२०-२६ मंसीर २०७२ | 6-12 December 2015

'हर्ष न विस्मात्'

Share:
  
एसआरआई प्रविधिबाट पहिलेभन्दा बढी धान फलाएर दंग किसान भाउ नपाएर निराश छन्।

तस्वीरहरूः कमल रिमाल
एक कट्ठामा साढे ६ मनका दरले धान फलाएका तनमुना, सुनसरीका श्रवणकुमार माझी ।
दुहबी–१४, सुनसरीका शुभलाल पेस्कारले एसआरआई (सिष्टम अफ राइस इन्टेन्सिफिकेसन) प्रविधि प्रयोग गरी सोचेभन्दा बढी धान फलाए। ७० मनभन्दा बढी धान नफलेको खेतमा १०० मन धान फल्यो। तर, मोल भने गएको वर्ष जति पनि पाएनन्।

तनमुना–३ सुनसरीका बलराम मण्डलको धान पनि भकारीमा थन्किएको छ। उनका अनुसार, गत वर्ष मंसीरमा प्रति मन रु.९०० का दरले धान बिक्री भएको थियो। तर, यो वर्ष रु.७३० भन्दा बढेको छैन। “उत्पादनले खुशी भए तर अहिलेकै भाउमा बेचें भने त डुबिहाल्छु नि!” उनी भन्छन्।

सुनसरीकै छिटाहा गाविसका विश्वनाथ मेहता बन्दका कारण व्यापारी गाउँमा आएर धान लैजान नपाएकाले भाउ घटेको बताउँछन्। “दुहबी र सोनापुरको मीलसम्म पनि धान पुर्‍याउन सकेका छैनौं”, मेहता भन्छन्, “बन्दकर्ताले जानै दिंदैनन्, व्यापारी पनि इन्धन नभएर गाउँ आउँदैनन्।” बन्द खुलेपछि धानको भाउ प्रति मन रु.९०० पुग्ने उनको विश्वास छ।

धान व्यवसायी एवं मोरङ व्यापार संघका सदस्य श्रवण अग्रवाल पनि ढुवानी समस्याका कारण धानले भाउ नपाएको बताउँछन्। “किसानले विराटनगरसम्म धान ल्याइदिने हो भने अलि बढी मूल्य हाल्न सकिन्थ्यो”, उनी भन्छन्।

दंग किसान

धान सुकाउँदै तनमुना, सुनसरीकी फूलकुमारी चौधरी।
तनमुना–६ का श्रवणकुमार माझी आफ्नो खेतमा धान फलेको देखेर चकित परे। गत वर्ष १ हजार ६०० किलो धान फलेको उनको ८ कट्ठा खेतमा यो वर्ष २ हजार किलो धान फल्यो।

बढी धान फल्नुको एउटै कारण एसआरआई प्रविधि हो, नेपाल कृषि कम्पनीले प्रयोगका लागि भित्र्याएको यो प्रविधिमा रोपाइँमा मेशीनको प्रयोग गरिन्छ। “मेशीनले रोप्दा हिलोमा डुबेर बीउ नै देखिंदैनथ्यो, पछि त खेतै भरिएर धान नै नअट्ला जस्तो भयो”, माझी भन्छन्। रोपाइँको भोलिपल्ट माझीको खेत हेर्न पुगेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले समेत बीउ नै नदेखिएको भन्दै आश्चर्य प्रकट गरेको उनी सुनाउँछन्। धानको एउटै गाँजमा ५० बाला र एक फिट लम्बाइको बालामा २६० दाना लागेको थियो।

मेशीनले धान रोप्दा बेर्ना हिलोमै हराएको देखेपछि तनमुनाकी फूलकुमारीदेवी चौधरी अत्तालिइन्। हलोले नै जोती हातैले धान रोप्न छोरालाई आग्रह गरिन्। तर, छोरा अजितले आमालाई केही दिन पर्खन भने। “घरमा झ्गडा गरें”, चौधरी भन्छिन्, “पहिले दुई बिघामा फल्ने धान अहिले एकै बिघामा फल्यो।”

नेपाल कृषि कम्पनीका प्रबन्धक डा. विवेकानन्द झ्ा यो प्रविधि प्रयोग गर्न डराएका किसान अहिले हौसिएको बताउँछन्। “धानको उत्पादन साँच्चै नै बढी भएकाले यो प्रविधि प्रयोग नगरेका कतिपय किसान पछुताउन थालेका छन्।” प्रविधिसँगै समयमै मल, औषधि र सिंचाइको व्यवस्था भएकाले धान बढी फलेको उनको भनाइ छ।

कमल रिमाल, विराटनगर

comments powered by Disqus

रमझम