्राउ परे। नवीनकुमार यादव र रावल दुवैलाई मण्डलसँग सम्पर्क गराउन बबरमहलस्थित मार्क कन्सल्ट्यान्सीका अभय मिश्रको हात देखिन्छ। काउन्सिलका अनुसार, यादव, साह र रावल तीनै जनालाई परीक्षामा सहभागी गराउन डा. रूपा झा (दर्ता नं. ६८५७) ले सिफारिश गरेकी थिइन्। हाल उनी भारत पुगेकी छन्।

काउन्सिलका रजिष्टार डा. दिलीप शर्मा यो प्रकरणसँगै यसअघिका परीक्षामा पनि नक्कली परीक्षार्थी संलग्नताको आशंकामा छानबिन अघि बढाइएको बताउँछन्। “यस्ता घटनामा आजभोलि भन्ने कुरा आउँदैन, दोषी देखिए लगत्तै कारबाही गर्छौ”, शर्मा भन्छन्। नेपाल मेडिकल काउन्सिल ऐनले गैर आचरणयुक्त क्रियाकलापमा संलग्न चिकित्सकलाई दुई वर्ष निलम्बनदेखि लाइसेन्स खारेजीसम्मको व्यवस्था गरेको छ।

परीक्षार्थीको शैक्षिक स्तर कतिसम्म गिरेको छ भने काउन्सिलको यस पटकको परीक्षामा ५१३ मध्ये २६५ जना अनुत्तीर्ण भए। परीक्षामा एमबीबीएसतर्फ ४७२ र बीडीएसतर्फ ४१ विद्यार्थी सहभागी थिए। अघिल्लो पटकको तुलनामा यसपटक उत्तीर्ण विद्यार्थी दर झ्न्डै आधा हो।

रामु सापकोटा

comments powered by Disqus

रमझम