संघीय लिम्बूवान फूटको सँघारमा

Share:
  
लिम्बूवान प्राप्तिका लागि एकीकृत लिम्बूवान मागधारी नेताहरू पुनः अलगथलग हुने ध्याउन्नमा लागेका छन्।

गोपाल गडतौला
१९ साउन २०७१ मा पार्टी एकतापछि सुनसरीको धरानमा आयोजित घोषणा सभामा पाँच लिम्बूवान पार्टीका शीर्ष नेताहरू बायाँबाट क्रमशः रामभक्त कुरुम्बाङ, कमल छाराहाङ, कुमार लिङ्देन, वीर नेम्बाङ र सञ्जुहाङ पालुङ्गवा।
१६ महीनाअघि पाँच पार्टीबीचको एकीकरणबाट बनेको संघीय लिम्बूवान पार्टी नेपाल (संलिपाने) विभाजनको सँघारमा छ। यसका निम्ति अध्यक्ष कुमार लिङ्देनको 'मनपरी' व्यवहार दोषी भएको कतिपय नेताको आरोप छ।

११ मंसीरमा इटहरीमा र १३ मंसीरमा विराटनगरमा मधेशी मोर्चा आयोजित विरोध सभामा लिङ्देनले मन्तव्य दिएपछि आन्तरिक विवाद सतहमा देखिएको छ। विवादबीच, पूर्वका नौ जिल्लासहितको लिम्बूवान राज्य माग गर्दै १४ मंसीरदेखि पार्टीले नै आह्वान गरेको चक्काजाममा पनि लिङ्देन देखिएका छैनन्। पार्टी नेतृत्वको विवादले कार्यकर्ता पनि असन्तुष्ट छन्।

“त्यो भाषणपछि लिङ्देनले पार्टीमा रहने ठाउँ गुमाइसकेका छन्”, पार्टीका वरिष्ठ नेता वीर नेम्वाङ भन्छन्। झापा, मोरङ र सुनसरी मधेश प्रदेशमा मिलाउने कुराको समर्थन गर्न नसकिने बताउँदै नेम्वाङ भन्छन्, “पार्टीमा छलफल नै नगरी लिङ्देन मोर्चाको मुद्दामा सती गएका छन्।” पार्टीका सचिव प्रेमदिप थाम्सुहाङ त अझ् अध्यक्ष लिङ्देन लिम्बूवानको मुद्दा नै विसर्जन गर्न लागेको ठोकुवा गर्छन्।

लिङ्देनले भने मधेश आन्दोलनमाथि सरकारी दमनको विरोधको समर्थन गर्न मात्र आफू मोर्चाको कार्यक्रममा गएको बताउँछन्। “यसको अर्थ मोर्चालाई लिम्बूवान आन्दोलन सुम्पिएको भन्ने पटक्कै होइन”, उनको स्पष्टोक्ति छ। तर, पार्टीका नेताहरू भने उनको यो तर्क मान्ने पक्षमा छैनन्। “मधेशीको चंगुलबाट बाहिर आएनन् भने अध्यक्ष लिङ्देन नै पार्टीमा रहँदैनन्” पार्टीका अर्का वरिष्ठ नेता सञ्जुहाङ्ग पालुङ्गवा सार्वजनिक रूपमै लिङ्देनलाई चुनौती दिइरहेका छन्। भन्छन्, “लिम्बूवानको मुद्दा मधेशीलाई सुम्पने सपना देख्नुको साटो लिङ्देन नै मधेशी पार्टीमा गए हुन्छ।”

पूर्वका नौ जिल्ला तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, इलाम, पाँचथर, धनकुटा, झ्ापा, मोरङ र सुनसरीलाई लिम्बूवान प्रदेश बनाउने माग राखी आन्दोलनरत संघीय गणतान्त्रिक पार्टी, संघीय लिम्बूवान राज्य परिषद्, मञ्चसम्बद्ध संघीय लिम्बूवान राज्य परिषद्, लिम्बूवान मुक्ति मोर्चा र संघीय गणतान्त्रिक पार्टीको भेलाले १९ साउन २०७१ मा मञ्चसम्बद्ध संलिरापका अध्यक्ष कुमार लिङ्देनको अध्यक्षतामा नयाँ पार्टी स्थापना गरेको थियो। एकीकरणमा सहमत बाँकी चार पार्टीका शीर्ष नेताहरू वीर नेम्वाङ, कमल छाराहाङ, सञ्जुहाङ पालुङ्गवा र रामभक्त कुरुम्बाङ सबै यति वेला लिङ्देनको विपक्षमा छन्।

त्यसो त अध्यक्षले २०७१ पुसपछि केन्द्रीय समितिको बैठक नै नबोलाएका कारण पनि पदाधिकारी आक्रोशित छन्। कैयौंपटक बैठकको आग्रह गरे पनि लिङ्देनले नबोलेरै टारिरहेको सचिव थाम्सुहाङको आरोप छ। उनी केन्द्रीय समितिको बैठकका लागि हस्ताक्षर संकलन भइरहेको र त्यसले लिम्बूवान आन्दोलनलाई नयाँ ढंगबाट अघि बढाउने विश्वास व्यक्त गर्छन्।

अध्यक्ष लिङ्देन भने पार्टीभित्रै लिम्बूवान आन्दोलन असफल पार्न ठूलो समूह लागिपरेको भन्दै तिनैले गुटबन्दी गरिरहेको बताउँछन्। विधान विपरीत कार्य गर्ने कतिपय नेताका कारण चक्काजाममा समेत जनसमर्थन नदेखिएको बताउँदै उनी भन्छन्, “मलाई बाध्यताले नेता मानेकाहरू नै नानाथरी कुरा गरिरहेका छन्।” लिम्बूवान आन्दोलन थप उँचाइमा पुर्‍याउन गृहकार्य गरिरहेको उनको भनाइ छ।

गोपाल गडतौला, झापा

comments powered by Disqus

रमझम