२०-२६ मंसीर २०७२ | 6-12 December 2015

जुत्ताको डोब

Share:
  
- दीपक अर्याल
काठमाडौंमा वि.सं. १९७०–८० को दशकमै जुत्ता लोकप्रिय भइसकेको थियो।

त्यसवेला मोटा धागोले सिलाएका वा परालबाट बुनिएका चप्पलहरू केही हदसम्म प्रचलित थिए, तर ती छिट्टै फाट्थे। तिनको तल्लो भागमा टायर हालेर बलियो बनाउन थालिए पनि मानिसहरूको रहर र शानमानलाई भने जुत्ताले नै तानिरह्यो।

१९७०–८० सालतिर काठमाडौंमा कपडाका जुत्ता र छाता बेच्न सबै पसल तयार हुन्थे, तर छालाका जुत्ता भने ठहिटीका मुसलमानका पसलहरूबाट मात्र बिक्री हुन्थे। ती जुत्ताहरू प्रायः भारतको कानपुरबाट आउँथे। स्थानीयस्तरमा प्रशोधित छालाका जुत्ताको चलन पनि व्यापक थियो। गाउँ–गाउँका माग तिनै जुत्ताले धानेका थिए।

तिनताका बढी आयात हुने टेनिस जुत्ता सेतो र रातो गरी दुई रंगमा आउँथे। शुरूमा आशौच बारेकाहरूले सेतो प्रयोग गर्ने गरे पनि पछि यी दुवै रंगका जुत्ता लोकप्रिय भए। शुरूमा यस्ता जुत्ताहरू मगाउन वा किन्न खुट्टाको नाप पठाउनुपर्थ्याे। विस्तारै यो प्रचलन हराएर नम्बर भएका जुत्ताहरू आउन थाले। स्थानीयस्तरमा बनेका वा भारतबाट मगाइएका जे भए पनि जुत्ता 'सामाजिक प्रतिष्ठा' को विषय बन्यो। त्यसवेला नेपालका व्यापारीहरूले ग्राहकका खुट्टा कुनै कागजमा राखेर त्यसको वरिपरि घेरा लगाई जुत्ता बनाउने अर्डर भारतका विभिन्न कारखानामा पठाउँथे।

खुट्टाको आकार–प्रकार मापन गरेर जुत्ता सिलाउने संसारभरको पुरानो चलन हो। जुत्ताको 'मास प्रोडक्सन' कहिले, कहाँबाट भयो भन्ने कुरामा फरक–फरक तथ्यहरू देखा पर्छन्। ब्रिटेनमा सन् १६८० को दशकमै बच्चा, जवान र वयस्कहरूका लागि छुट्टाछुट्टै जुत्ता बनेका तथ्यहरू फेला पर्छन्, तर 'मास प्रोडक्सन' र बिक्री वितरणकै अवस्थामा पुगेको तथ्यहरू भेटिदैन।

जुत्ता उत्पादनका लागि आवश्यक नक्शासहितको विस्तृत योजना भने १८८० तिर उत्तर अमेरिकामा बनेको मानिन्छ। त्यसरी बनेका जुत्तालाई बिक्रेताहरूले ८–१० वर्षपछि मात्र मान्यता दिएको र बजारमा रूचाउन (क्रेताले छानेर लगाउन) थालियो। जुत्ता उत्पादन हुनुको श्रेय भने अमेरिकन सिभिल वार (सन् १८६१–६५) लाई दिने गरिन्छ, त्यही अवधिमा दायाँ–बायाँ जुत्ता फरक हुनुपर्छ भन्ने मान्यताका साथै 'मास प्रोडक्सन' पनि भएकाले।

१९७०–८० को दशकमा काठमाडौंमा सीमित मात्रामा बेलायत र चेकोस्लोभाकियाबाट जुत्ता आयात हुन थालिसकेको थियो। चेकोस्लोभाकियाको 'बाटा' कलकत्ताको फिलिप्स ब्रान्डका जुत्ताहरू विस्तारै लोकप्रिय हुँदै थिए। रङ्गीन जुत्ताको विशेष विज्ञापन हुन्थ्यो, त्यही अनुसार भाउ फरक पर्थ्यो। तुना बाँध्ने र नबाँध्ने जुत्ताको विज्ञापन र भाउ दुवै फरक हुन्थ्यो। त्यतिवेलाको फेलेक्स डरबी शूज, आगौया कानपुरी जुत्ता, गोर्खा मिलेटरी जुत्ता, बिलायती बुट, क्यानभसका बुटका विज्ञापनहरूले 'नकसा मुताबिक' जुत्ता तयार हुने जानकारी गराउँछ।

त्यो जमानाको काठमाडौंमा बेलायती जुत्ता 'ब्यारेट' सबभन्दा महङ्गो हुन्थ्यो। पैसा र उपलब्धताका हिसाबले सबैको पहुँचमा नभएको त्यो जुत्ता लगाउने रहर गीतका विषय पनि बनेका थिए। रेन्किङको कोट र ब्यारेटका जुत्ता त्यो समयको मध्यमवर्गको सपना थियो, तर जुत्ताको आवश्यकता यति खट्किसकेको थियो कि स्थानीय स्तरमा बन्ने काँचा छालाका जुत्तालाई अशुद्ध मान्ने जात र सम्प्रदायका व्यक्तिहरूले पनि खेतबारीमा तिनको प्रयोग थालेका थिए। मूल घरको वरिपरि नराखी गोठ वा घरभन्दा केही पर राखिने छालाका जुत्ताहरू सार्की वा चमार समुदायले बनाउँथे।

गाउँहरूमा स्थानीय प्रविधिमा आधारित चप्पल पनि चलेका थिए, तर धेरैजसो खुट्टा खाली नै हुन्थे। रबर/प्लाष्टिक प्रयोग, 'मास प्रोडक्सन' र बजार विस्तारले जुत्ता–चप्पलको प्रयोग व्यापक बनायो। यद्यपि, नेपालका गाउँघरमा भने अहिले पनि खाली खुट्टाहरू हराइसकेका छैनन्।

comments powered by Disqus

रमझम