२०-२६ मंसीर २०७२ | 6-12 December 2015

न्यानो ओछ्यान

Share:
  
इन्धन अभाव र लोडसेडिङले आहत हाम्रा लागि जाडो छल्ने विकल्प भनेकै तातो सिरक र डसना हो।

रुई किनेर घरमै सिरक–डसना बनाउने केही वर्षअघिसम्मको चलन अहिले हराउँदै गएको छ। ऊन, मखमल, सिन्थेेटिक आदिका सिरक र डसनाले तिनलाई विस्थापित गर्न थालेका छन्। “रुवा फिट्न धनु बोकी हिंड्नेहरु पनि अहिले विरलै भेटिन्छन्”, नरदेवी, काठमाडौंकी मनिषा सापकोटा (२९) भन्छिन्, “रुईको सिरक–डसना बनाउन धेरै समय लाग्ने भएकाले रेडिमेड किन्नै सजिलो छ।”

बजारमा कपास, टिम्बा, फाइबर, ब्ल्यांकेट, शेर्पा आदिका सिरक अनि फोम, स्पि्रंग, कोयर म्याट्रेस डसना उपलब्ध छन्। यस्ता ओढ्ने–ओछ्याउनेका आ–आफ्नै विशेषता छन्। काँचो कपासको बियाँ मेशीनबाट झिकेर जाली बुनी बनाइने टिम्बा सिरक हलुका, हावा नछिर्ने र लामो समयसम्म टिक्ने भएकाले जाडोमा उत्तम हुने टिम्बा सिरक इण्डष्ट्रिज, कुपन्डोलका शाखा प्रबन्धक सविन निरौला बताउँछन्। “हामीकहाँ जाडो, गर्मी र वर्षायामका लागि छुट्टाछुट्टै थरीका सिरक छन्”, उनी भन्छन्, “सिमलको भुवाबाट बनाइएको सिरानी पनि छ।”

हाँसको रौंबाट बनाइने फाइबरका सिरक पनि रोजाइमा पर्ने गरेका छन्। पोहोर चीनको खासा बजारबाट फाइबरको सिरक ल्याएकी मनिषा भन्छिन्, “धुन मिल्ने र चाँडै न्यानो हुने भए पनि बढी चिप्लो हुँदोरहेछ। भुईंमा खसिरहन्छ।”

दश वर्षदेखि सुन्धाराको चाइना टाउन शपिङ सेन्टरमा फाइबरका सिरक, ब्ल्यांकेट बेचिरहेका हार्मोनी पसलका श्याम मुडभरी जाडो छल्न फाइबरकै सिरक राम्रो हुने दाबी गर्छन्। “तातो सोस्ने क्षमता अन्य सिरकमा भन्दा बढी हुन्छ”, उनी भन्छन्।

पल्लामा कपास भरेर सिउँदै बनाइने परम्परागत डसनाका विकल्प पनि भेटिएका छन्। “न्यानो–तातोको हिसाबले कपासकै डसना बेस भए पनि चाँडै दबिने, पानी परेमा कुहिने, ढुसी पर्ने जस्ता समस्या आइपर्छन्”, नयाँबजार, काठमाडौंस्थित एसडीएन डिष्ट्रिब्युटर एन्ड रिसर्चका सुवास प्रधान भन्छन्। उनले यो समस्याबाट जोगिन माथिल्लो भागमा कपास र तल्लो भागमा हाइडेन्सिटी फोम राखिएका ग्रान्डी म्याट्रेसलगायतका सिरक उत्पादन गरिरहेका छन्।

नरिवलको जटाबाट बनाइने कोयर म्याट्रेस फोमभन्दा कडा हुने भएकाले ढाड दुख्ने समस्या भएकाले पनि निर्धक्क सुत्न सक्छन्। तर, यसलाई पट्याएर राख्न भने मिल्दैन। पानी पोखिएमा बिग्रिने र चाँडै दबिने हुन्छ। “फोम म्याटे्रस मजाले पट्याउन सकिन्छ”, एभरेष्ट फोम, ललितपुरका विनेश अमात्य भन्छन्, “पानी पोखिएमा तुरुन्त सुकाउन पनि मिल्छ।” स्पि्रंग र फोमका डसनामा 'ब्याक सपोर्ट' राम्रो नहुने भएकाले जीउ दुखाउने गुनासो पनि कतिपयको छ।

कुन समयमा कस्तो ओढ्ने–ओछ्याउने उपयुक्त हुन्छ भनेर थाहा पाउन शैय्या सज्जाको जानकारी हुनु आवश्यक छ। यस्तो जानकारीले सुत्ने कोठा सुन्दर हुन्छ नै स्वस्थ रहन पनि सघाउ पुग्छ। आफूलाई कस्तो डसनामा सुत्दा फाइदा हुन्छ भन्ने बुझ्ोर मात्रै सामान किन्नुपर्छ।

सजना बराल

comments powered by Disqus

रमझम