२०-२६ मंसीर २०७२ | 6-12 December 2015

शैक्षिक वर्ष गुम्दै

Share:
  
- सन्त गाहा मगर
भारतको नाकाबन्दी र तराई–मधेशको विरोध प्रदर्शनका कारण विश्वविद्यालयहरूले निर्धारित कार्यतालिका अनुसार परीक्षा सञ्चालन र नतीजा प्रकाशन गर्न नसक्दा शैक्षिक वर्षमै प्रभाव पर्ने देखिएको छ।

गोपेन राई
नियमित पठनपाठनको माग गर्दै ११ मंसीरमा राजधानीमा निकालिएको मानव साङ्लोमा सहभागी विद्यार्थी।
संविधानसभाबाट नेपालको संविधान, २०७२ जारी भएकै दिन ३ असोजबाट शुरू भएको स्नातक तह प्रथम वर्षको परीक्षा तीन महीना वित्न लाग्दा पनि सकिएको छैन। मानविकी, विज्ञान तथा प्रविधि, शिक्षा, कानून र व्यवस्थापन संकायको परीक्षा २१ असोजभित्र लिइसक्ने त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कार्यतालिका तराई–मधेशको विरोध प्रदर्शन र भारतीय नाकाबन्दीबाट प्रभावित हुँदा यो अवस्था आएको हो।

त्रिविले मोर्चाको प्रदर्शनका कारण परीक्षा सञ्चालन हुन नसकेका सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा र पर्साका परीक्षा केन्द्र र सुनसरीको इनरुवास्थित सुनसरी बहुमुखी क्याम्पसको स्थगित परीक्षा २४ मंसीरबाट पुनः सञ्चालन गर्ने नयाँ तालिका निकालेको छ, तर परीक्षा सञ्चालन हुनसक्नेमा त्रिवि आफैं विश्वस्त छैन। त्रिविका उपकुलपति डा. तीर्थ खनियाँ कर्फ्यू लागेका क्षेत्रमा परीक्षा सञ्चालन कठिन हुने बताउँछन्। उनका अनुसार, यस्तो अन्योलले परीक्षा र नतीजा प्रकाशन दुवैमा प्रत्यक्ष असर पारेको छ। “तराईका आठ जिल्लामा परीक्षा नहुँदा भएका परीक्षाको उत्तरपुस्तिका जाँच्ने काम पनि रोकियो”, उपकुलपति डा. खनियाँ भन्छन्, “अर्कोतिर, नयाँ प्रश्नपत्र बनाएर पुनः परीक्षा सञ्चालन गर्नुपर्दा व्ययभार थपिएको छ।”

विराटनगरमा प्रधान कार्यालय रहेको पूर्वाञ्चल विश्वविद्यालय (पूविवि) ले सञ्चालन गर्ने अधिकांश परीक्षा चार महीना ढिलाइ भएको छ भने लिइसकेका परीक्षाको नतीजा प्रकाशनमा ६ हप्ता ढिलो भइसकेको छ। परीक्षा नियन्त्रक मोहन बस्नेतका अनुसार, पूविविमा स्नातक र स्नातकोत्तरमा गरी ७१ प्रोग्राम सञ्चालनमा छन्। पूविविबाट सम्बन्धन लिएका १२० कलेजमध्ये धेरैजसोमा सेमेस्टर सिस्टम छ। “चार महीना ढिलो हुनु भनेको एक सेमेस्टर नोक्सान हुनु हो”, परीक्षा नियन्त्रक बस्नेत भन्छन्, “भदौमा स्थगित स्नातक तेस्रो वर्ष र आठौं सेमेस्टरको परीक्षा २५ मंसीरबाट संचालन गर्ने योजना बनाएका छौं।”

उनका अनुसार, धनुषालगायतका जिल्लामा बीएन, बीएस्सी नर्सिङ, बीई सिभिल इन्जिनियरिङको परीक्षा स्थगित भएको थियो। दशैं अगाडि लिइसक्नुपर्ने बीई, बीबीएको परीक्षा २५ पुसदेखि मात्रै शुरू हुने भएको छ। १४ भदौबाट शुरू हुने तालिका निकालिएको स्नातक तह दोस्रो वर्षको परीक्षा ११ मंसीरमा पनि सञ्चालन हुन सकेन। अब बीए, बीएड र बीबीएसको परीक्षा १७ मंसीरबाट गर्ने परीक्षा नियन्त्रक बस्नेत बताउँछन्। परीक्षाको नतीजा ढिलो हुँदा उत्तीर्ण हुने र नहुने दुवै विद्यार्थीलाई प्रत्यक्ष प्रभाव पर्छ। बन्द र इन्धन अभावले गर्दा उत्तरपुस्तिकाहरू काठमाडौं–विराटनगर गराउनै जोखिमपूर्ण भएको परीक्षा नियन्त्रक बस्नेत बताउँछन्।

उता पोखरा विश्वविद्यालय (पोविवि) ले स्नातक तहको सातौं र आठौं सेमेस्टरको परीक्षा ९ पुसबाट सञ्चालन गर्ने तालिका निकालेको छ, तर अघिल्लो वर्षको सोही तहको परीक्षाको नतीजा सार्वजनिक भएको छैन। पोविविका परीक्षा नियन्त्रक बलराम भट्टराई इन्धन अभाव हुँदा आइसकेका तथ्यांकहरू प्रशोधन गर्न नसकिएको बताउँछन्। आजभोलिमै नतीजा प्रकाशन गर्दा पनि अनुत्तीर्ण विद्यार्थीले फर्म भरेर पुनः परीक्षा दिने अवधि तीन साता भन्दा कम पाउने उनले बताए। सातौं र आठौं सेमेस्टरमा नियमित र ब्याक दिने गरी करीब ४५ सय विद्यार्थी छन्।

एक वर्ष क्षति!

पोविविका परीक्षा नियन्त्रक भट्टराईका अनुसार १६ पुसभित्र परीक्षा नसकिए विद्यार्थीको एक वर्ष गुम्छ। १७ पुसबाट सन् २०१६ प्रारम्भ हुने हुँदा चारवर्षे कोर्स सकिन पाँच वर्ष लागेको देखिनेछ। पोविविबाट सम्बन्धन लिएका ५८ वटा व्यवस्थापन र ५७ वटा इन्जिनियरिङ कलेजमध्ये अधिकांश तराईका जिल्लामा नभए पनि इन्धन अभावले प्रभावित भएको परीक्षा नियन्त्रक भट्टराई बताउँछन्।

नाकाबन्दीले गर्दा परीक्षा चार महीना र नतीजा प्रकाशनलाई डेढ महीना ढिलो भइसक्यो।

मोहन बस्नेत

परीक्षा नियन्त्रक

पूर्वाञ्चल विश्वविद्यालय

डिसेम्बरभित्रै परीक्षा लिई नसक्ने हो भने विद्यार्थीले चार वर्षको कोर्स पढ्न पाँच वर्ष लगाएको देखिन्छ।

बलराम भट्टराई

परीक्षा नियन्त्रक

पोखरा विश्वविद्यालय

नतीजा सार्वजनिक गर्न ढिलो भएको भन्दै विद्यार्थी र अभिभावकाले तारन्तार दबाब दिइरहेका छन्। परीक्षा नियन्त्रक भट्टराई शैक्षिक वर्ष गुम्ने भयले काठमाडौंको दुई कलेजका विद्यार्थीले त विश्वविद्यालयमा आगो लगाउने धम्की समेत दिएको बताउँछन्। यो ढिलाइले अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी प्रवेश परीक्षाबाटै बन्चित हुने अवस्था सिर्जना भइसकेको छ।

शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्साल आन्दोलन नभएका जिल्लामा पनि भारतीय नाकाबन्दीका कारण पढाइ अवरुद्ध भएको बताउँछन्। इन्धन अभावका कारण कीर्तिपुरस्थित त्रिविको केन्द्रीय विभागमै पनि विद्यार्थी घटेका छन्। दशैं–तिहार विदामा घर गएका विद्यार्थी सडकमा यातायात र कोठामा ग्याँस नभएकोले फर्केका छैनन्। त्रिविका ३८ मध्ये सबभन्दा बढी विद्यार्थी भर्ना हुने अंग्रेजी विभागमा तिहारलगत्तै हुनुपर्ने पढाइ १३ मंसीरबाट शुरू भए पनि निकै कम विद्यार्थी देखिए। कक्षा चलेका कलेजहरूको विज्ञान, कम्प्युटर, मेडिकल, इन्जिनियरिङलगायतका ल्याबमा अभ्यास गर्नुपर्ने विषयमा पढाइ ठप्प प्रायः छ। मल्टिमिडियामार्फत पढाइने निजी कलेजहरूले पनि इन्धन अभावमा कक्षा नियमित बनाउन सकेका छैनन्। पूविविका परीक्षा नियन्त्रक बस्नेत इन्जिनियरिङ, मेडिकल र बीबीएको पढाइ सबभन्दा बढी प्रभावित भएको बताउँछन्।

निजी तथा आवासीय विद्यालय संघ (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघ (एन–प्याब्सन) र उच्च माध्यमिक विद्यालय संघ, नेपाल (हिसान) ले इन्धन अभावलाई कारण देखाएर दशैं र तिहारको बीचमा शैक्षिक संस्था बन्द गरेका थिए। हिसानका अध्यक्ष उमेश श्रेष्ठ महाभूकम्पले गर्दा छुटेको पढाइको शोधभर्ना नहुँदै नाकाबन्दी आइलागेको बताउँछन्। चार महीना लामो बन्द र नाकाबन्दीले शैक्षिक क्यालेण्डर प्रभावित पार्ने लगभग निश्चित भएको शिक्षाविद्हरू बताउँछन्। परीक्षा ढिलो हुने र नतीजाको लागि वर्षौं कुर्नुपर्ने अवस्था हटाउन अब नयाँ परीक्षा प्रणालीमा जानुपर्ने शिक्षाविद् डा. विद्यानाथ कोइरालाको सुझाव छ। कोइराला भन्छन्, “वर्षभरि घोकेर तीन घण्टामा लेख्ने परीक्षाको साटो विद्यार्थीलाई घरमै उत्तरपुस्तिका लगेर लेख्न दिने परीक्षा प्रणालीमा जानुपर्ने वेला आयो।”

comments powered by Disqus

रमझम